ग्याजेट विशेष

नयाँ आइफोनको रिलिज मिति सार्वजनिक

  नागरिक   2019-08-31

एप्पलले आफ्नो नयाँ आइफोनहरूको रिलिज मिति सार्वजनिक गरेको छ । एप्पलले नयाँ आइफोनहरू यहि सेप्टेम्बर १० मा सार्वजनिक गर्ने भएको छ । एप्पलले विभिन्न मिडियाहरूले प्रदान गरेको निमन्त्रण पत्र अनुसार सेप्टेम्बर १० को  बिहान १० बजे अमेरिकाको कुपर्टिनो, क्यालीफोर्नियामा एप्पलले नयाँ ग्याजेटहरू र नयाँ सेवाहरूको बारेमा जानकारीहरू सार्वजनिक गर्नेछ ।

एप्पलले यहि सेप्टेम्बर १० मा सार्वजनिक गर्ने भनिएको आइफोन ११  को डिजाइन पुरानो आइफोन X  ( आइफोन दश ) सँग मिल्दो हुनेछ । विभिन्न लिकहरूका अनुसार एप्पलको नयाँ आइफोनहरू तीन मोडलमा उपलब्ध हुनेछ - आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स । विभिन्न एजेन्सीहरूले प्रकाशन गरेको रिपोर्ट अनुसार आइफोन ११ भने सबैभन्दा सस्तो नयाँ मोडलको आइफोन हुनेछ भने आइफोन ११ प्रो म्याक्स भने सबैभन्दा महँगो मोडल हुनेछ ।

साधारण आइफोन ११ आइफोन टेन आर ( XR ) को प्रतिस्थापनका लागि रिलिज गर्न लागिएको विश्वास गरिएको छ । यस मोडलमा ६.१ इन्चको एलसीडी डिस्प्लेको प्रयोग हुने भनिएको छ भने अन्य दुई मोडलमा ५.८ इन्च र ६.५ इन्चको ओलेड डिस्प्ले प्रयोग हुने भनिएको छ । यस वर्षको कुनै पनि मोडलमा थ्री डी टच प्रयोग नहुने भनिएको छ । थ्री डी टच फिचर आइफोन ६ एक्समा पहिलो पटक देखिएको थियो । थ्री डी टचको सट्टा अबको नयाँ मोडलमा ह्यापटिक टच समावेश गरिने भएको भनिएको छ । उक्त टच फिचर गत वर्ष रिलिज भएको आइफोन टेन आरमा समावेश गरिएको थियो । यस लगायत आइफोन ११ मा बाहेक अन्य दुई महँगा मोडलहरूमा ट्रिपल अर्थात् तीनवटा क्यामराको सेटअप राखिने छ । साधारण आइफोन ११ मा भने दुईवटा क्यामराको सेटअप हुने भनिएको छ ।

यहाँ उल्लेख गरिएका फिचरहरू सबै अन्य एजेन्सीहरूले विशेष स्रोतको आधारमा पाएका जानकारीको आधारमा उल्लेख गरिएको हो - सबै मिल्छन् भन्ने हुँदैन । तर नयाँ आइफोनहरूमा के कस्ता फिचरहरू हुनेछन् भन्ने कुराको जानकारी हामीले नयाँ आइफोनको रिलिजसँगै प्रकाशन गर्ने लेखबाट पाउन सक्नुहुनेछ ।

 

यसमा तपाईको मत