कभर स्टोरी

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

  नागरिक   2019-10-17

सुशीला रेग्मी
बेझाड, २९ असोज (रासस) : ‘साथमा पैसा भयो भने सबैको हाई हाई, नभए कोही न कोही’ भनेझै थियो, रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटकी हुमीकुमारी पाँडेलाई । आठ वर्ष अघिसम्म गर्जो टार्नै हम्मे हम्मे थियो, कष्टकर जीवन थियो तर, अहिले उहाँको दैनिकी बदलिएको छ । 
  
विगतमा दुई छोराछोरीको पठनपाठन, घरायसी खर्च धान्न धौ धौ भए पछि अर्थोपार्जन लागि उहाँले २०६९ सालदेखि व्यावसायिक बाख्रापालन सुरु गर्नुभयो । बाख्रापालनका लागि हेफर इन्टरनेशनल नेपालबाट दश वटा माउ बाख्रा उपहार पाएपछि उहाँमा हौसला थपियो । बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर उहाँ दङ्ग हुनुहुन्छ । 
“बाख्रा पालेर छोटो समयमा राम्रो आम्दानी भएको छ, पहिला दुई चार पैसा ऋण सापटी नदिने आफन्त, टाढिने छिमेकी अहिले नजिकिन थालेका छन्,’ उनले विगतका दिन सम्झँदै भन्नुभयो – “श्रीमान् श्रीमती मात्र घरमा छौँ । दुई जनाले व्यवसाय धानेका छौँ । व्यवसाय बढाउँदै लाने सोच छ ।” 
पाँडेले गत वर्ष मात्र ११ खसीबोका बिक्री गरी दुई लाख आम्दानी गर्नुभयो । वर्षमा करीव १२/१५ वटासम्म खसीबोका बिक्री गर्ने उहाँको फार्ममा हाल २५ माउ बाख्रासहित ५० बाख्रा छन् । 
खसीबोका बिक्रीबाट हुने आम्दानी गाउँकै सहकारीमा बचत गर्दै आउनुभएको छ उहाँले । हालसालै मात्र छ खसीबोका बिक्रीबाट रु ९० हजार कमाइ गर्नुभयो । आधुनिक खोर निर्माण गरेपछि उत्पादन वृद्धि हुदै गएको उहाँले बताउनुभयो । 
गाउँमा रहेको उपहार सामाजिक उद्यमी महिला सहकारीले गाउँ गाउँ पुगेर खसीबोका सङ्कलन गरी बिक्रीका लागी बजारको व्यवस्था गरेपछि सिङ्गो गाउँ नै यतिखेर बाख्रापालनतर्फ आकर्षित बनेको छ । 

सहकारीले तीन वर्ष अघिदेखि गाउँमा पुगेर कृषकले उत्पादन गरेका खसीबोका सङ्कलन गरी ग्राहकसम्म पुर्याउदै आएको छ । कृषकलाई बजार खोज्ने समस्या छैन । वर्षमा करीब एक हजार खसीबोका सङ्कलन गरी बजार लैजाने गरेको सहकारीका व्यवस्थापक कृष्णमायाँ पाँडे मगर बताउनुहुन्छ ।

“गत वर्ष ९५० खसीबोका सङ्कलन गरी बजार लग्यौँ,” उहाँले भन्नुभयो – “ यस वर्षको दशैंमा मात्रै २०५ वटा बिक्री गर्न सक्यौँ । तिहारसम्म ४०० पुर्याउने योजना छ ।” सहकारी आफैंले व्यापारी तथा ग्राहकमार्फत खसीबोका बिक्री गर्ने व्यवस्था गरेपछि बिक्रीका लागि झण्झट नभएको अर्की बाख्रापालक लक्ष्मी आलेले बताउनुभयो । आलेले यस पटकको दशैमा खसीबोका बिक्री गरेर रु ६५ हजार आम्दानी गर्नुभयो । “बाख्रा पालेर राम्रै कमाई भएको छ, सहकारीले बिक्री गर्ने व्यवस्था गरेपछि व्यवसाय गर्न हौसला मिलेको छ,” उहाँले थप्नुभयो ।
दुर्गामाया सारुले पनि खसीबोका बिक्रीबाट राम्रै आम्दानी गर्दै आउनुभएको छ । बाख्रापालन व्यवसाय सुरु गरेपछि उहाँलाई चाडपर्वमा खर्च जुटाउन कुनै पिरलो छैन । सारुले खसीबोका बिक्रीबाट हालसालै रु ४७ हजार कमाउनुभयो ।
सहकारीले एक महिनामा कम्तीमा ४० र बढीमा ७० वटासम्म खसीबोका बजार पुर्याउने गरेको छ । यसरी खसीबोका गाउँबाट बजार पुर्याएर खपत गरेबापत सहकारीले प्रतिकिलो रु पाँच लिने गरेको छ । सो रकम संस्थाको कोषमा जम्मा हुँदै आएको छ ।

सानो ठूलो तौल अनुसार प्रतिकिलो न्यूनतम ३९० देखि ४५० सम्ममा ज्यूँदो खसीबोका बिक्री हुँदै आएको छ । कृषकले सहकारीमा खबर गरेपछि सहकारीका सञ्चालक समिति सदस्य घर घर पुगेर सङ्कलन गर्ने र बजार पठाउने गर्छन् । कृषकका खसीबोका बजार पुर्याउन सहकारीले पाँच स्थानमा सङ्कलन केन्द्र स्थापना गरेको छ । सहकारीमा गाउँका ६१५ महिला आबद्ध छन् । सबैका घरघरमा बाख्रा पालिएको छ । कम्तीमा एक परिवारले चारदेखि बढीमा ७० सम्म बाख्रा पालेका छन् ।
सहकारीले गाउँमै पुगेर खसीबोका खरिद गर्न थालेपछि व्यावसायिक बाख्रापालनमा महिलाको आकर्षण बढ्दै गएको सहकारीका अध्यक्ष गङ्गीसरा सिङ्जाली बताउनुहुन्छ । उहाँका अनुसार वर्षमा एक परिवारले न्यूनतम ५० हजारदेखि तीन लाखभन्दा खसीबोका बिक्रीबाट आम्दानी लिइरहेका छन् । 
परम्परागत शैलीमा बाख्रापालन गरेका कृषकलाई उत्पादन वृद्धि गर्न आधुनिक खोर व्यवस्थापनमा ५० प्रतिशत सहयोग गरेपछि गाउँभरि नै बाख्रापालनको लहर आएको उहाँले बताउनुभयो । 
जिल्लाकै विकट र दुर्गममा पर्ने यस क्षेत्रका कृषकका उत्पादनलाई उपहार सामाजिक महिला उद्यमी सहकारीले बजार पुर्याइदिने प्रबन्ध मिलाएका कारण यहाँका महिला प्रतिष्पर्धामा गर्ने भावना जागेको छ । यस गाउँका महिलालाई अहिले बाख्रापालन आम्दानीको गतिलो माध्यम बनेको छ । आय वृद्धिसँगै यहाँका महिलाको दैनिकी नै बदलिएको छ । 

यसमा तपाईको मत