ग्याजेट विशेष

आइफोन र ग्यालेक्सीहरूमा ब्याट्री बचत गर्ने सबैभन्दा सजिलो उपाय

  नागरिक   2019-11-24

तपाईंले आइफोन X वा नयाँ एमोलेड डिस्प्ले प्रयोग गरिएको आइफोनहरू प्रयोग गर्नु हुन्छ वा सुपर एमोलेड डिस्प्ले प्रयोग भएको सामसंग ग्यालेक्सी लगायतका जुन कुनै एमोलेड डिस्प्ले भएको स्मार्टफोन प्रयोग गर्नु हुन्छ भने ब्याट्री बचत गर्नका लागि एउटा सानो फिचर सुचारु गरे मात्र हुन्छ । उक्त फिचर हो डार्क मोड । डार्क मोडले  एमोलेड डिस्प्ले भएको स्मार्टफोनको ब्याट्री धेरै हदसम्म बचत  गर्छ ।

सामसंग र वानप्लस, साओमी, हुवावे आदि जस्ता निर्माताहरूले आफ्नो स्मार्टफोनहरूमा धेरै अगाडी देखि उपलब्ध गराउंदै आएको डार्क मोड iOS १३ को रिलिज सँगै एप्पलले पनि आफ्नो आइफोनहरूमा उपलब्ध गराउन थालेको छ ।

डार्क मोड सुचारु गरेपछि अपरेटिंग सिस्टमको सम्पूर्ण ब्याकग्राउण्डको रंग कालो हुन्छ र अक्षरहरू सेतो रंगको हुन्छ । डार्क मोडलाई रातिको समयमा प्रयोग गर्दा आखाँलाई सजिलो हुनुका साथै ब्याट्रीको पनि बचत हुन्छ ।

आइफोन ११ प्रोमा डार्क मोड सुचारु गरेर चलाउँदा उक्त आइफोनको ब्याट्री लाइफ लगभग १ घण्टाले बढेको कुरा एक युट्युबको भिडियोमा देखाइएको छ ।

डार्क मोड सुचारु गर्नका लागि आइफोन प्रयोग कर्ताले Settings > Display & Brightness > Appearance मा गएर Dark विकल्पलाई चयन गर्न सक्नेछन् ।

यसै गरेर सामसंग र अन्य एन्ड्रोइड स्मार्टफोनहरूमा डार्क मोड सुचारु गर्ने सेटिंग Settings को Display मेनु भित्र राखिएको हुन्छ ।

डार्क मोड सुचारु गर्दा ब्याट्री लाइफको बचत भने केवल एमोलेड डिस्प्ले भएको स्मार्टफोनहरूमा मात्र हुन्छ । एलसीडी डिस्प्ले भएको स्मार्टफोनहरूमा डार्क मोड अन गर्दा ब्याट्री लाइफमा कुनै प्रकारको परिवर्तन ल्याउदैन । आइफोन टेन आर र साधारण आइफोन ११ मा पनि एलसीडी डिस्प्लेको प्रयोग गरिएको छ । यी आइफोन वा पुराना आइफोनहरूमा डार्क मोड सुचारु गरेर ब्याट्रीको बचत भने हुँदैन ।

 

 

 

यसमा तपाईको मत