ग्याजेट विशेष

बजेट आइफोन आउँदै - मूल्य कति ?

  नागरिक   2020-01-08

सधैं महंगा र फ्ल्याग्शिप स्मार्टफोनहरू मात्र निर्माण गर्दै बेच्दै आएको एप्पलले अब बजेट आइफोन पनि रिलिज गर्ने भएको छ । एप्पलले सन् २०१६ मा नै आइफोन एस इ रिलिज गरेको थियो जुन आइफोन नै एप्पलको सबैभन्दा सस्तो र बजेट आइफोन रहेको थियो ।

उक्त आइफोन एस इ रिलिज भएको लगभग ४ वर्ष पछि एप्पलले आइफोन एस इ दुई रिलिज गर्ने भनिएको छ । एक लिक अनुसार आउने भनिएको बजेट आइफोनमा ४.७ इन्चको नच नभएको डिस्प्ले हुनेछ र उक्त आइफोनको डिजाइन आइफोन ६ वा आइफोन ७ सँग मिल्दो हुनेछ ।

आइफोन एस इ को तुलनामा यस आइफोन मोटो हुने र निकै ठूलो हुने अनुमान गरिएको छ । उक्त लिक कै अनुसार यस आइफोनको पछाडीको भाग सिसाले बनेको हुनेछ । यसर्थ, बजेट आइफोनमा पनि वायरलेस चार्जिंग प्रविधि हुनसक्ने सम्भावना रहेको छ ।

अगाडी पुरानो आइफोनहरूमा जस्तै होम बटन हुनेछ र उक्त होम बटनमा फिंगरप्रिन्ट स्क्यानर पनि हुनेछ । नयाँ आइफोनहरूमा होम बटन हटाइएको छ र फिंगरप्रिन्ट स्क्यानर उपलब्ध गराइएको छैन - फिंगरप्रिन्ट स्क्यानरको सट्टामा अनुहार स्क्यान गर्न मिल्ने प्रविधि राखिएको छ । अनुहार स्क्यान गरेर आइफोन अनलक गर्न मिल्ने प्रविधि अर्थात् फेस आइडी भने बजेट आइफोनमा उपलब्ध हुने छैन ।

उक्त स्रोत कै अनुसार यस नयाँ बजेट आइफोनमा ३ जीबी र्याम र नया ए १३ बायोनिक प्रोसेसर हुनेछ । यो प्रोसेसर नयाँ महंगा आइफोनहरूमा प्रयोग भएको प्रोसेसर हो । यो कुरा सत्य भएको खण्डमा बजेट आइफोन पनि महंगा फ्ल्याग्शिप आइफोनहरू जतिकै फास्ट हुनेछ ।

यसै गरेर बजेट आइफोन ६४ जीबी वा १२८ जीबी स्टोरेजमा उपलब्ध हुने पनि उल्लेख गरिएको छ । ६४ जीबी स्टोरेज भएको बजेट आइफोनको मूल्य ३९९ अमेरिकी डलर हुने दाबी पनि उक्त स्रोतले गरेको छ ।

स्रोत : अनलिक

 

यसमा तपाईको मत