ग्याजेट विशेष

१० करोड पटक डाउनलोड भयो यो भाइरस भएको एप - यो एप तुरुन्तै डिलिट गर्नुहोस्

  नागरिक   2019-08-29

गुगल प्ले स्टोरमा उपलब्ध भएको र १० करोड भन्दा बढी पटक डाउनलोड भएको एप - CamScanner (क्यामस्क्यानर) एपमा भाइरस भएको भेटिएको छ । यस एपमा भएको भाइरस भेटाउने काम भने क्यास्परस्काई कम्पनीको अनुसन्धानकर्ताहरूबाट भएको हो ।

यस एपमा भएको भाइरसले प्रयोगकर्तालाई निकै धेरै अनावश्यक प्रचारहरू देखाउने र प्रयोगकर्ताहरूलाई पैसा तिर्न बाध्य बनाउने काम गरेको भेटिएको छ । यस भाइरसको नाम ट्रोजन ड्रपर ( Trojan Dropper ) रहेको छ । यस ट्रोजन भाइरसले इन्टरनेटबाट अझ थप ट्रोजन भाइरसहरू डाउनलोड गर्छ । उक्त ट्रोजन भाइरसको कारणले प्रयोगकर्ताहरूलाई  निकै धेरै प्रचार देखाउने गरिन्छ । यस्ता भाइरसहरू केही अन्य चाइनिज एपहरूमा पनि भेटिएको थियो ।

क्यामस्क्यानर एप डकुमेन्टहरू स्क्यान गर्नका लागि प्रयोग गरिने एप हो । यस एपको प्रयोगबाट विभिन्न लिखित डकुमेन्ट, व्हाइटबोर्ड, व्यवसायी कार्ड आदि जस्ता कुराहरू स्क्यान गरेर फोटोलाई सेभ गर्न मिल्छ । यस एपले  व्यवसायी कार्डबाट नम्बर, इमेल आदि जस्ता जानकारीहरू पनि निकाल्न सक्छ । एन्ड्रोइड पोलिसका अनुसार यस एपको जुन १६ मा आएको अपडेटमा पहिलो पटक ट्रोजन भाइरस देखा परेको थियो । जुन २५ मा आएको अपडेट पछि पनि यस भाइरस एपमा रहिरह्यो । जुन ३० को अपडेटमा भने यस ट्रोजन भाइरसलाई हटाइएको थियो ।

अहिले क्यामस्क्यानर एप गुगल प्ले स्टोरबाट हटाइएको छ र प्रयोगकर्ताले डाउनलोड गर्न सक्नेछैनन् । उक्त एप प्ले स्टोरमा उपलब्ध हुन्छ कि हुँदैन भन्ने कुराको हालै केही टुंगो छैन । तर, प्ले स्टोरमा पुन उपलब्ध भए पनि यस एपलाई डाउनलोड नगर्नु नै राम्रो निर्णय हुनेछ ।

हालका लागि क्यामस्क्यानर एप सधैंका लागि डिलिट गर्नु उचित हुन्छ । नेपालमा पनि यस एप प्रचलित एपहरू मध्ये एक हो । यो एप  विद्यार्थीहरूको माझमा डकुमेन्ट स्क्यान गर्नका लागि निकै प्रचलित रहेको छ । क्यामस्क्यानरको सट्टामा क्यामस्क्यानर जस्तै फिचर भएका र फ्री एपहरू प्ले स्टोरमा प्रशस्तै उपलब्ध छन् । क्यामस्क्यानरलाई तुरुन्तै डिलिट गरेर माइक्रोसफ्टको अफिस लेन्स ( Microsoft Office Lens ), एडोबीको एडोबी स्क्यान ( Adobe Scan ) जस्ता एपको प्रयोग गर्न उचित हुन्छ । एप इन्स्टल नगरेर गुगलको गुगल ड्राइभमा भएको स्क्यानरको प्रयोग गर्दा पनि केही फरक पर्दैन । अन्य जुन कुनै एप प्रयोग गरे पनि हालका लागि आफ्नो स्मार्टफोनलाई ट्रोजन भाइरसबाट सुरक्षित राख्नका निमित्त क्यामस्क्यानर एपलाई डिलिट गर्नु नै उचित हुन्छ ।

स्रोत: Android Authority

यसमा तपाईको मत