ग्याजेट विशेष

आइफोन ह्याक गर्न सक्नेलाई एप्पलले १० लाख डलर उपहार दिने

  नागरिक   2019-08-13

एप्पलले आइफोन र म्याकलाई ह्याक गर्न सक्ने व्यक्तिलाई १० लाख अमेरिकी डलर उपहार दिने भएको छ । सो मूल्यलाई नेरुमा रुपान्तरण गर्दा लगभग नेरु ११ करोड ४० लाख हुन्छ । एप्पलको “बग बाउन्टी प्रोग्राम” अन्तर्गत पर्ने यस पहलबाट एप्पलले आफ्ना उत्पादन र सफ्टवेयरहरूमा भएका समस्या र बगहरूलाई सार्वजनिक हुनु अगाडी नै समाधान गर्न सक्नेछ ।

यसभन्दा अगाडी एप्पलको  “बग बाउन्टी प्रोग्राम” अन्तर्गत आइफोन ह्याक गर्न सक्नेलाई एप्पलले २ लाख अमेरिकी डलर प्रदान गर्ने गर्दथ्यो । अहिले सो सकम ५ गुणाले बढेर १० लाख अमेरिकी डलर हुन पुगेको छ । पहिले आइफोन र iOS मा मात्र सिमित भएको यस कार्यक्रमलाई एप्पलले अब आफ्नो म्याक कम्प्युटरमा पनि विस्तार गरेको छ । यसर्थ, आइफोनको सट्टा एप्पल म्याक र म्याकबुक पनि ह्याक गरेर समस्याहरू पत्ता लगाउन सक्ने व्यक्तिलाइ एप्पलले १० लाख अमेरिकी डलर दिनेछ ।

यस विस्तार गरिएको नयाँ कार्यक्रममा जो सुकै अनुसन्धानकर्ता पनि सहभागी हुन पाउनेछन् जहाँ कि पहिलेको को “बग बाउन्टी प्रोग्राम” मा एप्पलले आमन्त्रित गरेका व्यक्तिहरूले मात्र सहभागीता जनाउन पाउने गर्दथ्ये । यो “बग बाउन्टी प्रोग्राम” एप्पल आइफोन र म्याकमा मात्र सिमित नभएर एप्पल वाचमा चल्ने वाच ओएस र एप्पल टिभीमा पनि उपलब्ध गराइएको छ ।

एप्पलले आइफोन ह्याक गर्न इच्छुक डेभ्लोपरलाई “डेभ्लोपर डिभाइस” उपलब्ध गराउने छ । उक्त डेभ्लोपर आइफोनको प्रयोग गरेर ह्याकर र डेभ्लोपरहरूले iOS को भित्रि समस्याहरू खोज्न सक्नेछन् । भेटिएको समस्या र उक्त बगको जटिलता हेरेर एप्पलले डेभ्लोपरलाई सुहाउँदो रकम प्रदान गर्नेछ ।

पूरा १० लाख अमेरिकी डलर जित्नका लागि ह्याकरले एप्पलको iOS को कर्नललाई नै ह्याक गर्न सक्नुपर्ने हुन्छ । आइफोन प्रयोगकर्ताको कुनै पनि अन्तर्क्रिया बिना नै उक्त प्रयोगकर्ताको आइफोन ह्याक गर्न सक्नेले पूरा १० लाख अमेरिकी डलर जित्न सक्नेछ ।

प्रयोगकर्ताको अन्तर्क्रिया बिना नै आइफोनमा नेटवर्क सम्बन्धित ह्याक गर्न सक्नेलाई पनि एप्पलले ५ लाख अमेरिकी डलर प्रदान गर्नेछ । सफ्टवेयर बजारमा रिलिज हुनु अगाडी नै iOS वा macOS मा समस्याहरू पत्ता लगाउन सक्ने वा ह्याक गर्न सक्नेलाई एप्पलले ५० % थप पैसा पनि प्रदान गर्नेछ । यसरी आइफोनको रिलिज नभएको iOSको कर्नललाई ह्याक गर्न सक्ने व्यक्तिले एप्पलबाट १५ लाख अमेरिकी डलर पाउन सक्नेछन  ।

स्रोत: फोर्ब्स

 

 

 

यसमा तपाईको मत