ग्याजेट विशेष

यो आइफोनलाई तुरुन्तै अपडेट गर्नुहोस् - अपडेट नगरेमा इन्टरनेट र इमेल पनि नचल्ने

  नागरिक   2019-10-28

आइफोन ५ का प्रयोगकर्ताहरूले आफ्नो आइफोन कुन संस्करणमा चलिरहेको छ भनेर जाँच गर्नु पर्ने भएको छ । iOS १०.३.४ संस्करण भन्दा पुरानो संस्करणमा चलेको र अपडेट नगरिएको आइफोन ५ लाई यही नोभेम्बर ३ भन्दा अगाडी नै अपडेट गरिसक्नु पर्नेछ । iOS ९ वा पुरानो संस्करणको iOS इन्स्टल भएको आइफोन ५ का प्रयोगकर्ताहरूले यो अपडेट इन्स्टल  नगरेको खण्डमा सो आइफोनबाट इन्टरनेट, इमेल, एप स्टोर, एप्पल म्याप्स र आइक्लाउड जस्ता महत्त्वपूर्ण एप्सहरू चलाउन नमिल्ने भएको छ ।

आइफोन ५ का प्रयोगकर्तालाई अपडेट गर्न आग्रह गर्दै एप्पलले फुलस्क्रिन चेतावनी पनि देखाउन सुरु गरेको छ । सो फुलस्क्रिन चेतावनी बोर्डमा प्रयोगकर्तालाई इन्टरनेटमा जडान गरेर आइफोन अपडेट गर्न पठाइएको छ ।

यही नोभेम्बर ३ भित्र अपडेट नगरेमा आइफोन ५ लाई एप्पलको आइट्युन्सको ब्याकअप एण्ड रिकभरी मार्फत अपडेट गर्नु पर्ने हुन्छ । अपडेट नगरेसम्म इन्टरनेट, इमेल, एप स्टोर र आइक्लाउड चल्ने छैन ।

यो निर्णयले धेरै आइफोनहरूलाई असर नगरेतापनि पुरानो संस्करणमा रहेका आइफोन ५ का प्रयोगकर्ताहरूलाई भने असर गर्नेछ । एप्पलका अनुसार यही महिनाको अक्टोबर १५ सम्ममा ९ प्रतिशत आइफोनहरू मात्र iOS १२ भन्दा पुरानो संस्करणमा चल्छन् ।

आइफोन ५ सन् २०१२ मा रिलिज गरिएको थियो । iOS ६ संस्करणमा लन्च गरिएको यस आइफोनले iOS १० सम्म अपडेट पाएको थियो ।

 

यसमा तपाईको मत