ग्याजेट विशेष

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

  नागरिक   2019-10-10

यही महिनाको पहिलो सातामा माइक्रोसफ्टले आयोजना गरेको सरफेस इभेन्टमा माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ । माइक्रोसफ्टले आफ्नो मुख्य स्मार्टफोन अपरेटिंग सिस्टम “विन्डोज फोन / मोबाइल” र स्मार्टफोन ब्राण्ड “लुमिया” लाई निरन्तरता नदिने भएपछि माइक्रोसफ्टले कुनै अर्को स्मार्टफोन रिलिज गर्ला भनेर धेरैले आश गरेर थिएनन् । माइक्रोसफ्टले सरफेस इभेन्टमा सार्वजनिक गरेको स्मार्टफोन माइक्रोसफ्ट डुवो माइक्रोसफ्ट कै पहिलो फोल्डिंग र एन्ड्रोइड चल्ने स्मार्टफोन हुनेछ ।

माइक्रोसफ्टले सार्वजनिक गरेको उक्त फोल्डिंग स्मार्टफोनमा दुईवटा ५.६ इन्चको डिस्प्ले राखिएको छ । यी दुई डिस्प्लेलाई ३६० डिग्री अर्थात् जतापनि घुमाउन मिल्ने हिंज ( कब्जा ) राखिएको छ । उक्त हिंजबाट यस स्मार्टफोनलाई जतापनि घुमाउन सकिनेछ । फोल्ड गरेपछि उक्त स्मार्टफोन गोजीमा हालेर बोक्न मिल्ने साइजको हुनेछ ।

माइक्रोसफ्टले गुगलसँगको साझेदारीमा यस स्मार्टफोनको सफ्टवेयर निर्माण गर्न काम गरेको कुरा सार्वजनिक गरेको छ । यसर्थ माइक्रोसफ्टको पहिलो फोल्डिंग स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टम चल्ने छ । एन्ड्रोइडको यस संस्करणमा विन्डोज १० एक्सको विभिन्न फिचरहरू समावेश गरिने कुराको जानकारी पनि माइक्रोसफ्टले उक्त इभेन्टमा दिएको छ ।

प्रयोगकर्ताले यस स्मार्टफोनमा भएको दुईवटा डिस्प्लेमा बेग्ला बेग्लै एप्सहरू प्रयोग गर्न सक्नेछन् । यसै गरेर एउटा डिस्प्लेमा किबोर्ड वा गेम खेल्ने कन्ट्रोलरको रुपमा पनि प्रयोग गर्न मिल्नेछ । यी दुईवटा नै डिस्प्लेलाई फ्ल्याट बनाएर दुवै डिस्प्लेमा एउटी भिडियो पनि हेर्न मिल्नेछ । यसै गरेर यो स्मार्टफोनले माइक्रोसफ्टको सरफेस पेनलाई पनि सपोर्ट गर्नेछ ।

“प्रयोगकर्तालाई जे गर्न मन लाग्यो, त्यो यस स्मार्टफोनमा गर्न सक्नेछन्” भनेर माइक्रोसफ्टका मुख्य उत्पादन अफिसर पानोस पानेले जानकारी दिएका छन् । यस स्मार्टफोनलाई पनि अन्य सरफेस डिभाइसहरूजस्तै उच्च गुणस्तरका निर्माण गरिएको दाबी माइक्रोसफ्टले गरेको छ । यस स्मार्टफोनको रिलिज मिती सन् २०२० को अन्त्य तिर तोकिएको छ तर माइक्रोसफ्टले मूल्य भने खुलाएको छैन ।

यो स्मार्टफोनसँगै माइक्रोसफ्टले नयाँ फोल्डिंग ट्याब्लेट – सरफेस नियो, नयाँ सरफेस प्रो ७, सरफेस प्रो एक्स र सरफेस ल्यापटप सार्वजनिक गरेको छ । सरफेस नियो सरफेस डुवोको ठूलो संस्करण हो जसमा एन्ड्रोइडको सट्टा माइक्रोसफ्टको नयाँ अपरेटिंग सिस्टम विन्डोज १० एक्स चल्ने छ ।

 

 

यसमा तपाईको मत