ग्याजेट विशेष

एप्पलले ल्यायो नयाँ र सुधारिएको आइपड

  नागरिक   2019-05-28

एप्पलले आफ्नो सूचना प्रदान गर्ने प्ल्याटफर्म एप्पल न्युजरूम मार्फत नयाँ र सुधारिएको आइपड टच रिलिज गरेको छ । यस नयाँ आइपड टचमा एप्पलको पुरानो तर शक्तिशाली ए १० फ्युजन प्रोसेसर हुनेछ । यो प्रोसेसर एप्पलले केहि वर्ष अगाडी रिलिज गरेको आइफोन ७ मा प्रयोग गरेको थियो । यससँगै एप्पलको नयाँ आइपड २५६ जीबीको मोडलमा पनि उपलब्ध हुने भएको छ ।

यसभन्दा अगाडी एप्पलले सन् २०१५ मा आइपडलाई अपडेट गरेको थियो - यसर्थ यो नयाँ आइपड लगभग ४ वर्ष पछि मात्र अपडेट भएको हो । प्रोसेसर र स्टोरेजको परिवर्तन लगायत यस नयाँ आइपडमा अन्य सम्पूर्ण विशेषताहरू लगभग एकै रहेकाछन् ।

पुरानो मोडलमा जस्तै यस मोडलमा पनि ४ इन्चको एलसीडी रेटिना डिस्प्ले रहेको छ । उक्त ४ इन्चको डिस्प्ले मुनि फिंगरप्रिन्ट स्क्यानर नभएको होम बटन राखिएको छ । डिस्प्लेको रेजोलुसन ११३६ x ६४० को रहेको छ । पछाडी ८ मेगपिक्सलको मुख्य क्यामरा राखिएको छ भने अगाडी सेल्फीका लागि केवल १.२ मेगापिक्सलको क्यामरा राखिएको छ । केवल ६.१ मिमि मोटाइ रहेको यस आइपडमा सानो तर धेरै टिक्ने ब्याट्री राखिएको छ । एप्पलका अनुसार यस आइपडमा एक फुल चार्जमा ४० घण्टासम्म संगीत सुन्न सकिन्छ । भिडियोमा भने यस आइपडले १२० फ्रेम प्रति सेकेन्डसम्मको स्लो मोसन भिडियो खिच्न सक्छ ।

यस नयाँ आइपड अमेरिकी डलर १९९ बाट सुरु हुनेछ - जसमा ३२ जीबी आन्तरिक स्टोरेज हुनेछ । यसका मोडलहरू खैरो, सेतो, सुनौलो, रातो, निलो र  गुलाबी गरेर ६ वटा रंगमा उपलब्ध हुनेछन् ।

स्रोत: एप्पल न्युजरुम

 

 

यसमा तपाईको मत