ग्याजेट विशेष

माइक्रोसफ्ट विन्डोज मोबाइलको आधिकारिक अन्त्य

  नागरिक   2019-01-22

माइक्रोसफ्टको स्मार्टफोन अपरेटिंग सिस्टम - विन्डोज फोनको लागि अपडेटहरु यो वर्षको डिसेम्बर १० मा सकिने निश्चित भएको छ । यो कुराको जानकारी माइक्रोसफ्टले आफ्नो फ्रिक्वेन्टली आस्कड क्वेसन्स मार्फत प्रयोगकर्तालाई दिएको छ । नेपाली बजारमा विन्डोज फोनलाई मुख्यतः “लुमिया” भनेर चिनिने गर्दछ । तपाईं पनि नोकिया लुमिया वा माइक्रोसफ्ट लुमियाको प्रयोगकर्ता हो भने एन्ड्रोइड वा आइफोनमा स्विच गर्ने बेला आएको छ ।

यसर्थ हालै प्रयोगमा आएका कुनै पनि विन्डोज फोन / विन्डोज मोबाइलले सन् २०१९ डिसेम्बर १० पछि कुनै पनि किसिमको सफ्टवेयर सपोर्ट पाउनेछैन । विन्डोज टेन मोबाइलका लागि माइक्रोसफ्टले सन् २०१७ को अक्टोबरमा भर्सन १७०९ रिलिज गरेको थियो जुन नै फिचर अपडेटमा आधारमा विन्डोज मोबाइलका लागि अन्तिम अपडेट थियो ।

यसबाट कुनै पनि समयमा रिलिज भएका पुराना र नयाँ विन्डोज मोबाइल १० र विन्डोज फोन ८.१ चलेका स्मार्टफोनहरु प्रभावित हुनेछन् । यससंगै माइक्रोसफ्टले विन्डोज फोन अथवा विन्डोज प्रयोगकर्तालाई यो वर्षको अन्तिम भित्रमा iOS वा एन्ड्रोइड स्मार्टफोनमा “स्विच” गर्न आग्रह गरेको छ ।

सफ्टवेयर सपोर्ट डिसेम्बर १० मै सकिए पनि ब्याक अप गरिएका फाइल र फोटोहरु चाहिँ प्रयोगकर्तालाई सन् २०२० को मार्च १० सम्ममा उपलब्ध गराइनेछ । माइक्रोसफ्टले जुलाई ११, २०१७ मै विन्डोज फोन ८.१ को सपोर्ट अन्त्य गरेको थियो ।

विन्डोज फोनलाई लन्च हुने बेलामा आइफोन र एन्ड्रोइडको प्रतिस्पर्धी मानिएको थियो । फिनल्याण्डको निकै प्रचलित कम्पनी नोकियाले विन्डोज फोन मात्र रिलिज गर्ने भएपछि विन्डोज फोनको चर्चा बढ्दै गएको थियो । तर विन्डोज फोन र लुमियाले बजारमा सोचे जस्तो ख्याती कमाउन सकेन । जसको मुख्य कारण थियो विन्डोज फोनमा भएको एप ग्याप अर्थात् एन्ड्रोइड र आइफोनमा उपलब्ध भएका अधिकांस एपहरु विन्डोज फोनमा उपलब्ध थिएन । माइक्रोसफ्टको उच्च पहल पछि पनि विन्डोज फोन र पछि नाम परिवर्तन गरि विन्डोज मोबाइल १० ले बजार लिन सकेन र अन्ततः माइक्रोसफ्टको विन्डोज फोनको अन्त्य हुने निश्चित भयो ।

 

 

 

 

यसमा तपाईको मत