ग्याजेट विशेष

फेसबुक कर्मचारीहरूको तलब विवरण नै चोरी भएपछि !

  नागरिक   2019-12-15

करिब २९ हजारजना फेसबुक कर्मचारीहरूको गोप्य राखिनु पर्ने तलब विवरण नै चोरी भएको छ । पार्किंग क्षेत्रमा राखिएको एक फेसबुक कर्मचारीको गाडीमा भएको २९ हजारजना फेसबुक कर्मचारीको तलब विवरण सहितको हार्ड डिस्क चोरी भएको हो । उक्त चोरीको घटना गत महिना अर्थात् नोभेम्बरको १७ तारिखमा भएको थियो ।

चोरी भएको तीन दिनपछि मात्र फेसबुकले हार्डडिस्क हराएको कुराको जानकारी पाएको थियो । नोभेम्बर २९ मा आएर मात्र फेसबुकले उक्त हार्ड डिस्कमा कर्मचारीहरूको तलब विवरण रहेको निष्कर्ष निकालेको  थियो ।

चोरी भएको हार्ड डिस्कमा रहेका विवरणहरूमा कुनै पनि प्रकारको सुरक्षा विधि अपनाइएको थिएन । यसर्थ, सो हार्ड डिस्कका फाइलहरूलिई इन्क्रिप्ट गरिएको थिएन । जसले गर्दा चोरी गर्ने व्यक्ति वा समूहलेल २९ हजार फेसबुक कर्मचारीको तलब विवरण हेर्न र पढ्न पाएका छन् ।

हार्ड डिस्कमा फेसबुक कर्मचारीको नाम, बैंक सम्बन्धित जानकारी, तलबको जानकारी, बोनसको विवरण जस्ता गोप्य जानकारीहरू थिए ।

चोरी भएको हार्ड डिस्क हालसम्म नभेटिए पनि अहिलेसम्म त्यहाँ भएका जानकारीहरू दुरुपयोगको कुनै पनि जानकारी आएको छैन । तर उक्त डेटाहरू जुन सुकै समयमा पनि अनलाइन लिक हुन सक्ने सम्भावना रहेको छ ।

फेसबुकका अनुसार कर्मचारीले कर्मचारी विवरण भएको हार्ड डिस्क आफूसँग लैजान नमिल्ने थियो । कम्पनीको नियम तोडे पछि फेसबुकले सम्बन्धित कर्मचारीलाई आवश्यक पर्ने कारबाही गरिसकेको छ । तर उक्त कर्मचारीलाई कस्तो कारबाही गरियो भन्ने जानकारी फेसबुकले सार्वजनिक गरेको छैन ।

स्रोत : Engadget

 

यसमा तपाईको मत