ग्याजेट विशेष

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

  नागरिक   2019-01-08

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ   ।


१ . बजेट

      स्मार्टफोन किन्नु भन्दा पहिले त तपाईंले अनुकूल बजेट छुट्टाउनु आवश्यक छ।

कति सम्मको स्मार्टफोन फोन किन्दा ठीक होला त? तपाईंले आवश्यकभन्दा बढी पैसा खर्च गर्दै त हुनुहुन्न? महँगो फोनमा भएको सबै फिचरहरु प्रयोग गर्नुहोला त? एकपटक बिचार गर्नुहोस् ।

तपाईंको बजेट ५००० होस् या १०००००, नेपाली बजारमा सबै मुल्यका र सबै किसिमका स्मार्टफोन फोनहरु पाईन्छन । नयाँ र फ्लागसिप स्मार्टफोनहरु महँगो र धेरै सुविधा सम्पन्न हुने गर्दछन तर तपाईंलाई उक्त महँगो फोनमा भएका सबै कुराहरु काम नलाग्न सक्छ  ।

सायोमी, हुवावे, अप्पो आदि जस्ता चाइनिज कम्पनीले थोरै मुल्यमा पनि राम्रो र धेरै फिचर भएका स्मार्टफोनहरु बजारमा उपलब्ध गराएका छन् । तपाईंको आवश्यकता १५-२० हजारको स्मार्टफोनले नै पुरा गर्छ भने प्रयोग नहुने फिचरका लागि भनेर बढी पैसा खर्च गर्नु उचित नहुन सक्छ।


२. ओपरेटिङ्ग सिस्टम  (Operating System)
 
    आइफोन को सरलता कि एन्ड्रोइडको सहजता ?

तपाईं आज स्मार्टफोन खरिद गर्न जानुहुन्छ भने तपाईंसँग मुख्यत: २ वटा विकल्प छन् , आइ-ओएस (iOS) र एन्ड्रोइड(Android) । आइफोनमा आइ-ओएस हुन्छ भने बाँकी मुख्य कम्पनीका स्मार्टफोनहरुमा Android हुने गर्दछ । iOS को नयाँ संस्करण iOS 12 हो भने एन्ड्रोइड  को नयाँ संस्करण Android 9 (Pie) हो । एप्पलले आइफोन रिलिज भएको ४ बर्षसम्म सफ्टवेयर अपडेट दिने गर्दछ तर एन्ड्रोइड  मा भने अपडेट ढिलो प्रदान हुने र बजेट स्मार्टफोनहरुले अपडेट नै नपाउने समस्या छ । यो समस्यालाई चाहिँ गुगलले आफ्नो एन्ड्रोइड वान प्रोग्राम मार्फत समाधान गर्न खोज्दै छ |
     
“आइफोन प्रयोग गर्न सजिलो तर खरिद गर्दा महँगो हुन्छ”

“एन्ड्रोइडमा विकल्प धेरै छ र आफूले चाहे जस्तै स्मार्टफोन किन्न सकिन्छ”


यदि तपाईंको बजेट औसतभन्दा माथि छ र तपाईंलाई भरपर्दो र धेरै टिक्ने स्मार्टफोन फोन चाहिएको छ भने निर्धक्क साथ आइफोन लिनुहोस् । तर यदि तपाईंलाई नयाँ र धेरै फिचरहरु चाहिएको छ र तपाईंलाई ढिलो अपडेटले फरक पर्दैन भने आफ्नो बजेट अनुकुल एन्ड्रोइड  फोन लिनु राम्रो हुन्छ ।

 

३. क्यामरा

    स्मार्टफोनको आगमनसँगै डिजिटल क्यामराहरु हराउदै गए र आज डिजिटल क्यामराभन्दा बढी स्मार्टफोनको क्यामराबाट फोटो खिचिन्छ । स्मार्टफोन खरिद गरेपछी तपाईंले फोटो खिच्ने र सेल्फी लिने सोच त पक्कै पनि बनाउनु भएको होला र याद राख्नुहोस्, फोटो राम्रो आउनका लागि तपाईंको फोनको क्यामरा राम्रो हुनुपर्छ , मेगापिक्सल धेरै भएर हुँदैन  ।  

मेगापिक्सलको पछाडि नलागौं !!!

मेगापिक्सल धेरै हुँदैमा फोटो राम्रो आउने होइन । फोटोको गुणस्तर क्यामराको लेन्स क्वालिटि, सेन्सर बनोट र सफ्टवेयरमा निर्भर हुन्छ । अत: स्मार्टफोन फोन किन्नु अगाडि नै क्यामरा क्वालिटि चेक जाचँ गरी लिनु राम्रो हुन्छ। सिंगल क्यामराभन्दा डबल क्यामरा भएको स्मार्टफोनले अलिक राम्रो तस्बिर खिच्न सक्ने र थप फिचर – जस्तै व्होके इफेक्ट, ब्लर आदि- हरु पनि हुने भएकाले यसको चर्चा बढ्दै गएको छ  | आज भोलि मिडरेन्ज स्मार्टफोनमा पनि दुईवटा क्यामरा भेटिन थालेको छ |

