ग्याजेट विशेष

गुगल क्रोमभन्दा पनि फास्ट र सुरक्षित ब्राउजर ?

  नागरिक   2020-01-10

अहिलेको सबैभन्दा प्रचलित इन्टरनेट ब्राउजर हो गुगलको गुगल क्रोम ब्राउजर । इन्टरनेट ब्राउजरको लगभग ७० प्रतिशत बजार हिस्सा कब्जा गरेको यस ब्राउजरले अन्य सबै ब्राउजरहरूलाई पछि पारेको छ । तर सधैं गुगल क्रोम नै सबैभन्दा प्रचलित ब्राउजर थिएन । एक दशक अगाडी सम्म पनि संसारको सबैभन्दा प्रचलित ब्राउजर माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर रहेको थियो ।

माइक्रोसफ्टको विन्डोजमा पहिलेबाट नै इन्स्टल भएर आउने इन्टरनेट एक्सप्लोरर ब्राउजरलाई निकै धेरै प्रयोगकर्ताहरूले इन्टरनेट पहुँचका लागि प्रयोग गर्ने गर्दथ्ये । तर इन्टरनेटको स्ट्यान्डर्डको विकासलाई माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोररले भेटाउन सकेन । इन्टरनेट एक्सप्लोररमा गुगल क्रोम र फायरफक्सका तुलनामा निकै कम फिचरहरू हुन थाल्यो । यसै गरेर प्रयोगको समयमा पनि इन्टरनेट एक्सप्लोरर अन्य ब्राउजरभन्दा निकै स्लो हुने गर्दथ्यो । विन्डोज ८ को लन्चसँगै माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररको अन्तिम संस्करण अर्थात् इन्टरनेट एक्सप्लोरर ११ लन्च गर्यो । सो ब्राउजरमा नयाँ फिचरहरू थपिए पनि गुगल क्रोम र फायरफक्समा जतिको फिचरहरू रहेको थिएन ।

विन्डोज १० को लन्चसँगै माइक्रोसफ्टले नयाँ ब्राउजर ल्यायो जसको नाम माइक्रोसफ्ट एज रहेको थियो । सो ब्राउजर पुरानो इन्टरनेट एक्सप्लोररभन्दा निकै सुधारिएको थियो । तर पनि क्रोम र फायरफक्सजस्ता ब्राउजरमा पनि उतिकै धेरै सुधारहरू भइसकेका थिए । यसर्थ माइक्रोसफ्टको नयाँ ब्राउजर पनि फ्लप भयो । यस ब्राउजरको हालको बजारको हिस्सा केवल ५ प्रतिशत रहेको छ ।

क्रोमलाई टक्कर दिन क्रोम कै इन्जिन

माइक्रोसफ्टले बिगतको केही महिना देखि नयाँ ब्राउजरको परिक्षण गरिरहेको छ । यस ब्राउजर गुगलको ओपन सोर्स रहेको क्रोमियम इन्जिनमा चल्छ । यसर्थ भित्रबाट यो ब्राउजर र गुगलको क्रोम ब्राउजर लगभग एकै हुन् । क्रोमियम इन्जिन प्रयोग गर्ने ब्राउजरमा ओपेरा, ब्रेभ, भिभाल्डी आदि जस्ता ब्राउजरहरू पनि पर्छन । यसर्थ क्रोमियम निकै प्रचलित ब्राउजर इन्जिन रहेको छ ।

माइक्रोसफ्टले क्रोम कै इन्जिनमा बनेको यस नयाँ ब्राउजरलाई पनि माइक्रोसफ्ट एज नै नाम दिएको छ । तर यो ब्राउजर र हालमा चलिरहेको एज ब्राउजरमा धेरै कुराको भिन्नता रहेको छ । नयाँ ब्राउजरमा नयाँ लोगो दिईएको छ । उक्त लोगो माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर जस्तो देखिदैन जुन एक प्रकारबाट राम्रो कुरा पनि हो किन कि इन्टरनेट एक्सप्लोररलाई स्लो र अविश्वसनीय ब्राउजर मान्ने गरिन्छ । हालै चलिरहेको माइक्रोसफ्ट एज ब्राउजरको लोगो पनि हेर्दा इन्टरनेट एक्सप्लोरर जस्तै रहेको छ ।

यो नयाँ ब्राउजर क्रोमियम इन्जिनमा चल्ने भएकाले निकै द्रुत रहेको छ । गुगलले गुगल क्रोममा राखेका अनावश्यक फिचरहरूलाई माइक्रोसफ्टले हटाएको छ । हेर्दामा हालै उपलब्ध भएको एज ब्राउजरजस्तो देखिएपनि नयाँ ब्राउजरमा थप फिचरहरू हुनेछ । यसै गरेर यो ब्राउजर सबै प्ल्याटफर्ममा पनि उपलब्ध हुने छ । हालका लागि आइफोन, एन्ड्रोइड र विन्डोजका लागि उपलब्ध गराइएको यो ब्राउजर चाडैं म्याकओएस र लिनक्समा पनि उपलब्ध हुने छ ।

यो नयाँ ब्राउजर सार्वजिनक रूपमा २०२० को जनवरी १५ मा लन्च हुने छ । इच्छुक प्रयोगकर्ताहरूले माइक्रोसफ्टको वेबसाइटबात अहिले नै यो ब्राउजरलाई डाउनलोड गरेर परिक्षण गर्न सक्नेछन् ।

 

यसमा तपाईको मत