ग्याजेट विशेष

हुवावेले सामसंगलाई पनि जित्न सक्ने !

  नागरिक   2019-12-18

चाइनिज स्मार्टफोन निर्माता हुवावेले यहि वर्षको दोस्रो त्रैमासिकमा एप्पललाई पछि पार्दै संसार कै दोस्रो सबैभन्दा प्रचलित स्मार्टफोन निर्माता बनेको थियो । सो समयमा संसारको नम्बर एक स्मार्टफोन निर्माता सामसंग नै रहेको थियो । तर हुवावेको स्मार्टफोन बिक्रिमा आएको वृद्धिलाई मध्यनजर गर्दा हुवावेले सामसंगलाई पनि पछि पार्न सक्ने सम्भावना रहेको छ ।

हुवावेको मुख्य कार्यकारी अधिकारी रिचार्ड युले आगामी वर्ष अर्थात् सन् २०२० को दोस्रो त्रैमासिक भित्रमा नै सामसंगलाई नै उछिनेर संसारको नम्बर १ स्मार्टफोन निर्माता बन्ने प्रति कम्पनी विश्वस्त रहेको बताएका छन् ।

आजभोलि हुवावेले फोल्डिंग स्मार्टफोन, फाइभ जी स्मार्टफोन र अग्मेन्टेड रिआलीटि ग्लास जस्ता अभिनव र नयाँ प्रविधिहरूमा विकास सुरु गरिसकेको छ । तर पहिले हुवावेले यति धेरै स्मार्टफोन प्रविधिमा लगानी गरेको थिएन । सन् २०१० सम्म त हुवावेको कुनै स्मार्टफोन नै थिएन । आइफोन लन्च भएको लगभग तीन वर्षपछि स्मार्टफोन बजारमा पाइला टेकेको हुवावेले अहिले अप्रत्यासित विकास गरेको छ ।

अमेरिका र चिन बीचको व्यापार विवादले गर्दा हुवावेको व्यापारलाई केही हदसम्म असर गरेपनि हालका लागि हुवावेले ध्यान अमेरिका बाहेकका बजारहरूमा जमाएको कुरा रिचार्डले खुलाएका छन् । रिचार्डका अनुसार हुवावे अमेरिकी बजारमा फेरी प्रतिस्पर्धा गर्नेछ तर सो वातावरण सिर्जना हुनका लागि केही समय अझै पर्खनु पर्ने छ ।

अमेरिकी प्रतिबन्ध बाहेक पनि हुवावेले अन्य चाइनिज निर्माताहरूबाट निकै ठूलो प्रतिस्पर्धा खेप्नु परेको छ । शाओमी, भिभो, अप्पो, रिअल्मी आदि जस्ता चाइनिज स्मार्टफोन निर्माताहरू पनि हुवावेका लागि ठूला चुनौतीहरू हुन्, सामसंग त पहिलेबाट नै नम्बर एक स्थान ओगटेर बसेको छ ।

हुवावेले सन् २०२० मा कम्पनीको पहिलो फोल्डिंग स्मार्टफोन र पहिलो फाइभ जी भएको स्मार्टफोन रिलिज गर्ने छ । यसै गरेर कम्पनीको अग्मेन्टेड रिआलीटि ग्लास पनि निर्माण हुँदै छ । हार्डवेयर बाहेक हुवावेले सफ्टवेयर फिचरहरूमा पनि ध्यानाकर्षण गरेको छ । सफ्टवेयर अन्तर्गत हुवावेले क्लाउड स्टोरेज, संगीत स्ट्रिम र भिडियो जस्ता सेवाहरू पनि उपलब्ध गराउदै आएको छ ।

स्रोत : सीएनबिसी

 

यसमा तपाईको मत