अटो विशेष

फोर्ड र महिन्द्रा सहकार्यमा

  नागरिक   2019-10-04

काठमाडौं– फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । यसअन्तर्गत दुवै कम्पनीका उत्पादनलाई संयुक्त प्रयासमा प्रवद्र्धन गरिने छ । फोर्ड ब्रान्डका सवारीसाधनको भारतमा बजारीकरण र बिक्री–वितरणमा संयुक्त प्रयास गरिने छ भने फोर्ड र महिन्द्रा एन्ड महिन्द्राका उत्पादन तीव्र गतिमा विकास भइरहेको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरिने छ ।
संयुक्त लगानीमा महिन्द्राको अंश ५१ प्रतिशत र फोर्डको ४९ प्रतिशत रहने छ । फोर्डको भारतमा भइरहेको बजार पनि संयुक्त लगानीभित्र आउने छ । सन् २०१७ सेप्टेम्बरदेखि दुई कम्पनीबीच प्रारम्भ भएको प्रक्रियाले सन् २०२० मा दुई कम्पनीको सहमतिमा कारोबार गर्ने पूर्णता पाउने छ । दुवै कम्पनीको समान प्रतिनिधित्व हुने गरी महिन्द्राले व्यवस्थापन गर्नेछ । संयुक्त प्रयास अन्तर्गत फोर्ड ब्रान्डलाई भारतका साथै अन्तर्राष्ट्रिय बजारमा समेत प्रवद्र्धन गरिने छ । हाललाई आ–आफ्नै डिलर नेटवर्कमार्फत काम गरे पनि एकआपसमा प्रवद्र्धनतर्फ दुवै कम्पनी सक्रिय रहने छन् । महिन्द्राको अनुभव र मूल्यमा आधारित इन्जिनियरिङबाट यसले सफलता पाएको छ भने फोर्डको प्राविधिक विशेषज्ञता र अन्तर्राष्ट्रिय बजार पहुँचको संयुक्त प्रयासले कारोबारलाई गति दिने कुरामा दुवै विश्वस्त छन् ।
त्यस्तै, फोर्डले आफ्ना ग्राहाकका माग पूरा गर्नुका साथै भविष्यमा उनीहरुको आवश्यकता पूरा गर्न निरन्तर सक्रिय रहने र प्राविधिक रुपमा उच्च गुणस्तरीय सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ ।
दुवै कम्पनीको संयुक्त प्रयासमा भविष्यमा विद्युतीय सवारी साधन निर्माण गरी ग्राहकको सेवामा लाग्ने सहमति छ । 
 

यसमा तपाईको मत