ग्याजेट विशेष

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

  नागरिक   2018-11-29

स्मार्टफोनको चोरी आजभोलिको बढ्दो विषय बनेको छ | तपाईंको पनि स्मार्टफोन चोरी नहोला भन्न सकिदैन | यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् :

१. सिम हराएको दाबी गर्नुहोस्

यदि तपाईंको नम्बरमा कल लाग्दैन भने तुरुन्तै सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गरेर आफ्नो नम्बर हराएको दाबी गर्नुहोस् | सिम हराएको दाबी गरिसके पछि उक्त नम्बरबाट कल अथवा मेसेज गर्नु मिल्दैन | चोरी भएको निश्चित भएपछि मात्र सिम हराएको दाबी गर्नुपर्छ |

२. आफ्नो स्मार्टफोनलाई लक गर्नुहोस्

हराएको स्मार्टफोनलाई तुरुन्तै लक गर्न मिल्ने सुविधा एप्पल र गुगल दुवैले उपलब्ध गराएका छन् | एप्पलको आइफोनमा फाइन्ड माइ आइफोन ( Find My iPhone ) मार्फत आफ्नो आइफोनलाई लक गर्न सक्नुहुनेछ | यसै गरि गुगलको फाइन्ड माइ डिभाइस ( Find My Device ) बाट पनि एन्ड्रोइड स्मार्टफोनलाई लक गर्न सक्नुहुनेछ | लक गरेपछि उक्त फोनलाई सहि युजरनेम र पासवर्ड बिना प्रयोग गर्न मिल्दैन | गुगलले लक गर्ने लगायत आफ्नो स्मार्टफोनलाई रिंग गराउने र स्मार्टफोनमा मेसेज देखाउने फिचर पनि उपलब्ध गराएको छ |

३. आवश्यक कागजातहरु जम्मा पार्नुहोस्

स्मार्टफोन हराएको वा चोरी भएको उजुरी दर्ता गर्नका लागि चोरी भएको वा हराएको स्मार्टफोनको खरिद बिल अथवा सक्कल बट्टाको आवश्यकता पर्छ | उक्त बिल वा बट्टा नभएको खण्डमा उजुरी दर्ता गर्न मिल्दैन |

४. उजुरी दर्ता गर्नुहोस्

उजुरी दर्ता गर्नका लागि हनुमान ढोका, टेकुमा जानु आवश्यक पर्छ | त्यहाँ थुप्रै स्टल हरुमध्ये कुनै एकमा स्मार्टफोन चोरीको दर्ता गर्ने स्टल पनि रहेको छ | त्यहाँ पाउने फारममा आवश्यक जानकारी दिएर भरेपछि उजुरीको काम लगभग सकिन्छ | उजुरी दर्ता गर्ता आवश्यक पर्ने कुराहरु :

- सक्कल खरिद  बिल वा मोबाइलको बट्टा
- IMEI नम्बर ( बिल र बट्टामा पनि लेखिएको हुन्छ )
- उजुरी गर्ने व्यक्तिको परिचय


IMEI ट्रयाकिंगले कसरी काम गर्छ ?

तपाईंले उजुरी दर्ता गरेको लगभग एक साता भित्रमा नै उक्त स्मार्टफोनको IMEI ट्रयाकिंग मार्फत खोजि सुरु भइसकेको हुन्छ | तपाईंको स्मार्टफोनलाई टेलिकमले ब्ल्याकलिस्टमा राखेको हुन्छ र उक्त स्मार्टफोनमा नयाँ सिम हाल्ना साथ उक्त नयाँ सिमको जानकारी मार्फत स्मार्टफोन पत्ता लाग्छ |

यसमा तपाईको मत