ग्याजेट विशेष

अप्पोले ल्यायो सिम र वाइफाई बिना कल गर्न मिल्ने प्रविधि

  नागरिक   2019-06-27

चाइनिज कम्पनी अप्पोले बिना वाइफाई र सिमको प्रयोगबाट कल गर्न मिल्ने नयाँ प्रविधि ल्याउने भएको छ ।  यस प्रविधिबाट वाइफाई, ब्लुतुथ र सिमको सेलुलर कनेक्सन बिना नै एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तासँग कुराकानी गर्न सक्नेछन् । यस प्रविधिलाई अप्पोले मेसटक नाम दिएको छ ।

मेसटकको प्रयोगबाट अप्पो स्मार्टफोन प्रयोग गर्ने एक प्रयोगकर्ताले अप्पो स्मार्टफोन प्रयोग गर्ने अर्को प्रयोगकर्तासँग नि:शुल्क र सुरक्षित रुपमा कुराकानी गर्न सक्नेछन् । कम्पनीका अनुसार ३ किलोमिटर बीचको दुरीमा रहेको दुई अप्पो स्मार्टफोनका प्रयोगकर्ताले एक आपसमा कुराकानी गर्न सक्षम हुनेछन् । यस प्रविधिलाई धेरै भिड वा वातवरणका कुनै पनि तत्वले केही प्रकारको असर नगर्ने दाबी पनि अप्पोले गरेको छ ।

यस प्रविधि संचालनका लागि अप्पोको स्मार्टफोनले एड हक (Ad-Hoc) नेटवर्क संचालनमा ल्याउने छ जसको सहायताबाट अप्पोका स्मार्टफोनहरू एक आपसमा कुराकानी गर्न सक्नेछन् । यसै कारणले गर्दा मेसटक प्रविधिको प्रयोगका लागि कुनै पनि बेस स्टेशनको आवश्यकता पर्दैन । यस प्रविधिले स्मार्टफोनको ब्याट्री प्रयोग आयुमा कुनै पनि प्रकारको असर नगर्ने दाबी अप्पोले गरेको छ  । कम्पनीका अनुसार यस प्रविधि संचालनमा भए पनि स्मार्टफोनले ७२ घण्टा सम्म स्ट्यान्ड बाइ समय प्रदान गर्न सक्नेछन्।

यस प्रविधिले नेटवर्क र इन्टरनेटको पहुँच नभएको स्थानमा प्रयोगकर्तालाई एकआपससँग कुराकानी गर्न सहयोग पुर्याउने दाबी अप्पोले गरेको छ । यस प्रविधिलाई विदेशी एयरपोर्ट, कन्सर्ट, भिडभाड ठाउँ र थुप्रै नयाँ स्थानमा प्रयोग गर्न सकिने कुराको जानकारी अप्पोले प्रदान गरेको छ ।

यस प्रविधि हालै संचालनमा रहेका अप्पो स्मार्टफोनहरूले प्रयोग गर्न पाउने छन् कि छैनन् भन्ने कुराको केही जानकारी आएको छैन । यस प्रविधिको लन्च मिति पनि हालै सार्वजनिक गरिएको छैन । तर , अप्पोले यस फिचरको डेमो भने अहिले चिनको सांघाईमा भएको MWC मा देखाएको छ ।  

 

 

यसमा तपाईको मत