स्मार्टफोनको क्यामराले फोटो मात्र नभइ, भिडियो पनि खिच्दछ । भिडियोको गुणस्तर चाँही रिजोलुसनमा (Resolution) मापन गरिन्छ । मुख्यत स्मार्टफोन क्यामराहरुले 1080p भिडियो खिच्ने गर्छन तर नयाँ स्मार्टफोनहरुले त्यो भन्दा बढी रिजोलुसन, जस्तै 1440p, 2160p मा, भिडियो खिच्न सक्छन । कुनै कुनै प्रिमियम स्मार्टफोनले स्लो मोसन (Slow Motion) भिडियो पनि खिच्न सक्छ । यी सबै बिशेषता तपाईंलाई आवश्यक छ या छैन, यो चाँही तपाईंको आफ्नै रोजाइको बिषय हो ।


४. ब्याट्री

स्मार्टफोनको मज्जा स्मार्टफोन चलाउनुमा छ, दिन मै  पटक पटक चार्ज गर्नुमा होइन ।

तपाईंको स्मार्टफोनको कम्तीमा पनि एक दिन पुरै टिक्नुपर्छ । विहान एक पटक चार्ज गरिसके पछी फेरि मध्यदिनमै चार्ज गर्नुपर्ने खालको स्मार्टफोन बाट टाढा रहनुहोस् । स्मार्टफोनको ब्याट्री लाईफ ब्याट्रीको साइजमा मात्र निर्भर नभइ ओपरेटिङ्ग सिस्टम, डिस्प्ले क्वालिटी, हालै संचालनमा रहेको एप र थुप्रै अरु कारकहरुमा निर्भर हुन्छ । कुनै कुनै स्मार्टफोनको ब्याट्री निकाल्न पनि मिल्छ तर त्यस्तो स्मार्टफोन २०१६ यता लोप हुँदै गएकाछन् । त्यसैले स्मार्टफोन खरिद गर्नु अगाडि नै सो स्मार्टफोनको ब्याट्री लाईफ र ब्याट्री साइजको बारेमा बुझ्नुपर्छ ।

सामसंग ग्यालेक्सी एस ९ , वानप्लस 6T , हुवावे पी २० जस्ता स्मार्टफोनहरुले छिट्टै चार्ज हुने फिचर अर्थात क्विक चार्ज (Quick Charge) सपोर्ट गर्छन जसबाट स्मार्टफोन आधा घण्टामा ६०% सम्म चार्ज हुन्छ । एप्पल आइफोनमा भने फास्ट चार्जका लागि छुट्टै चार्जर किन्नु पर्ने हुन्छ | थुप्रै मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनमा पनि फास्ट चार्जको विशेषताहरु आएको छ |
    


५. स्टोरेज, मेमोरी र प्रोसेसर  

        मेमोरी कार्ड लाग्नेमा न्यूनतम ३२ GB र मेमोरी कार्ड नलाग्नेमा न्यूनतम ६४ GB आन्तरिक स्टोरेज भएको स्मार्टफोन  किन्नु उचित हुन्छ ।

स्टोरज भन्नाले स्मार्टफोनको भन्डारण क्षमतालाई जनाउछ । स्मार्टफोनको स्टोरज जति धेरै भयो तपाईंले तेती नै धेरै एप, गीत, भिडियो, गेम, फोटो आदी राख्न सक्नुहुन्छ। कुनै स्मार्टफोनमा मेमोरी कार्डबाट स्टोरेज बढाउन मिल्छ, कुनैमा मिल्दैन । सामसुङका धेरैजसो सबै फोनमा मेमोरी कार्ड हाल्न मिल्छ भने एप्पल र गूगलको कुनै पनि फोनमा मेमोरी कार्ड लाग्दैन । मेमोरी कार्ड नलाग्ने स्मार्टफोन खरिद गर्दा सुरु मै आफूलाई आवश्यक पर्ने जति स्टोरेज भएको मोडेल लिनु पर्छ। धेरै स्टोरेज भएको फोन केही हदसम्म महँगो पनि हुन्छ ।


        धेरै प्रयोगकर्तालाई स्मार्टफोनमा ३ GB र्‍याम (RAM) नै काफी छ तर बजारमा ८ GB र्‍याम भएका स्मार्टफोनहरु पनि उपलब्ध  छन्  ।

सिस्टम मेमोरी भन्नाले RAM लाई बुझिन्छ  । जति धेरै RAM , त्यती नै धेरै एपहरु ब्याकग्राउन्डमा स्मार्टफोनलाई स्लो नबनाइ चल्न सक्छ । आजको दिनमा ३ GB वा सो भन्दा बढी RAM भएको स्मार्टफोन किन्नु राम्रो हुन्छ ।

        प्रोसेसर स्मार्टफोनको मस्तिष्क हो  !!!

