ग्याजेट विशेष

विन्डोज फोनमा अब फेसबुक र मेसेन्जर एप डाउनलोड गर्न नमिल्ने

  नागरिक   2019-06-30

माइक्रोसफ्टको हालै सपोर्ट बन्द गरिएको स्मार्टफोन अपरेटिंग सिस्टम - विन्डोज फोनमा संसार कै सबैभन्दा प्रचलित सामाजिक संजाल फेसबुक र फेसबुक मेसेन्जरका एपहरू आजको मितिबाट डाउनलोड गर्न र प्रयोग गर्न नमिल्ने भएको छ । विन्डोज फोन ८ को स्टोरबाट फसबुक र फेस्बुक मेसेन्जरको एपहरू हटाइएको हो । एक महिना अगाडी फेसबुकले आफ्नो इन्स्टाग्राम एपलाई पनि विन्डोज फोनमा नचल्ने बनाएको थियो । सोहि बेला नै जुलाई १ २०१९ बाट विन्डोज फोनमा फेसबुक र फेसबुक मेसेन्जरका एपहरू नचल्ने कुराको जानकारी फेसबुकले प्रदान गरेको थियो ।

विन्डोज फोन प्रयोगकर्ताहरूले फेसबुक चलाउनका लागि फेसबुकको वेबसाइटमा जान सक्नेछन् । फेसबुक मेसेन्जर भने ब्राउजरबाट चलाउन नमिल्ने भएकाले आज देखि विन्डोज फोनमा फेसबुक मार्फत मेसेज पठाउन र पाउन नमिल्ने भएको छ । इन्स्टाग्राम प्रयोगकर्ताहरूले चाहिँ इन्स्टाग्राम कै वेबसाइटबाट इन्स्टाग्राम चलाउन सक्नेछन् ।

माइक्रोसफ्टका अनुसार हालै प्रयोगमा आएका कुनै पनि विन्डोज फोन / विन्डोज मोबाइलले सन् २०१९ डिसेम्बर १० पछि कुनै पनि किसिमको सफ्टवेयर सपोर्ट पाउनेछैन । विन्डोज टेन मोबाइलका लागि माइक्रोसफ्टले सन् २०१७ को अक्टोबरमा भर्सन १७०९ रिलिज गरेको थियो जुन नै फिचर अपडेटमा आधारमा विन्डोज मोबाइलका लागि अन्तिम अपडेट थियो ।

विन्डोज फोनलाई लन्च हुने बेलामा आइफोन र एन्ड्रोइडको प्रतिस्पर्धी मानिएको थियो । फिनल्याण्डको निकै प्रचलित कम्पनी नोकियाले विन्डोज फोन मात्र रिलिज गर्ने भएपछि विन्डोज फोनको चर्चा बढ्दै गएको थियो । तर विन्डोज फोन र लुमियाले बजारमा सोचे जस्तो ख्याती कमाउन सकेन । जसको मुख्य कारण थियो विन्डोज फोनमा भएको एप ग्याप अर्थात् एन्ड्रोइड र आइफोनमा उपलब्ध भएका अधिकांस एपहरु विन्डोज फोनमा उपलब्ध थिएन । माइक्रोसफ्टको उच्च पहल पछि पनि विन्डोज फोन र पछि नाम परिवर्तन गरि विन्डोज मोबाइल १० ले बजार लिन सकेन र अन्ततः माइक्रोसफ्टको विन्डोज फोनको अन्त्य हुने निश्चित भयो ।

 

यसमा तपाईको मत