ग्याजेट विशेष

१ अर्ब डलरको लगानीमा एप्पलले आफ्नै 5G मोडम निर्माण गर्ने

    2019-07-26

आइफोनको निर्माता कम्पनी एप्पलले संसार कै सबैभन्दा प्रचलित कम्प्युटरको प्रोसेसर निर्माता इन्टेलबाट स्मार्टफोनका लागि फाइभ जी मोडम निर्माण गर्ने प्रविधि र सो प्रविधिसँग सम्बन्धित सम्पूर्ण अधिकारहरू खरिद गर्ने भएको छ । एप्पलले इन्टेलको फाइभ जी स्मार्टफोन मोडम बिजनेसलाई १ अर्ब अमेरिकी डलरमा खरिद गर्ने भएको हो । उक्त मूल्यलाई नेरुमा रुपान्तरण गर्दा १.१० खर्बभन्दा बढी हुन्छ ।

एप्पलले इन्टेलको स्मार्टफोन मोडम प्रविधिको व्यापार र अधिकारलाई खरिद गर्ने कुराको हल्ला गत साता चलेको थियो । उक्त हल्लालाई साँचो ठहर गर्दै एप्पलले आज सो खरिदको बारेमा थप जानकारी प्रदान गरेको हो । एप्पलको न्युजरूम वेबसाइटमा यस खरिद सम्बन्धि सम्पूर्ण जानकारी प्रदान गरिएको छ । सो प्रेस रिलिज अनुसार इन्टेलको फाइभ जी मोडमको संकायमा कार्यरत २२०० जना कर्मचारीहरू एप्पलमा सरुवा हुनेछन् । कर्मचारीका साथसाथै एप्पलले इन्टेलको स्मार्टफोन फाइभ जी मोडमसँग आवद्ध सम्पति र अधिकारहरू पनि आफ्नो नाममा सरुवा गर्नेछ । करिब एक अर्ब अमेरिकी डलरमा हुन लागेको यस खरिद यही वर्षको अन्त्य तिर गएर बल्ल फाइनल हुनेछ ।

इन्टेलले केही महिना अगाडी स्मार्टफोन मोडम निर्माणबाट पछि हट्ने कुराको जानकारी प्रदान गरेको थियो । एप्पल र स्मार्टफोनको लागि पहिलो फाइभ जी भएको प्रोसेसर निर्माण गर्ने कम्पनी क्वाल्क्मका बीचमा चल्दै आएको विवादको फाइदा उठाउन कै लागि भनेर इन्टेलले स्मार्टफोनका लागि फाइभ जी मोडमहरू निर्माण गर्ने भएको थियो । तर निकै लामो समयको कानुनी विवाद पछि एप्पल र क्वाल्कम बीचमा सम्झौता भयो र सो सम्झौता भएको केही घण्टामा नै इन्टेलले फाइभ जी मोडम व्यापारबाट पछि हट्ने जानकारी प्रदान गर्यो । इन्टेलको मुख्य कार्यकारी अधिकारी बब स्वानका अनुसार एप्पल र क्वाल्कमको सम्झौता पछि इन्टेललाई स्मार्टफोन फाइभ जी मोडम व्यापारमा रहनु कुनै फाइदाजनक कुरा थिएन । एप्पलले क्वाल्कम कै फाइभ जी मोडमहरू प्रयोग गर्ने लगभग पक्कापक्की भइसकेकोले नै इन्टेलले आफ्नो स्मार्टफोन फाइभ जी मोडल व्यापार बन्द गर्ने भएको थियो ।

इन्टेलले एप्पललाई स्मार्टफोन फाइभ जी मोडमको प्रविधिहरू मात्र बेच्न लागेको हो । इन्टेलले कम्प्युटर, गाडी, इन्टरनेट अफ थिन्ग्स (IoT) अथवा स्मार्टफोन बाहेकको सम्पूर्ण अन्य उपकरणहरूमा भने आफ्नो फाइभ जी प्रविधि प्रयोग गर्न सक्नेछ ।

ब्लुम्बर्गका अनुसार एप्पलले अबको तीन वर्ष भित्रमा आफ्नै स्मार्टफोन फाइभ जी मोडमहरू निर्माण गर्न सुरु गर्नेछ । हालै इन्टेलको फाइभ जी मोडमहरू क्वाल्कमको तुलनामा निकै स्लो छन् र क्वाल्कमको फाइभ जी मोडमको स्पिडलाई भेटाउनका लागि इन्टेलको फाइभ जी मोडमलाई केही समय लाग्ने सक्छ । क्वाल्कमले फोर जी र फाइभ जी मोडममाथि निकै चर्को मूल्य लगाएको भन्दै एप्पलले क्वाल्कम विरुद्ध मुद्दा दायर गरेको थियो । सो चर्को मूल्य तिर्नुको सट्टा एप्पलले अब आफ्नै फाइभ जी मोडम निर्माण गर्ने बाटो खोलेको छ ।

स्रोत: एप्पल न्युजरुम

 

 

यसमा तपाईको मत