स्मार्टफोनको काम, चाहे भिडियो हेर्ने होस् या गेम खेल्ने, सबै प्रोसेसरले नै गर्दछ । फास्ट प्रोसेसर भएका स्मार्टफोनहरु महँगो हुन्छन् तर आज भोलीका बजेट स्मार्टफोनमा पनि धेरै राम्रो र फास्ट प्रोसेसर हुने गर्दछन् । सामसुङले आफ्नो स्मार्टफोनहरुमा Snapdragon र Exynos प्रोसेसर प्रयोग गर्दछ । हुवावेले चाँही आफ्नो स्मार्टफोनमा HiSilicon Kirin प्रयोग गर्छ भने अन्य कम्पनीले कि त Snapdragon कि त MediaTekको प्रोसेसरहरु प्रयोग गरेको पाईन्छ । राम्रो प्रोसेसरमा गेमहरु राम्रोसंग चल्छन् र धेरै पछिसम्म राम्रोसंग चलिरहन्छ | अहिलेको एन्ड्रोइड जगतमा सबैभन्दा अब्बल प्रोसेसर हो Snapdragon ८४५ | एप्पलले नयाँ आइफोनमा A12 Bionic प्रोसेसर प्रयोग गरेको छ ।
    

६. साइज र डिस्प्ले गुणस्तर  

    उचित साइज भएको स्मार्टफोन लिनु धेरै आवश्यक पर्छ !

हिजोआज सानो भन्नाले ५ इन्च वा कमको डिस्प्ले भएको स्मार्टफोनलाई मान्न सकिन्छ र ठूलो भन्नाले ५.५ इन्च भन्दा माथि । ठूलो साइजको स्मार्टफोनमा ठूलो ब्याट्री, केही थप फिचर अनि ठूलै डिस्प्ले हुन्छ तर सानो हात भएकालाई भने ठूलो साइजको स्मार्टफोन चलाउन अप्ठ्यारो हुन सक्छ । सानो साइजको स्मार्टफोन चलाउन र ह्यान्डल गर्न सहज हुन्छ तर ठूलो स्मार्टफोनको तुलनामा केहि फिचरहरु कटौदी गरिएको हुन सक्छ । डिस्प्ले ठूलो भए पनि बेजेल कम भएका कारणले आजभोलिका स्मार्टफोनहरु साना पनि भएका छन् |

        डिस्प्लेको क्वालिटीमा रिजोलुसनले ठूलो भूमिका खेल्छ !

हिजोआजका स्मार्टफोनहरुमा मुख्यत एच.डि. (HD, 720p) , फुल एच.डि. (FHD,1080p) र क्वाड एच.डि. (QHD,1440p) रिजोलुसन हुने गर्छ । डिस्प्ले रिजोलुसन जति धेरै भयो सो डिस्प्लेको गुण्स्तर त्यती नै राम्रो हुन्छ।

डिस्प्ले पनि एमोलेड (AMOLED) , TFT, IPS LCD, POLED आदि किसिमका हुन्छन । सबैका आफ्ना फाईदा र बेफाईदाहरु छन् । एमोलेड डिस्प्ले हेर्दामा राम्रो देखिन्छ र ब्याट्री पनि बचत  गर्छ तर यसमा धेरै  बर्न इन (Burn-in) समस्या देखिने गर्छ र यसले देखाउने रङ्गहरु प्राकृतिक हुँदैनन । धेरैजसो सस्तो स्मार्टफोनहरुमा TFT डिस्प्ले पाईन्छ र यिनीहरु एमोलेड जत्तिको राम्रा नभए पनि ब्याट्री बचत  गर्छ । IPS LCD हेर्दामा राम्रो हुन्छ र यसले देखाउने रङ्गहरु प्राकृतिक हुन्छन तर यसले  ब्याट्री चाँही अली बढी खपत गर्दछ ।

सामसुङले आफ्नो प्रिमियम स्मार्टफोनहरुमा AMOLED डिस्प्ले र बजेट स्मार्टफोनमा TFT डिस्प्ले प्रयोग गर्छ ।  आइफोन XR मा र सोभन्दा पहिलेका आइफोनमा IPS LCD डिस्प्ले छ । नयाँ आइफोन X र XS चाहिँ एमोलेड डिस्प्ले प्रयोग हुने पहिलो आइफोन हो ।  

निष्कर्ष:

        सबैभन्दा राम्रोको सट्टा तपाईंको आवश्यकता अनुसारको स्मार्टफोन किन्नु राम्रो ठहरिन्छ

माथि दिइएको सबै कुराहरु ख्याल गरेर तपाईंले खरिद गर्ने जुनकुनै स्मार्टफोनबाट तपाईं सन्तुष्ट हुनुहुनेछ । तर यस लगायत पनि अन्य थुप्रै साना-साना कुराहरुले असर गर्न सक्छ। जस्तै: वाएरलेस चार्जिङ्ग (Wireless Charging), दुई वटा क्यामरा (Dual Camera), वाटर प्रूफ (Water Proof/Resistant) , स्टेरिओ स्पीकर (Stereo Speakers) , हेडफोन ज्याक (Headphone Jack) आदि । यी सबै बिशेषता भएको स्मार्टफोन झन् राम्रो हुन्छन् ।

 

 

 

यसमा तपाईको मत