ग्याजेट विशेष

स्मार्टफोनलाई कम्प्युटरको वेबक्याम जसरी प्रयोग कसरी गर्ने ?

  नागरिक   2020-06-08

तपाईंको कम्प्युटर वा ल्यापटपमा वेबक्याम छैन भने तपाईंले आफ्नो स्मार्टफोनलाई नै वेबक्याम जसरी प्रयोग गर्न सक्नु हुनेछ । यसका लागि आइफोनको याप स्टोर र गुगलको प्लेस्टोरमा सम्बन्धित एपहरू उपलब्ध गराइएको छ । यस लेखमा उक्त एप कसरी प्रयोग गर्ने र आफ्नो स्मार्टफोनलाई वेबक्याम जसरी प्रयोग गर्ने तरिकाको बारेमा उल्लेख गरिएको छ ।

प्ले स्टोरमा यसका लागि काम गर्ने थुप्रै एपहरू उपलब्ध छन् । यी एपहरू मध्ये सबैभन्दा प्रचलित र काम लाग्ने एप हो ड्रोइड क्याम - DroidCam । प्ले स्टोरमा गएर DroidCam लेखेर सर्च गर्नु होस् र डाउनलोड गर्नुहोस् ।

यदि तपाईंसँग आइफोन छ भने एप स्टोरमा गएर EpocCam लेखेर सर्च गर्नुहोस् र उक्त एप डाउनलोड गर्नुहोस् । DroidCam वा EpocCam डाउनलोड भएपछि अब कम्प्युटरमा पनि सेटअप गर्नु पर्ने हुन्छ ।

एन्ड्रोइड वा आइफोन एप डाउनलोड भइसके पछि विन्डोज कम्प्युटरको वेब ब्राउजरमा गुगल मार्फत DroidCam Desktop डाउनलोड गर्नुहोस् र इन्स्टल गर्नुहोस् ।

एप डाउनलोड गर्ने बेलामा सबैलाई Next गर्दै जानुहोस् र अन्य device driver इन्स्टल गर्ने विकल्प आएको बेला install मा सेलेक्ट गर्नुहोस् ।

दुवै कम्प्युटर र स्मार्टफोनलाई एकै WiFi वा नेटवर्कमा जडान गर्नुहोस् । एन्ड्रोइड स्मार्टफोनमा र विन्डोज कम्प्युटरमा DroidCam एपलाई सुचारु गर्नुहोस् ।

एन्ड्रोइड स्मार्टफोनमा लेखिएको Device IP र DeviceCam Port लाई कम्प्युटरमा लेख्नुहोस् र Start मा क्लिक गर्नुहोस् । यति भएपछि तपाईंले आफ्नो मोबाइलको मुख र सेल्फी दुवै क्यामरालाई वेबक्याम जसरी प्रयोग गर्न सक्नु हुनेछ ।

 

 

यसमा तपाईको मत