ग्याजेट विशेष

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

  नागरिक   2019-09-18

संसार कै सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक संजाल फेसबुकले स्मार्टफोनलाई नै प्रतिस्थापन गर्न सक्ने स्मार्ट चस्माको  बनाउँदै गरेको कुरा सीएनबीसीको एक रिपोर्टमा उल्लेख गरिएको छ ।

वासिंगटनको रेडमण्ड स्थित फेसबुकको अग्मेन्टेड रियालिटी ( Augmented Reality ) सम्बन्धित काम गर्ने ल्याब “फेसबुक रियालिटी ल्याब्स” मा बिगतको केही वर्ष देखि नै उक्त स्मार्ट चस्मामा काम भइरहेको कुराको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । यस सम्बन्धित काम गर्दै जाँदा फेसबुकलाई केही समस्या परेकाले फेसबुकले लक्सोटिक्का कम्पनीसँग साझेदारी गर्ने भएको हो । लक्सोटिक्काको स्वामित्वमा प्रचलित चस्मा निर्माता कम्पनी रे-ब्यान पनि रहेको छ । सोही प्रकाशित रिपोर्ट अनुसार यो स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा सन् २०२३ देखि सन् २०२५ सम्ममा बजारमा उपलब्ध भइसक्ने छ ।

उक्त स्मार्ट अग्मेन्टेड रियालिटी चस्माको आन्तरिक नाम “ओरियन” दिईएको छ र यो चस्मा स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने हेतुका साथ बनाइदै छ । उक्त चस्माको प्रयोगबाट प्रयोगकर्ताले फोन कल गर्न, विभिन्न जानकारीहरू हेर्न, प्रयोगकर्ताले देखिरहेको कुरालाई इन्टरनेटमा लाइभ देखाउन र अन्य कार्यहरू गर्न सक्नेछन् । स्मार्ट हुनुका साथै यस चस्माले अन्य साधारण चस्माले जस्तै पनि काम गर्ने छ ।

यो चस्मालाई साथ दिनका लागि फेसबुकले आवाज पहिचान गर्ने नयाँ प्रविधिको पनि निर्माण गरिरहेको छ, सीएनबीसीको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । यसर्थ प्रयोगकर्ताले चस्मासँग आवाजको सहायताबाट पनि अन्तरक्रिया गर्न सक्नेछन् ।

यसका साथै फेसबुकले स्मार्ट औंठी पनि रिलिज गर्ने भनिएको छ जसबाट प्रयोगकर्ताले विभिन्न इसाराहरूबाट पनि चस्मालाई हातले नियन्त्रण गर्न र प्रयोग गर्न सक्नेछन् । यस स्मार्ट औंठीको आन्तरिक नाम भने अगियोस राखिएको छ ।

सयौं कर्मचारीको सहयोगबाट फेसबुक वर्षौंदेखि निर्माण गर्दै आएको अग्मेन्टेड रियालिटी चस्मा ठूलो भएको र हेर्दा आकर्षक नभएको कारणले गर्दा नै फेसबुकले रे-ब्यान चस्माको निर्मातासँग साझेदारी गर्न लागेको कुरा पनि उक्त सीएनबीसीको रिपोर्टमा उल्लेख गरिएको छ । फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट  अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने आशा फेसबुकले राखेको छ ।

लक्सोटिक्काले नै सन् २०१४ मा गुगलसँग साझेदारी गर्दै गुगल ग्लास रिलिज गरेको थियो - जुन गुगलले निर्माण गर्न लागेको स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा थियो । तर उक्त चस्माले पूर्णता पाउन सकेन र अन्ततः निर्माण पूर्ण रूपमा बन्द गरियो ।

स्रोत : CNBC

 

यसमा तपाईको मत