ग्याजेट विशेष

सबैभन्दा धेरै फाइदामा रहेको स्मार्टफोन कम्पनी

  नागरिक   2019-12-21

सन् २०१९ अधिकतम स्मार्टफोन निर्माताहरूका लागि फाइदाजनक वर्ष रह्यो । तर अझै पनि एप्पल नै संसार कै सबैभन्दा धेरै फाइदा गर्ने स्मार्टफोन निर्माता रहेको छ । बिगतका केही वर्ष देखि नै एप्पल संसार कै सबैभन्दा धेरै फाइदा गर्ने स्मार्टफोन कम्पनी हुँदै आएको छ ।

काउन्टर पोइन्ट रिसर्चका अनुसार कुल फाइदाको २/३ भाग एप्पलले उठाएको छ । यसर्थ, स्मार्टफोन व्यापारबाट हुने कुल फाइदामा ६६ प्रतिशत हिस्सा एप्पलको रहेको छ । गत वर्षको चौथो त्रैमासिकमा एप्पलले कुल नाफाको ८० प्रतिशत आफ्नो नाम गर्न सफल भएको थियो । क्रिश्मसको समयमा एप्पलको फाइदा निकै उच्च हुने भएकाले यो वर्ष पनि एप्पलको फाइदा अझै बढ्ने सम्भावना रहेको छ ।

दोस्रो स्थानमा अझै पनि कोरियन कम्पनी सामसंग रहेको छ । कुल फाइदाको १७ प्रतिशत रकम हात पार्न सफल भएको सामसंगले अन्य ठूला चाइनिज कम्पनीहरूलाई पछि पार्न सफल भएको छ । सामसंगको नोट सिरिज र ग्यालेक्सी ए सिरिजको उच्च बिक्रीको कारणले पनि सामसंगले आफ्नो फाइदामा केही हदसम्म वृद्धि गर्न सफल भएको हो । यसै गरेर तेस्रो स्थानमा हुवावे, चौथो स्थानमा अप्पो, पाँचौं स्थानमा भिभो र छैठो स्थानमा शाओमी रहेको छ ।

चाइनिज कम्पनीहरूले यस वर्ष गत वर्षहरूको तुलनामा बढी फाइदा गर्न सफल भएका छन् । सन् २०२० मा आउने भनिएको बजेट फाइभ जी स्मार्टफोनहरूले गर्दा पनि चाइनिज ब्राण्डहरू अहिलेभन्दा अलि बढी फाइदामा जाने अनुमान गर्न सकिन्छ । फाइभ जीका स्मार्टफोनहरू फोर जी स्मार्टफोनहरूभन्दा महँगा हुनेछन् ।

स्रोत : काउन्टर पोइन्ट

 

 

यसमा तपाईको मत