ग्याजेट विशेष

आइफोनका लागि डार्क मोड र मेमोरी कार्ड सपोर्ट - iOS १३ अपडेट

  नागरिक   2019-06-09

हरेक जस्तै यस वर्षको वर्ल्डवाइड डेभलोपर कन्फेरेन्समा पनि एप्पलले आफ्नो आइफोनको लागि नयाँ iOS को संस्करणमा के कस्ता फिचरहरु आउदै छन् भन्ने कुराको जानकारी दिएको छ । iOS १३ पूर्ण रुपमा नयाँ आइफोनसँगै लन्च हुने गर्दछ र त्यस अगाडि नै प्रयोग र परीक्षणका लागि बेटा संस्करण उपलब्ध हुने गर्दछ ।

iOS १३ आइफोन सिक्स एस वा सोभन्दा नयाँ आइफोनहरूका लागि मात्र उपलब्ध हुनेछ । आइफोन ६ वा सोभन्दा पुरानो आइफोनहरूले यस नयाँ iOS को संस्करण इन्स्टल गर्न पाउने छैन । आइप्याडका लागि भने एप्पलले iOS को सट्टा iPadOS रिलिज गर्ने भएको छ जसमा ट्याब्लेटमा केन्द्रित विशेषताहरू उपलब्ध गराइनेछ ।

एप्पलले वर्ल्डवाइड डेभलोपर कन्फेरेन्समा iOS १३ मा उपलब्ध गराउने केहि विशेषताहरूको सूची यस्तो रहेको छ :

१. सुधारिएको परफरमेन्स

एप्पलले iOS १२ मै पनि परफरमेन्समा राम्रो सुधार ल्याएको थियो र iOS १३ सँगै उक्त परफरमेन्स सुधारले निरन्तरता पाउनुका साथै अझै बढी सुधार पनि हुने भएको छ । एप्पलका अनुसार iOS १३ ले एप्सहरू दुई गुणा सम्म चाडो लन्च गर्न सक्नेछ र फेस अनलक अर्थात् फेस आइडी ३० प्रतिशतसम्म द्रुत हुने छ ।

२. डार्क मोड

गत वर्ष म्याक ओएसमा डार्क मोड ल्याएसँगै एप्पलले यो वर्ष आइफोनमा पनि डार्क मोड ल्याउने भएको छ । डार्क मोड सुचारु गरेपछि मेनु र सेटिंगहरूमा डार्क ब्याकग्राउन्ड आउनेछ । यसले गर्दा नयाँ एमोलेड डिस्प्ले भएको आइफोनमा ब्याट्रीको बचत हुनेछ ।

३. नयाँ स्वाइप किबोर्ड

यस नयाँ संस्करणमा एप्पलले आफ्नै बेग्लै स्वाइप किबोर्ड उपलब्ध गराउने भएको छ । यस अगाडी स्वाइप किबोर्ड प्रयोग गर्नका लागि छुट्टै किबोर्ड एप डाउनलोड गर्नु पर्ने हुन्थ्यो तर अब उक्त फिचर आइफोनको डिफल्ट किबोर्ड मै उपलब्ध हुनेछ ।

४. बाह्य स्टोरेजको सपोर्ट

आइफोनले iOS १३ को रिलिजसँगै आन्तरिक स्टोरेजहरूलाई सपोर्ट गर्ने भएको छ । यसर्थ, प्रयोगकर्ताले अब आफ्नो आइफोनमा लाइटनिंग पोर्टको सहायताबाट पेनड्राइभ र मेमोरी कार्डहरू प्रयोग गर्न सक्नेछन् ।

५. एप्पल म्याप्समा सुधार

एप्पलले आफ्नो एप्पल म्याप्समा सुधार गरेको छ । एप्पलका अनुसार यो नयाँ एप्पल म्याप्सलाई फेरी नयाँ जसरी बनाइएको हो । यस एपमा स्ट्रिट भ्यु पनि आउने भएको छ - जुन गुगलम्याप्समा निकै पहिले देखि उपलब्ध हुँदै आएको फिचर हो ।

६. नयाँ र सुधारिएको फोटो र भिडियो एडिटिंग

एप्पलले आफ्नो फोटोज एप भित्र हुने फोटो र भिडियो एडिटिंग सफ्टवेयरमा थुप्रै नयाँ फिचरहरू थप्ने भएको छ । उक्त एडिटरबाट प्रयोगकर्ताले आइफोनबाट खिचेको फोटोको ब्रिलियेंस, डिटेल, एक्सपोजर, स्याडो आदिहरू सजिलै मिलाउन सक्नेछन् । यस्तै एडिटिंग फिचर भिडियोका लागि पनि उपलब्ध हुनेछ ।

 

 

यसमा तपाईको मत