अटो विशेष

बाइक माउन्ट एभरेस्ट

  नागरिक   2019-09-29

काठमाडौं– विश्व पर्यटन दिवस २०१९ को अवसरमा साहसिक पर्यटन गतिविधि सञ्चालन गरिराखेको कम्पनी हिमालय एक्सपिडिसन्सले नयाँ टुरिजम प्रडक्ट ‘बाइक माउन्ट एभरेस्ट’ घोषणा गरेको छ । 
सांसद पम्फा भुसाल, पूर्वपर्यटनमन्त्री यांकिला शेर्पा, नेपाली कांग्रेसका नेता मदन आमात्य, युनेस्कोको नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहार्ट लगायतले शुक्रबार एक समारोहबीच ‘बाइक माउन्ट एभरेस्ट’को प्रवद्र्धनात्मक पुस्तिका विमोचन गरे ।  
कार्यक्रममा बोल्दै हिमालय एक्सपिडिसन्सका अध्यक्ष बिक्रम पाँडेकाजीले ‘बाइक माउन्ट एभरेसट’ले पर्यटकलाई सगरमाथा क्षेत्रमा अफ सिजन (जुनदेखि सेप्टेम्बरसम्म) का बेला साइकल बत्ताउँदै उच्च हिमाली भेगका शेर्पा बस्तीको दृश्यावलोकन गराउने बताए ।
बाइक माउन्ट एभरेस्ट एक साइक्लिङ गतिविधि हो । यसका सहभागीहरु आम पदयात्री झैं पहिले पदयात्रा गर्दै सगरमाथाको आधार शिविर पुग्नेछन् । फर्कने क्रममा, उनीहरु साइकल बत्ताउँदै संसारकै एक उत्कृष्ट साहसिक गतिविधिको आनन्द लिँदै तल झर्छन् । अनुभवी गाइडको निगरानीमा साइकल कुदाउँदै तल झर्दा अचम्म मान्दै हेरिरहेका स्थानीय शेर्पा, विदेशी पदयात्री र उग्राइरहेका याकको दृश्यले यात्रालाई स्मरणीय बनाउँछ । यात्रा प्राविधिक रुपमा निकै गाह्रो भए पनि, त्यसले दिने रोमाञ्चकता अकल्पनीय हुने कम्पनीको भनाइ छ । 
सगरमाथाको कठिन भौगोलिक बनोटका बाबजुद बाइक माउन्ट एभरेस्ट सुरक्षित छ र विश्वका अन्य ठाउँमा एडभेन्चर एमटिबी गरेकाले सजिलै गर्न सक्ने हिमालय एक्सपिडिसन्सका अपरेसन्स म्यानेजर दिपक राईले बताए । प्राबिधिक टोलीले केहि महिना अघि सगरमाथा आधार शिविरदेखि लुक्लासम्म साइकल कुदाएर रुटको रेक्की सफलतापूर्वक सम्पन्न गरी ट्रेललाई ‘साइकल चलाउन योग्य’ भनी प्रमाणित गरिसकेको पनि उनले बताए । 
सांसद पम्फा भुसालले विदेशी पर्यटकका लागि नेपाल भ्रमण वर्ष २०१९ को एक उपहारका रुपमा ‘बाइक माउन्ट एभरेस्ट’ साहसिक गतिविधि सुरु गरेकामा आयोजकलाई धन्यवाद दिइन् ।   
कार्यक्रममा बोल्दै पूर्वपर्यटनमन्त्री शेर्पाले साहसिक गतिविधिका सौखिन पर्यटकले ‘बाइक माउन्ट एभरेस्ट’ रुचाउने बताइन् ।
 

यसमा तपाईको मत