ग्याजेट विशेष

ल्यापटप धेरै तात्ने समस्या छ ? यस्तो छ समाधान

  नागरिक   2020-02-03

ल्यापटप प्रयोग गर्दा गर्दै अफ हुने कारणले गर्दा धेरै प्रयोगकर्ताले आफूले गरिरहेको काम गुमाउनु पर्ने अवस्था सृजना हुन्छ । कम्प्युटर र ल्यापटप चलाउँदा चलाउँदै अफ हुनुको पछाडी थुप्रै कारणहरू छन् भने सो कारणसँग सम्बन्धित त्यस्तै समाधानहरू पनि छन् । यस लेखमा यसको मुख्य कारण र यसको समाधानको बारेमा चर्चा गरिएको छ ।

धेरैजसो ल्यापटप प्रयोगको क्रममा बन्द हुनुको मुख्य कारण ल्यापटपमा पैदा भएको तापले गर्दा हो । ल्यापटपका फ्यानहरूले राम्रोसँग हावालाई फैलाउन नसकेको खण्डमा ल्यापटपको ताप बढ्दै जान्छ र उक्त तापले गर्दा ल्यापटप स्वत बन्द हुन्छ । यदि तपाईंको ल्यापटप तापको कारणले प्रयोगको बेला मा बन्द हुन्छ भने निम्न कुराहरू गर्नुहोस्:

घरेलु साधारण समाधान

१. ल्यापटपलाई कडा र समतल स्थानमा मात्र प्रयोग गर्नुहोस् । ल्यापटपलाई कहिले पनि धेरै समयमा लागि ओछ्यान वा कपडाको माथि राखेर प्रयोग गर्नु हुँदैन । किन कि अधिकांस ल्यापटपको हावा तान्ने फ्यान ल्यापटपको मुनि पट्टि राखिएको हुन्छ । ओछ्यान वा कपडाको माथि राखेर चलाउने क्रममा ल्यापटपको हावा तान्ने फ्यान ब्लक हुन जान्छ र ल्यापटप तात्न सुरु गर्छ ।

२. ल्यापटप कुलरको प्रयोग गर्नुहोस् । ल्यापटप कुलर माथि ल्यापटपलाई राखेर प्रयोग गर्नाले ल्यापटपमा हावाको संचालन पनि राम्रो सँग हुन्छ जसले गर्दा ल्यापटप उच्च तापबाट अफ हुनबाट जोगिन्छ । यस्ता कुलरलाई सस्तोमा नेरु ५०० देखि राम्रो ब्रान्डेडलाई २५०० सम्म पर्न सक्छ ।

३. ल्यापटपको हावा तान्ने र फाल्ने दुवै फ्यानका निकासमा धुलो, कपाल र अन्य फोहरहरू जमेको छ कि भनेर चेकजाँच गर्नु उचित हुन्छ । विद्युतीय ब्लोअर वा भ्याक्युम क्लिनरले त्यहाँ भएको धुलोलाई सफा गरेपछि ल्यापटपको तात्ने समस्या हराउछ ।

४. प्रोसेसरको फ्यान टुटेफुटेको छ कि जाँच गर्नुहोस् । यदि प्रयोगको बेलामा ल्यापटपको फ्यानले तिखो, उच्च पिचमा र बेग्लै खटखट गरेकोआवाज निकाल्ने गरेको छ भने उक्त ल्यापटपको फ्यान मै केही समस्या हुनसक्छ । बिग्रेको फ्यान परिवर्तन गर्नु पर्ने हुन्छ ।

प्राविधिक समाधान ( तर थोरै प्राविधिक ज्ञान भएकाबाट पनि घर मै गर्न सकिने )

१. थर्मल पेस्ट फेर्ने । सीपीयुको भित्र हुने मुख्य प्रोसेसर र प्रोसेसरको पंखाको बीचमा हाल्ने लेपलाई थर्मल कम्पाउण्ड वा थर्मल पेस्ट भनिन्छ । उक्त कम्पाउण्डको काम प्रोसेसरले पैदा गरेको तापलाई प्रोसेसरको बोर्डमा राम्रोसँग फैलाउनु हो । धेरै वर्षको प्रयोग पछि उक्त कम्पाउण्डले राम्रोसँग काम गर्न छोड्ने गर्दछ र यस कै कारणले कम्प्युटरमा धेरै ताप पैदा हुन सुरु गर्छ । जति धेरै ताप पैदा हुन्छ, त्यति नै प्रोसेसरले स्लो काम गर्छ । बजारमा सस्तोमा नेरु ५० देखि महँगोमा ७००-१००० सम्मका थर्मल पेस्टहरू खरिद गर्न पाइन्छ । सस्ता थर्मल पेस्टहरू टिकाउ हुँदैनन् र बारम्बार फेरिरहनु  पर्ने हुन्छ । उक्त थर्मल पेस्ट फेर्नका लागि प्राविधिक ज्ञान भएकै विज्ञलाई नै जिम्मा लगाउनु उचित हुन्छ । तर, विशेष सतर्कता अपनाएर अनलाइनमा उपलब्ध भएका गाइडहरू हेरेर यस कामलाई सजिलै पुरा गर्न सकिन्छ ।

२. सीपीयुलाई अन्डरभोल्ट गर्ने । यसले गर्दा ल्यापटपको प्रोसेसरले कम भोल्टमा काम गर्न सुरुगर्छ जसले गर्दा ल्यापटपले अलि कम ताप पैदा गर्छ । यो कार्य केही हदसम्म जटिल भएकाले कम्प्युटरको राम्रो ज्ञान भएकालाई नै जिम्मा दिनु राम्रो हुन्छ ।

यसमा तपाईको मत