ग्याजेट विशेष

ल्यापटपको नयाँ रूप - फोल्डिंग डिस्प्ले

  नागरिक   2020-01-07

संसार कै सबैभन्दा ठूलो उपभोक्ता विद्युतीय उपकरणको मेलामा विभिन्न निर्माताहरूले ल्यापटपको सम्भावित भविष्यको एक झलक दिएका छन् । यी निर्माताहरूमा डेल, इन्टेल र लिनोभोहरू पर्छन् । यी निर्माताहरूले फोल्डिंग डिस्प्ले भएको ल्यापटपहरूको नमुनालाई सबैको सामु सार्वजनिक गरेका छन् ।

सबैभन्दा पहिले त चाइनिज ल्यापटप निर्माता लिनोभोले थिंकप्याड एक्स १ फोल्ड सहित आफ्नो दोस्रो फोल्डिंग डिस्प्ले भएको ल्यापटपलाई सार्वजनिक गर्यो । उक्त ल्यापटपमा १३ इन्चको फोल्ड गर्न मिल्ने डिस्प्ले रहेको छ । उक्त डिस्प्ले ओलेड प्रविधिबाट बनेको डिस्प्ले हो । यस ल्यापटपलाई फोल्ड गरेर सानो ट्याब्लेट जस्तो पनि बनाउन मिल्ने छ । गत वर्ष नै संसार कै पहिलो फोल्डिंग डिस्प्ले भएको ल्यापटप सार्वजनिक गर्ने कम्पनी पनि लिनोभो नै रहेको छ ।

यसै गरेर डेलले पनि आफ्नै प्रकारको फोल्डिंग डिस्प्ले भएको ल्यापटपलाई सार्वजनिक गरेको छ । डेलले आफ्नो फोल्डिंग डिस्प्ले भएको ल्यापटपलाई ओरि नाम दिएको छ । यस ल्यापटपको डिस्प्लेको साइज पनि लगभग १३ इन्च कै रहेको छ जसको क्वाड एच डी रेजोलुसन रहेको छ । यो ल्यापटपमा कुन प्रोसेसर, कति साइजको र्याम आदि प्रयोग गरिएको छ भन्ने कुराको जानकारी चाहिँ डेलले उपलब्ध गराएको छैन ।

ल्यापटप बजारमा सबैभन्दा ठूलो प्रोसेसर निर्माता रहेको इन्टेलले पनि आफ्नै प्रकारको फोल्डिंग डिस्प्ले भएको ल्यापटपको नमुनालाई सार्वजनिक गरेको छ । उक्त नमुना ल्यापटपलाई हर्ससु बेन्ड नाम दिइएको छ । डेल र लिनोभोको फोल्डिंग ल्यापटपको तुलनामा इन्टेलको ल्यापटप निकै ठूलो रहेको छ । यसमा ४:३ अनुपातको १७.३ इन्चको डिस्प्ले प्रयोग गरिएको छ । ठूलो डिस्प्लेको साइजले गर्दा पनि यस ल्यापटप हामीले अहिले प्रयोग गर्ने ल्यापटपको साइजसँग मिल्दो हुन जान्छ ।

इन्टेलको फोल्डिंग डिस्प्ले भएको ल्यापटपको मोटाइ केवल ७ मिमिको रहेको छ - आइफोन ११ को मोटाइभन्दा पनि कम । यसै गरेर ९ वाटमा चल्ने निकै ब्याट्री किफायती प्रोसेसरको प्रयोग गरिएको छ ।

यी सबै फोल्डिंग डिस्प्ले भएको नयाँ प्रकारको ल्यापटपमा माइक्रोसफ्टको फोल्डिंग डिस्प्ले भएको ल्यापटप कै लागि बनेको विन्डोज १० एक्स अपरेटिंग सिस्टम चल्ने बताइएको छ । विन्डोज १० एक्स अर्को वर्ष यता रिलिज नहुने भएकाले पनि यीमध्ये कुनै पनि ल्यापटप सोभन्दा अगाडी रिलिज हुने सम्भावना निकै कम रहेको छ ।

स्रोत : द भर्ज

 

 

यसमा तपाईको मत