ग्याजेट विशेष

आज ब्ल्याक्बेरी मेसेन्जरको अन्तिम दिन

  नागरिक   2019-06-01

एक दशक अगाडीको निकै प्रचलित र ख्याती कमाएको ब्य्लाक्बेरी स्मार्टफोनको मुख्य आकर्षण पनि रहेको ब्ल्याक्बेरी मेसेन्जरले आजको दिन देखि काम गर्न बन्द गर्नेछ । ब्ल्याक्बेरीको स्मार्टफोनहरूको बिक्री घट्दै गएपछि र फेसबुक मेसेन्जर, व्हाट्सएप, स्ल्याक, भाइबर र अन्य विभिन्न मेसेजिंग च्याट एप्सको प्रयोग बढ्दै गएपछि ब्ल्याक्बेरीले प्रयोगकर्ताहरूको लागि ब्ल्याक्बेरी मेसेन्जर बन्द गर्ने भएको हो । यसर्थ आजको मिती अर्थात् जुन १ २०१९ देखि ब्ल्याक्बेरी मेसेन्जरको प्रयोगकर्ताहरूले यस मेसेन्जर च्याट एपको प्रयोग गर्न पाउने छैनन् ।

 

सन् २००५ मा रिलिज भएको र ब्ल्याक्बेरी स्मार्टफोनमा र ब्ल्याक्बेरी स्मार्टफोनमा मात्र इन्स्टल भएर आउने ब्ल्याकेबेरी मेसेन्जर बिगतको दशकको सबैभन्दा प्रचलित इन्सट्यान्ट मेसेन्जर एप थियो । यहि ब्ल्याक्बेरी मेसेज्नरको कारणले पनि ब्ल्याक्बेरीले लाखौ ब्ल्याक्बेरी बोल्ड र ब्ल्याक्बेरी टर्च  स्मार्टफोनहरू बिक्री गर्न सफल भएको थियो । ब्ल्याक्बेरी मेसेन्जरले त्यो समयमा कम्प्युटरमा मात्र गर्न सम्भव हुने इन्सट्यान्ट मेसेजिंगलाई स्मार्टफोनमा ल्याउन सकेर क्रान्ति फैलाएको थियो ।

 

ब्ल्याक्बेरी मेसेन्जर प्रयोगकर्ताको पिन नम्बरको आधारमा काम गर्ने गर्दथ्यो । आफूलाई एड गर्न मन लागेको प्रयोगकर्तासँग पिन नम्बर साटासाट गर्नु पर्ने हुन्थ्यो । यसले गर्दा यो मेसेन्जर एपलाई निकै सुरक्षित र स्प्याम रहित मानिन्थ्यो । जसले गर्दा यस मेसेन्जर एप ठूला ठूला कम्पनी देखि सरकारी कामकाजसम्मका लागि प्रयोग गर्न थालियो । तर एप्पलले सन् २००७ मा आइफोन रिलिज गरेसँगै बजारमा किबोर्ड भएको स्मार्टफोनको माग घट्दै गयो र ब्ल्याक्बेरीले सोचेजस्तो मात्रमा स्मार्टफोनहरू बिक्री गर्न सकेन र ब्ल्याक्बेरी मेसेन्जरको प्रयोगकर्ता घट्दै गयो ।

 

सन् २०१३ मा ब्ल्याक्बेरी मेसेन्जरमा मासिक ६ करोड प्रयोगकर्ताहरू थिए । एन्ड्रोइड, आइफोन र विन्डोज फोनका लागि पनि ब्ल्याक्बेरी मेसेन्जर रिलिज गरिएको थियो तर उक्त एपले अन्य मेसेन्जर एपहरूले जस्तो ख्याती कमाउन सकेन । प्रयोगबकर्ता घट्दै गएपछि ब्ल्याक्बेरीले अन्ततः ब्ल्याकेबेरी मेसेन्जरलाई सधैका लागि बन्द गर्ने भएको हो । सन २००५ मा रिलिज भएर स्मार्टफोनमा इन्सट्यान्ट मेसेजिंगलाई भित्र्याउने मेसेन्जर एप आज सबै प्रयोगकर्ताहरूका लागि बन्द हुँदैछ ।

 

व्यवसायीहरूले प्रयोग गर्ने ब्ल्याक्बेरी मेसेन्जर इन्टरप्राइज संस्करण भने हाल संचालनमा रहिरहने छ । तर प्रयोगकर्ता घट्दै गएपछि यो संस्करण पनि बन्द नहोला भन्न सकिन्न ।





 

यसमा तपाईको मत