ग्याजेट विशेष

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

  नागरिक   2019-03-13

ल्यापटप खरिद गर्दा सबैलाई सबैभन्दा शक्तिशाली ग्राफिक्स कार्ड र प्रोसेसर भएको ल्यापटप नै चाहिन्छ भन्ने हुँदैन । अधिकांस प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटि अर्थात् सजिलैसँग बोकेर हिड्न सकिने ल्यापटपको आवश्यकता पर्छ । स्लिम र पोर्टेबल ल्यापटपहरु तुलनात्मक रुपमा केहि हदसम्म महँगो हुने गर्दछन् । यस सूचीमा नेपालमा आधारिकारिक रुपले उपलब्ध भएका र १ लाखको हारहारीमा खरिद गर्न सकिने विन्डोज ल्यापटपहरुको बारेमा छोटो जानकारी दिईएको छ :

१. एचपी एन्भी १३

एचपी एन्भी १३ निकै पातलो र सानो साइजको पोर्टेबल ल्यापटप हो । यस ल्यापटपमा १३ इन्चको फुल एचडीको उच्चस्तरीय डिस्प्ले राखिएको छ । आठौं जेनेरेसनको इन्टेल कोर प्रोसेसरमा उपलब्ध हुने यस ल्यापटपमा ८ वा १६ जीबी र्याम उपलब्ध छ । स्टोरेजमा निकै फास्ट मानिने एनभीएमई एसएसडी राखिएको छ जुन २५६ जीबी देखि सुरु हुनेछ । खरिद गर्ने समय मै आवश्यकता अनुसारको र्याम भएको मोडल खरिद गर्नु पर्नेहुन्छ किन कि यस ल्यापटपको मोडलमा र्याम पछि थप्न वा अपग्रेड गर्न मिल्दैन । ग्राफिक्समा इन्टेल एचडी अथवा एमएक्स १५० उपलब्ध हुनेछ ।

एम्लुनियमले बनेको यो ल्यापटपको मोटाइ केवल ०.५५ इन्चको रेहेको छ । उक्त ल्यापटप भित्र इन्टेल कै फास्ट वाइफाई कार्ड छ र ब्लुतुथ ४.२ रहेको छ । पोर्टहरुमा २ वटा युएसबी सी, २ वटा साधारण युएसबी, एउटा हेडफोन ज्याक र एउटा माइक्रो एसडी कार्ड रिडर राखिएको छ । चार्ज गर्नका लागि उपलब्ध भएको चार्जर वा युएसबी सी पोर्टको प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार यस ल्यापटपको ब्याट्री लाइफ १० घण्टाभन्दा धेरै हुनेछ ।

बजार मूल्य : कोर i5 आठौँ जेनेरेसन । ८ जीबी र्याम । २५६ जीबी एसएसडी - नेरु ९२,०००

२. एसर स्विफ्ट ३ - २०१८

एसरको मिडरेन्जसिरिजमा उपलब्ध भएको ल्यापटप हो एसरको स्विफ्ट ३ । हेर्दामा आकर्षक र एल्मुनियमबाट बनेको डिजाइन रहेको एसर स्विफ्ट ३ मा नयाँ संस्करणका इन्टेलका प्रोसेसरहरु राखिएको छ । यो मोडल कोर i5 र कोर i7 मा उपलब्ध छन् । सस्तो मोडलमा ८ जीबी र्याम रहेको छ भने उन्नत मोडलमा १६ जीबी र्याम उपलब्ध हुनेछ । ग्राफिक्स कार्डको विकल्पमा एमएक्स १५० २ जीबी भएको मोडल खरिद गर्न सकिनेछ ।

अगाडी थोरै बेजल भएको १४ इन्चको फुलएचडी एलसीडी डिस्प्ले राखिएको छ जसको ब्राइटनेस भने अलि कम रहेको छ । पोर्टहरुमा २ वटा साधारण युएसबी र एउटा युएसबी सीका साथै एचडीएमआइ पोर्ट राखिएको छ । केवल ०.७१ इन्चको मोटाइ रहेको यस ल्यापटपमा पनि ८ घण्टासम्म टिक्ने ब्याट्री राखिएको छ ।

बजार मूल्य: कोर i5 आठौँ जेनेरेसन । ८ जीबी र्याम । २५६ जीबी एसएसडी । २ जीबी एमएक्स १५० ग्रफिस्क - नेरु ८८,०००

३. लिनोभो योगा ७३०

लिनोभोले निकै आकर्षक र हरेक बजेटमा मिल्ने टु इन वान कन्भर्टिबल ल्यापटपहरु रिलिज गर्दै आइरहेको छ । मिडरेन्जमा पर्ने र आकर्षक डिजाइन भएको टु इन वान कन्भर्टिबल ल्यापटप हो योग ७३० । १३.३ इन्चको फुलएचडी डिस्प्ले रहेको यो ल्यापटप निकै स्लिम र पोर्टेबलका साथै प्रयोग गर्नमा शक्तिशाली पनि छ । भित्र इन्टेलको आठौँ संस्करणको कोर i5 र i7 प्रोसेसरहरु रहेका छन् । स्टोरेजको विकल्प २५६ जीबी एसएसडीबाट सुरु हुन्छ र ०.५ टेराबाइटसम्मको मोडलहरु उपलब्ध छ । र्याम चाहिँ ८ जीबी र १६ जीबीमा उपलब्ध छन् । अरु अल्ट्राबुकमा जस्तै यस ल्यापटपमा पनि र्याम अपग्रेड गर्न मिल्दैन ।

यस ल्यापटपको डिस्प्ले टच स्क्रिनको रहेको छ र ल्यापटपलाई ट्याब्लेट जसरिपनि चलाउन मिल्छ । ट्याब्लेट मोडमा प्रयोग गर्दा वाकम पेनको पनि प्रयोग गर्न सकिन्छ । ब्याट्री लाइफ कम्पनीका अनुसार ११ घण्टा रहेको छ । केवल १४ मिमि मोटाइ रहेको यस ल्यापटपमा दुइवटा थन्डरबोल्ट सपोर्ट गर्ने युएसबी सी पोर्ट पोर्ट, एउटा युएसबी ३ र हेडफोन ज्याक रहेको छ । सुरक्षाका लागि कुनै कुनै मोडलमा फिंगरप्रिन्ट स्क्यानर पनि राखिएको छ ।

बजार मूल्य : कोर i5 आठौँ जेनेरेसन । ८ जीबी र्याम । २५६ जीबी एसएसडी - नेरु ९६०००

 

 

यसमा तपाईको मत