ग्याजेट विशेष

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

  नागरिक   2019-08-17

चाइना डेलीको एक प्रकाशन अनुसार गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ । तर उक्त म्याप भने प्रयोगकर्ताको लागि भन्दा पनि सफ्टवेयर डेभ्लोपरका लागि बनाइने छ । सफ्टवेयर डेभ्लोपरले आफ्नो सफ्टवेयरमा हाल्न र प्रयोग गर्नका लागि भनेर यस म्याप्सको  निर्माण गरिएको कुरा चाइना डेलीले प्रकाशन गरेको छ । यसर्थ रिलिज पछि सफ्टवेयर डेभ्लोपरहरूले गुगल म्याप्स प्रयोग गर्नुको सट्टा हुवावेको म्याप्स प्रयोग गर्न पाउनेछन् । आजभोलिका अधिकांस वेबसाइट र सफ्टवेयरहरुले गुगल म्याप्स वा हेयर म्याप्सको डेटालाई प्रयोग गर्दै आइरहेका छन् ।

हुवावेको एक अधिकारीले चाइना डेलीलाई उक्त म्यापको नाम म्याप किट रहेको बताएका छन् । यस म्यापिंग सेवाबाट डेभ्लोपरहरूले आफ्नो एप र अन्य सुविधाहरूमा विभिन्न स्थान सम्बन्धित जानकारीका सहित रिअल टाइम ट्राफिक देखाउने विशेषता थप्न सक्नेछन् । हुवावेको म्याप किटले अग्मेन्टेड रियालिटी म्यापिंगको पनि प्रयोग गर्नेछ ।

प्रकाशित रिपोर्टका अनुसार हुवावेको म्याप किटले स्थानीय म्यापिंग सेवाहरूलाई पनि प्रयोग गर्नेछ । म्याप किट निर्माण गर्नका लागि हुवावेलाई आवश्यक आवश्यक पर्ने डेटा र जानकारीहरू भने रसियाको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी यान्डेक्सले उपलब्ध गराउने छ ।

यस म्याप स्याटेलाइटबाट मात्र काम नगरेर हुवावेको आफ्नै टेलिकम बेस स्टेसनहरूको प्रयोग गरेर पनि चल्न सक्नेछ जसले म्यापको लोकेसन सटिक तरिकाले पत्ता लगाउने बिधिलाई टेवा पुग्ने छ ।

गुगल म्याप्स माथिको निर्भरता तोड्नका लागि हुवावेले आफ्नै म्याप्स रिलिज गरेपनि छोटो समय मै गुगल म्याप्स कै स्तरको डेटा र स्थलगत जानकारीहरू उपलब्ध गराउन हुवावेको लागि पनि लगभग असम्भव कुरा हो । म्यापसको बजारमा पहिले देखि नै प्रभुत्व जमाउँदै आएको गुगल म्याप्सलाई टक्कर दिन हुवावेले निकै धेरै मूल्य खर्चिनु पर्ने हुन्छ । सन् २००५ मा लन्च भएको गुगल म्याप्स अहिलेको सबैभन्दा प्रचलित र उन्नत म्याप सेवा हो । एप्पलले पनि सन् २०१२ मा गुगल म्याप्सबाट छुटकारा लिएर आफ्नै “एप्पल म्याप्स” रिलिज गरेको थियो । तर रिलिजको ७ बर्ष बितिसक्दा पनि एप्पल म्याप्सले गुगल म्याप्सलाई टक्कर दिन सकेको छैन । आइफोन प्रयोगकर्ताहरूले पनि एप्पल म्याप्सको सट्टा गुगल म्याप्स नै प्रयोग गर्दै आइरहेका छन् । नोकियाको हेयर म्याप्स, टमटम म्यप्स, ओपनस्ट्रिटम्याप जस्ता अन्य थुप्रै म्याप्सहरू धेरै पहिले देखि बजारमा उपलब्ध छन् जसले बजार हिस्सा कमाउन सकिरहेका छैनन् ।

हुवावेको यो म्याप्स हुवावेको आफ्नै नयाँ हार्मोनी अपरेटिंग सिस्टममा प्रयोग हुने अनुमान गरिएको छ । उक्त अपरेटिंग सिस्टम प्रारम्भिक समयमा चाइनामा मात्र लन्च गरिने र बिस्तारै अन्य स्थानमा पनि लन्च गरिनेछ ।

 

यसमा तपाईको मत