ग्याजेट विशेष

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

  नागरिक   2019-10-23

एप्पलले भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु गरेको छ । गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । चेन्नईमा भएको फक्सकनको फ्याक्ट्रीबाट एप्पलले आइफोनहरू निर्माण गर्ने भएको हो । यही वर्षको अगस्टमा नै भारतको फ्याक्ट्रीमा नयाँ आइफोनहरू निर्माण हुने भनिएतापनि निर्माण कार्यमा केही ढिलासुस्ती भएको थियो ।

भारतमा निर्माण गरिएको यो मोडलको भारतीय बजारमा मूल्य भारु ४५ हजार तोकिएको छ । गत वर्ष यही मोडलको मूल्य भारु ७७ हजार तोकिएको थियो ।

एप्पलका लागि चिनमा पनि पहिलेबाट नै फक्सकनले आइफोनहरू निर्माण गर्दै आएको छ । फक्सकनले आफ्नो फ्याक्ट्रीहरू भारतमा विस्तार गरे लगतै एप्पलले पनि भारतमा आइफोन निर्माण गर्ने जिम्मा एप्पललाई दिएको छ ।

पहिले बेंगलुरुमा रहेको विन्स्ट्रन कम्पनीले आइफोन सिक्स एस, आइफोन एस इ र आइफोन ७ को निर्माण गर्दै आएको थियो । तर यही वर्षको जुलाईमा एप्पलले यस मोडलहरू भारतमा निर्माण गर्न बन्द गर्यो । भारतमा एप्पलले राम्रो बजार पकड पाउन नसक्नु नै यी मोडलहरूको निर्माण बन्द गर्नु पछाडीको मुख्य कारण रहेको थियो ।

फक्सकनले भारतमा आइफोन निर्माण गर्ने फ्याक्ट्री खोलेसँगै एप्पललाई भारत मै फ्ल्याग्शिप मोडलका आइफोनहरू निर्माण गर्ने बाटो खुलेको छ । यसबाट एप्पलले चिन - अमेरिका व्यापार विवादका कारणले थप महसुल तिर्न पर्ने छैन । यसै कारणले पनि एप्पलले आगामी दिनहरूमा नयाँ फ्ल्याग्शिप मोडलका आइफोनहरू पनि भारत मै निर्माण गर्न सुरु गर्न सक्ने बताएइको छ । महसुल कम लाग्ने भएकाले एप्पलले भारत मै निर्माण गरेको आइफोनहरूलाई पनि अमेरिकामा बेच्न सक्ने ठूलो सम्भावना रहेको छ ।

चिन र अमेरिका बीचको व्यापारिक विवादका कारणले एप्पल लगायतका विभिन्न कम्पनीहरूले आफ्नो उत्पादनलाई चिन बाहिर सारेका छन्  । सामसंगले पनि हालै चिनमा रहेको अन्तिम सामसंग स्मार्टफोन फ्याक्ट्रीलाई बन्द गरेको छ । यसर्थ अबबाट कुनै पनि सामसंगको स्मार्टफोन चिनमा रहेको सामसंगको कम्पनीबाट निर्माण हुने छैन । सामसंगले आफ्नो सम्पूर्ण स्मार्टफोन निर्माणलाई भियतनाममा सारेको छ ।

स्रोत: GSMArena

 

 

यसमा तपाईको मत