ग्याजेट विशेष

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

  नागरिक   2019-10-20

प्रयोगकर्ताको अनुहारको डेटा अनधिकृत रुपमा अनुहार पहिचान गर्ने प्रविधिमा प्रयोग गरिएको विषयमा फेसबुकलाई ३५ अर्ब अमेरिकी डलरसम्म जरिवाना लाग्न सक्ने भएको छ । जसलाई नेरुमा रुपान्तरण गर्दा लगभग ४० खर्ब हुन जान्छ । तुलनाका लागि नेपालको २०७६/७७ सालको बजेट नै केवल नेरु १५ खर्ब ३२ अर्बको रहेको छ ।

अमेरिकाको इलिनोइस राज्यमा ७० लाखजना प्रयोगकर्ताहरूको अनुहारको डेटा फेसबुकले स्वीकृति बिना नै आफ्नो अनुहार पहिचान गर्ने प्रविधिको विकासका लागि प्रयोग गरेको भेटिएको छ । डेटा दुरुपयोग गरिएको हरेक प्रयोगकर्ताको लागि फेसबुकले १ हजार डलर देखि ५ हजार डलरसम्म जरिवाना तिर्नु पर्ने हुनसक्छ - हरेक प्रयोगकर्ताले ५ हजार डलर पाएको खण्डमा कुल जरिवाना ३५ अर्ब अमेरिकी डलर हुन सक्नेछ ।

सन् २०११ बाट नै सुरु गरिएको अनुहार पहिचान र ट्याग गर्ने प्रविधिमा फेसबुकले प्रयोगकर्ताबाट कुनै पनि प्रकारको अनुमति नलिएको र उक्त तस्विर कति लामो समयका लागि प्रयोग हुने भनेर उल्लेख नगरिएको भेटिएको छ ।

फेसबुकले सन् २०११ बाट नै अपलोड गरिएका फोटोहरूमा भएका व्यक्तिहरूलाई अटोमेटिक ट्याग गर्ने फिचर ल्याएको थियो । यही फिचरले नै प्रयोगकर्ताको गोपनीयता हनन गरेको निष्कर्ष इलिनोइस राज्यका न्यायिक समितिले निकालेको छ ।

अमेरिकी सर्वोच्च अदालतले बीचमा नरोकेको खण्डमा फेसबुकलाई कानुनी सोधपुछका लागि लगिने छ । अपिललाई सान फ्रान्सिस्कोको न्यायाधीशहरुले अस्विकार गरेपछि फेसबुकबाट कानुनी सोधपुछका लागि जाने भएको हो ।

फेसबुकले सधैं प्रयोगकर्ताको अनुमती लिएर नै अनुहार पहिचान गर्ने प्रविधिको विकास गरेको दाबी फेसबुकले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ र फेसबुकको ब्राण्ड मूल्यलाई पनि ठूलो असर गर्नेछ । फेसबुकले हालै FTC लाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने भएको थियो जुन अहिलेसम्म कै सबैभन्दा ठूलो जरिवाना रकम हो ।

 

 

यसमा तपाईको मत