ग्याजेट विशेष

एप्पलको तीन नयाँ आइफोनहरू - यस्ता छन् विशेषता

  नागरिक   2019-09-11

हरेक वर्षको सेप्टेम्बरमा जस्तै यस वर्ष पनि एप्पलले नयाँ आइफोन सार्वजनिक गरेको छ । गत वर्ष जस्तै यो वर्ष पनि आइफोनका तीनवटा मोडलहरू उपलब्ध हुने छ - आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स । आइफोन ११ गत वर्ष रिलिज भएको आइफोन टेन आर ( XR ) को प्रतिस्थापनमा रिलिज गरिएको हो भने आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स गत वर्ष रिलिज गरिएको आइफोन टेन एस र आइफोन टेन एस म्याक्सको प्रतिस्थापनमा रिलिज गरिएको हो ।

आइफोन ११ मा आइफोन १० आर मा जस्तै कम गुणस्तरको ६.१ इन्चको एलसीडी डिस्प्ले राखिएको छ जसको रेजोलुसन केवल ८२८ x १७९२ को रहेको छ । हेर्दामा डिजाइन पनि पुरानो आइफोन १० आर ( XR ) सँग मिल्दो छ । फरक छ त केवल पछाडी पट्टि जहाँ अहिले दुईवटा मुक्य क्यामरा राखिएको छ । दुईवटा क्यामरा नै १२ मेगापिक्सलको रहेको छ जस मध्ये एक क्यामराले वाईड एंगल फोटोहरू खिच्न सक्नेछ । भित्र एप्पलको नयाँ र फास्ट ए १३ प्रोसेसर राखिएको छ जुनस्मार्टफोनमा उपलब्ध सबैभन्दा फास्ट प्रोसेसर रहेको कुराको दाबी एप्पलले गरेको छ । गत वर्षको आइफोन १० आर ( XR ) को तुलनामा आइफोन ११ मा मुख्य सुधार भने क्यामरामा मात्र गरिएको छ । यस वर्षको आइफोनहरूको क्यामराले रातिमा पनि राम्रो तस्विर खिच्न सक्ने दाबी एप्पलले गरेको छ ।

आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्समा पनि एप्पलको नयाँ ए १३ प्रोसेसर राखिएको छ । यिनीहरूको डिजाइन पनि हेर्दामा गत वर्षको आइफोनहरूसँग मिल्दो छ । यी दुई महँगा मोडलहरूमा तीनवटा १२ मेगापिक्सलको क्यामरा राखिएको छ । यी तीनवटा क्यामरा मध्ये दुईवटा आइफोन ११ को जस्तै छ भने तेस्रो क्यामरा जुम लेन्स रहेको छ । आइफोन ११ प्रो मा ५.८ इन्चको ओलेड डिस्प्ले राखिएको छ भने आइफोन ११ प्रो म्याक्समा ६.५ इन्चको ओलेड डिस्प्ले राखिएको छ । यीनीहरू दुवैको डिस्प्लेको रेजोलुसन आइफोन ११ को भन्दा निकै धेरै रहेको छ - १२४२ x २६८८ ।

नयाँ र सुधार गरिएको प्रोसेसरका कारणले गर्दा नयाँ आइफोनहरूको ब्याट्री लाइफ पनि गत आइफोनमा भन्दा चार देखि पाँच घण्टासम्म बढी हुनेछ । यसै गरेर तीनैवटा आइफोनका मोडलहरूमा १२ मेगापिक्सलको सेल्फी क्यामरा राखिएको छ जसले 4K र स्लो मो भिडियो खिच्न सक्नेछन् ।

आइफोन सिक्स एससँगै रिलिज भएको थ्रीडी टच फिचरलाई यस वर्षको आइफोनहरूबाट पूर्ण रुपमा हटाइएको छ र उक्त फिचरलाई गत वर्षको आइफोन १० आरमा उपलब्ध भएको ह्यापटिक टचले प्रतिस्थापन गरिएको छ । यस वर्ष पनि आइफोनहरूमा युएसबी सीको प्रयोग गरिएको छैन । यसै गरेर नयाँ आइफोनहरूले फाइभ जी पनि सपोर्ट गर्ने छैनन् । एप्पलले पहिलो पटक बक्सा मै फास्ट चार्जर उपलब्ध गराउने भएको छ जसको क्षमता १८ वाटको रहेको छ । गत वर्ष उपलब्ध भएको रंगहरू सँगै आइफोन ११ हरियो र बैजनी रंगमा उपलब्ध हुनेछ ।

सार्वजनिक गरिएको तीनवटा मोडल मध्ये सबैभन्दा सस्तो मोडल आइफोन ११ रहेको छ जसको मूल्य ७०० अमेरिकी डलर तोकिएको छ । यसै गरेर आइफोन ११ प्रो को मूल्य १००० डलर र आइफोन ११ प्रो म्याक्सको मूल्य ११०० डलर तोकिएको छ । यो मूल्य अमेरिकाका लागि हो - नेपालमा बिक्री हुँदा नयाँ आइफोनहरू धेरै हदसम्म महँगो हुनेछन् ।

यसमा तपाईको मत