ग्याजेट विशेष

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

  नागरिक   2019-06-17

हुवावेले माथि अमेरिका र अमेरिकी कम्पनीले लगाएको प्रतिबन्धका लागि कारणले गर्दा हुवावेका सीईओले हुवावेलाई ठूलो घाटा हुनसक्ने कुराको जानकारी दिएका छन् । हुवावेका सीईओ रेन जेंगफेईले उक्त घाटाको रकम लगभग ३० अर्ब अमेरिकी डलर हुने अनुमान गरेका छन् ।

उनीले प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम भएर केवल १०० अर्ब अमेरिकी डलर मै सिमित हुने कुराको जानकारी प्रदान गरेका छन् । यसै गरि रेनले अमेरिकाले हुवावे प्रति यति धेरै कठोरता देखाउने प्रत्याशा नगरेको कुरा व्यक्त गरेका छन् । उक्त प्रतिबन्धले गर्दा हुवावेलाई सामग्रीको आपूर्तिमा र अन्तर्राष्ट्रिय संगठनमा सहभागी हुन पनि गाह्रो भएको जानकारी दिएका छन् ।

रेनका अनुसार प्रतिबन्ध लागे पश्चात हुवावेको स्मार्टफोन बिक्री लगभग ४० प्रतिशतले घटिसकेको छ । यही तवरमा हुवावे स्मार्टफोनको बिक्री घट्दै गएको खण्डमा हुवावेले एक वर्ष मै ४ करोड देखि ६ करोडसम्म कम मात्रामा स्मार्टफोन बिक्री गर्न सक्नेछ ।

गुगलको प्रतिबन्ध लाग्नु अगाडी हुवावेको स्मार्टफोन बिक्री संख्या सन् २०१९ को पहिलो ३ महिनामा नै ४४ प्रतिशतले वृद्धि भएको थियो । यस वर्ष हुवावेले आइफोन निर्माता एप्पललाई जित्न सफल भएको थियो ।  गत वर्ष यहि समयमा हुवावेको  १०.५ प्रतिशत स्मार्टफोन बजार हिस्सा थियो जुन संख्या अहिले ४४ प्रतिशतले बढेर १५.७ प्रतिशत हुन पुगेको थियो । हुवावे अहिलेको दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बन्न सफल भएको छ र दोस्रो स्थान मै अझै कति धेरै समयसम्म टिकिरहन सक्नेछ भन्ने कुराको केही टुंगो भने छैन ।

गत महिना गुगलले हुवावे माथि प्रतिबन्ध लगाएको थियो जस अन्तर्गत हुवावेका नयाँ स्मार्टफोनहरूले गुगलको स्वामित्वमा रहेको कुनै पनि सेवा र एपहरूको प्रयोग गर्न पाउने छैन । गुगलले ओपन सोर्स बनाएर राखेको सेवा र एपहरू मात्र हुवावेले प्रयोग गर्न सक्नेछ । यसैसँगै हुवावेले अन्य अमेरिकी कम्पनी जस्तै माइक्रोसफ्ट, क्वाल्कम, आर्म आदि जस्ता कम्पनीहरूको कुनै पनि सेवा वा उत्पादनहरू प्रयोग गर्न पाउनेछैन ।

स्रोत: ब्लुम्बर्ग

यसमा तपाईको मत