ग्याजेट विशेष

फेसबुकले पनि लाइक संख्या लुकाउन सक्ने

  नागरिक   2019-09-05

संसार कै सबैभन्दा ठूलो सामाजिक संजाल फेसबुकले प्रयोगकर्ताको फोटो, भिडियो र पोस्टहरूमा आएको लाइकको संख्यालाई लुकाउन सक्ने कुराको संकेत फेसबुकको रिलिज नभएको एपको कोडमा भेटिएको छ । यसबाट प्रयोगकर्ताले कुनै पनि अन्य प्रयोगकर्ताको पोस्ट, भिडियो र फोटोमा कतिवटा लाइक वा प्रतिक्रियाहरू आयो भनेर एकै झलकमा हेर्न र थाह पाउन सक्ने छैनन् ।

लाइक र प्रतिक्रिया लुकाउनका लागि लेखिएको कोड भेटीए पनि उक्त कोड भने अहिलेको फेसबुक एपमा सुचारु गरिएको छैन । र, यस फिचर कहिलेबाट सुचारु हुन्छ भन्ने कुराको पनि हालमा केही जानकारी छैन ।

सन् २०१४ को अध्ययनहरूबाट नै फेसबुक र फेसबुक जस्ता अन्य सामाजिक संजालले मानवको मानसिक स्वास्थ्यमा असर गर्ने कुराको निष्कर्ष अनुसन्धानकर्ताहरूले निकाल्दै आएका थिए । सामाजिक संजाल र सामाजिक संजालसँग सम्बन्धित मानसिक स्वास्थ्यको विषयलाई नै मध्यनजर गर्दै फेसबुकले आफ्नो मुख्य प्ल्याटफर्मबाट नै लाइकको संख्या लुकाउने फिचरलाई प्रयोग गर्न लागेको कुरा एलेन पाओले ट्वीटर मार्फत बताएकी छिन् ।

फेसबुकको रिलिज नभएको एपमा लाइक हटाउने फिचर सम्बन्धित कोड भेटाएकी जेन वोंगले पनि एक लेख मार्फत फेसबुकमा लाइक हटाउने फिचर निकै हितकारी हुने धारणा व्यक्त गरेकी छिन् ।

फेसबुक कै स्वामित्वमा रहेको इन्स्टाग्रामले गत केहि महिना देखि सातवटा देशमा लाइकको संख्या लुकाउने फिचरको परिक्षण गरिरहेको छ । उक्त देशहरूमा अष्ट्रेलिया, जापान, क्यानडा, आयरल्याण्ड, इटाली, ब्राजिल र न्यूजिल्याण्ड पर्छन ।

फेसबुकमा पनि लाइक र प्रतिक्रिया हटाउने फिचर एकै पटकमा सबै प्रयोगकर्ता माझ पक्कै पनि देखा पर्ने छैन । इन्स्टाग्राममा गरिए जस्तै फेसबुकमा पनि केही सिमित स्थानमा मात्र यस फिचरको परिक्षण गर्न सकिनेछ ।

इन्स्टाग्राममा गरिएको लाइक संख्या लुकाउने परिक्षणको नतिजा हालका लागि फेसबुकले सार्वजनिक गरेको छैन । इन्स्टाग्राम मै पनि विश्वव्यापीरूपमा उक्त फिचर कहिले रिलिज हुने हो भन्ने कुराको जानकारी पनि फेसबुकले प्रदान गरेको छैन ।

स्रोत : बिबिसी

यसमा तपाईको मत