ग्याजेट विशेष

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

  नागरिक   2019-01-06

एप्पलले गत वर्ष रिलिज गरेको नयाँ आइफोनहरुको बिक्रि एप्पलले चिताएको भन्दा कम भएको कुरा एप्पलले आफ्नो लगानीकर्ता र सेयरधनिलाई पठाएको चिठी मार्फत खुलाएको छ | एप्पलले गत वर्ष सेप्टेम्बरमा तीन वटा नयाँ आइफोनका मोडलहरु बजारमा उपलब्ध गराएको थियो | उक्त आइफोनहरुको बिक्रि नै सन्तोषजनक नभएको कुरा बारम्बार लिक भएको पनि थियो र अन्तत: एप्पलले सो कुरा स्वीकार गरेको छ |आइफोनको बिक्रि कम हुनुको पछाडी एप्पलले केहि ठोस कारणहरु खुलाएको छ |

गत वर्ष एप्पलले पुराना आइफोनको ब्याट्रीलाई सस्तो दरमा प्रतिस्थापन गर्ने अफर ल्याएको थियो | एप्पल आफैंले पुराना आइफोनहरुलाई स्लो गराएको कुरा स्वीकारे पछि ब्याट्री प्रतिस्थापन गर्ने कार्यक्रम एप्पलले अघि सारेको थियो | उक्त अफर २०१८ को डिसेम्बर ३१ सम्म मात्र थियो भने उक्त अफर अन्तर्गत प्रयोगकर्ताले २९ अमेरिकी डलरमा पुराना आइफोनको ब्याट्री प्रतिस्थापन गर्न पाउने थिए | अधिकांस आइफोन प्रयोगकर्ताले नयाँ आइफोन खरिद गर्नुको सट्टा पुरानो आइफोनको ब्याट्री परिवर्तन गरेर चलाउनु नै नयाँ आइफोन कम बिक्रि हुनुको मुख्य कारण हो भन्ने कुरा एप्पलले बताएको छ |

अमेरिकी डलर बलियो हुँदै जानु र त्यसले गर्दा चिन र भारत जस्ता देशमा आइफोन निकै महँगो भएको हुनाले नै नयाँ आइफोनको बिक्रि कम भएको कुरा एप्पलले आइफोनको बिक्रि कम हुनुको दोस्रो कारण स्वरूप देखाएको छ | नयाँ आइफोनहरु आफैमा पनि पुराना आइफोनका तुलनामा निकै महँगा छन् | नयाँ आइफोन भरिमा सबैभन्दा सस्तो आइफोन नै ७४९ अमेरिकी डलरको छ, त्यही मोडललाई नेपालमा १ लाख २० हजारको हारहारीमा पर्छ |

यी दुई कारण लगायत एप्पलले आइफोन टेन आर अन्य दुई आइफोनभन्दा ढिलो लन्च हुनु, आपूर्तिमा समस्या हुनु र थुप्रै बजार आर्थिक दृष्टिकोणले कमजोर हुनुलाई पनि आइफोनको बिक्रि सोचे जस्तो नभएको कुरा जानकारी गराएको छ |

कमजोर आइफोन बिक्रिका कारणले गर्दा एप्पलको राजस्व ९ अर्ब अमेरिकी डलरसम्म कम हुन सक्ने सम्भावना देखिएको छ | नयाँ आइफोनको बिक्रि कम भएको समाचार बाहिर आए पश्चात् नै एप्पलको स्टक १०% घटेको छ |

 

यसमा तपाईको मत