ग्याजेट विशेष

डिस्प्ले भित्र नै सेल्फी क्यामरा

  नागरिक   2019-06-04

स्मार्टफोनको डिस्प्लेलाई सकेसम्म बेजल रहित बनाउने चक्करमा इसेन्सियल कम्पनीले आफ्नो स्मार्टफोनमा नचलाई समावेश गरेको थियो । यसैको देखासिकी गर्दै एप्पल लगायत लगभग सबै स्मार्टफोन निर्माताले आफ्नो स्मार्टफोनमा नचलाई समावेश गरे । नचले डिस्प्लेको केहि भाग कब्जा गर्ने र नच भएको स्मार्टफोन हेर्दामा खासै आकर्षक नदेखिने भएकाले फुल स्क्रिन डिस्प्ले भएको स्मार्टफोन बनाउने चक्करमा स्मार्टफोन निर्माताले सेल्फी क्यामरालाई मोटरबाट चल्ने स्लाइडरमा पनि राखे । तर अप्पो र सायोमीले अब डिस्प्ले भित्र नै सेल्फी क्यामरालाई राखिएको स्मार्टफोन रिलिज गर्ने भएका छन् जसबाट एउटा अनुपम फुल स्क्रिन डिस्प्ले भएको स्मार्टफोन सिर्जना हुनेछ ।

चाइनिज कम्पनी अप्पोको भीपी ब्रायन सेनले भिडियो मार्फत अप्पोको एक स्मार्टफोनमा डिस्प्ले भित्र नै सेल्फी क्यामरा भएको कुरा सार्वजनिक गरेका छन् । उक्त भिडियो केवल १५ सेकेन्डको छ र ट्वीटरमा पोस्ट गरिएको छ । उक्त १५ सेकेन्डको छोटो भिडियोमा अप्पोको नाम नखुलेको स्मार्टफोनमा सेल्फी क्यामरा लन्च गरिएको देखाइएको छ । क्यामरा लन्च गर्नु अगाडी कहाँनेर सेल्फी क्यामरा छ भनेर ठम्याउन अलि गाह्रो नै पर्छ तर क्यामरा लन्च भएपछि उक्त सेल्फी क्यामरामा सानो लाइटको रिंग देखिन्छ जसबाट त्यहाँ डिस्प्ले भित्र  लुकेको क्यामराको झलक पाउन सकिन्छ । यस स्मार्टफोनको मोडल के हो, अन्य के कस्ता विशेषता छन् र  कहाँ र कहिले लन्च हुन्छ भन्ने कुराको केही पनि टुंगो छैन ।


अप्पोले डिस्प्ले भित्र नै सेल्फी क्यामराको भिडियो सार्वजनिक गरेको केही घण्टा  मै सायोमीले पनि आफ्नो स्मार्टफोनलाई देखाएको छ जसमा अप्पोको जस्तै डिस्प्ले भित्र नै सेल्फी क्यामरा रहेको छ । सायोमीली रिलिज गरको भिडियो पनि ठीक १५ सेकेन्डको छ । सायोमीका अनुसार सायोमीले डिस्प्ले भित्र नै ५ देखि २० मेगापिक्सलसम्मका सेल्फी क्यमराहरू इन्स्टल गर्न सक्नेछ । सायोमीले पनि भिडियोमा देखाइएको स्मार्टफोन कुन मोडल हो र उक्त स्मार्टफोन कहिले रिलिज हुन्छ भन्ने कुराको केही पनि जानकारी दिएको छैन ।

 

यसमा तपाईको मत