ग्याजेट विशेष

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

  नागरिक   2019-11-17

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टम माइक्रोसफ्टको विन्डोज रहेको छ । लगभग तीन दशक अगाडीदेखि नै डेस्कटप बजारमा बर्चस्व जमाउँदै आएको माइक्रोसफ्टको विन्डोजको कुनै पनि संस्करण नि:शुल्कमा उपलब्ध भएको छैन ।

नेपालमा अधिकांश प्रयोगकर्ताहरूले विन्डोज अपरेटिंग सिस्टम खरिद बिना नै प्रयोग गरिरहेका हुन्छन । पैसा नै नतिरेर सुचारु गरेर चलाइने यस्तो विन्डोजलाई क्रयाक गरिएको विन्डोज भन्ने गरिन्छ ।

क्रयाक विन्डोजको मतलब हो कि सो विन्डोजको संस्करणलाई माइक्रोसफ्टको अनुमति बिना नै चल्ने र एक्टिभेट हुने बनाइएको हुन्छ । यसलाई अर्को शब्दमा पाइरेसी पनि भन्ने गरिन्छ जुन एक प्रकारको सफ्टवेयर चोरी हो र पाइरेसी अवैध कुरा हो । नेपालमा अधिकांस प्रयोगकर्ताले विन्डोज मात्र नभएर फोटोशप, माइक्रोसफ्ट अफिस आदि जस्ता सफ्टवेयरहरू पनि पाइरेसी गरेर प्रयोग गरिरहेका हुन्छन ।

विन्डोजको सक्कल प्रतिलिपीका लागि प्रयोगकर्ताले चर्को मूल्य, लगभग नेरु ११ हजार, खर्च गरेर विन्डोज १० खरिद गर्न सक्छन । यसै गरेर कतिपय नयाँ ल्यापटप र कम्प्युटरमा पनि सक्कल अर्थात् ओरिजिनल विन्डोज नै हालिएको हुन्छ । तर यी दुई बीच फरक के ?

यी दुईबीचमा धेरै केही फरक नै छैन । क्रयाक गरेको विन्डोज होस् या सक्कल विन्डोज, दुवैले एकै प्रकारले काम गर्छ । दुवै प्रकारको विन्डोजले अपडेटहरू पनि पाउने गर्छन । प्रयोगको समयमा यी दुई प्रकारको विन्डोज एकै नै हुन् ।

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ?

क्रयाक गरेको र सक्कल विन्डोज प्रयोगको समयमा उस्तै नै हुन्छन भन्दैमा क्रयाक विन्डोज वा अन्य कुनै क्रयाक सफ्टवेयर चलाउनुको बेफाइदा छैन भन्ने हुँदैन । क्रयाक विन्डोजसँगै थुप्रै प्राइभेसी सम्बन्धित जोखिमहरू सामना गर्नु पर्ने हुनसक्छ ।

१. क्रयाक विन्डोज प्रयोग गर्दा माइक्रोसफ्टबाट कुनै पनि प्रकारको सपोर्ट पाइदैन । तपाईंले सक्कल विन्डोज प्रयोग गर्दै हुनुहुन्छ र तपाईंको कम्प्युटरमा विन्डोज सम्बन्धित समस्याहरू आउछ भने तपाईंले माइक्रोसफ्टलाई माइक्रोसफ्टको वेबसाइट मार्फत सम्पर्क गरेर नि:शुल्क सपोर्ट माग्न सक्नुहुनेछ । त्यस्तो सेवा र सपोर्ट क्रयाक गरको विन्डोज प्रयोगकर्ताले पाउदैनन् ।

२. क्रयाक गरिएको विन्डोजमा वा विन्डोज क्रयाक गर्ने सफ्टवेयरहरूमा बिटकोइन माइनर, भाइरस, माल्वेयर र डेटा चोर्ने सफ्टवेयरहरू हालिएको हुनसक्छ । क्रयाक विन्डोज इन्स्टल गर्ने बेलामा सो कुराहरू प्रयोगकर्तालाई देखाइएको हुँदैन । क्रयाक विन्डोज प्रयोगमा आएपछि डेटा चोरी हुने देखि कम्प्युटर नै प्रयोग गर्न नमिल्ने हुने अवस्थासम्म आउन सक्छ ।

सक्कल विन्डोज खरिद गर्ने पैसा सबैसँग हुँदैन

सक्कल विन्डोजको आधिकारिक मूल्य निकै चर्को रहेको हुन्छ । सस्तोमा विन्डोजका “एक्टिभेसन कि”हरु पनि अनलाइन स्टोरमा खरिद गर्न पाइन्छन् । तर यी सस्ता “एक्टिभेसन कि” हरू शत-प्रतिशत सक्कल हुन भन्ने हुँदैन ।

नि:शुल्कमा सक्कल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

सक्कल विन्डोज प्रयोग गर्न चाहने र क्रयाक विन्डोज लिएर जोखिम लिन नसक्नेले माइक्रोसफ्टको वेबसाइटबाट विन्डोज १० को इन्स्टल फाइल अर्थात् ISO नि:शुल्कमा डाउनलोड गर्नसक्छन ।

डाउनलोड भएको विन्डोज १० को ISO लाई पेनड्राइभमा हालेर कम्प्युटरमा इन्स्टल गर्न सकिन्छ । यसरी इन्स्टल गरेको विन्डोज १० लाई एक्टिभेसन कि नहालेर नै प्रयोग गर्न सकिन्छ ।

यसरी डाउनलोड गरेर प्रयोग गरेको विन्डोज १० मा एउटा मुख्य तर धेरैले मतलब नगर्ने फिचर कतौती गरिएको हुन्छ र त्यो हो वालपेपर चेन्ज गर्न नमिल्ने । यसरी इन्स्टल गरिएको विन्डोजमा Settings>Personalization अप्सनलाई प्रयोग गर्न नमिल्ने बनाइएको हुन्छ तर अन्य सबै फिचरहरू राम्रोसँग चल्छ ।

यस बाहेक डिस्प्लेको दायाँ पट्टिको तल्लो कुनामा “Activate Windows” भन्ने चिन्ह रहन्छ जसलाई हटाउनका लागि “एक्टिभेसन कि” हाल्नु पर्ने हुन्छ ।

चोरीको विन्डोज वा क्रयाक विन्डोज प्रयोग गर्नुभन्दा यसरी नै विन्डोज १० प्रयोग गर्नु निकै सुरक्षित ठहरिन्छ ।

 

यसमा तपाईको मत