ग्याजेट विशेष

“हुवावेको नयाँ स्मार्टफोनको क्यामरा सबैभन्दा उत्कृष्ट”

  नागरिक   2019-09-27

हुवावेले हालै गुगलका एप्सहरू सपोर्ट नगर्ने फ्ल्याग्शिप स्मार्टफोन सार्वजनिक गरेको थियो । हुवावे मेट ३० र मेट ३० प्रो नाम गरिएको उक्त स्मार्टफोनहरूमामा हुवावेले लाइका ब्राण्डका तीन र चारवटा क्यामरा सेन्सरहरू राखेको छ । मेट ३० मा तीनवटा मुख्य क्यामरा छ भने मेट ३० प्रो मा तीनवटा क्यामराको साथै एउटा थप थ्री डी सेन्सर पनि राखिएको छ ।  मेट ३० मा ४० मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको जुम लेन्स क्यामरा र १६ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा राखिएको छ । यसै गरेर मेट ३० प्रो मा ४० मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको जुम लेन्स क्यामरा र ४० मेगापिक्सल कै अल्ट्रा वाइड क्यामरा राखिएको छ । सेल्फीका लागि दुवै मोडलमा थ्री डी सेन्सरसँगै ३२ मेगापिक्सलको क्यामरा राखिएको छ ।

DxOMark ले विगतको एक दशक देखि रिलिज भएका मुख्य मुख्य सम्पूर्ण स्मार्टफोनको क्यामरालाई टेस्ट गरेर उक्त क्यामरालाई अंक प्रदान गर्छ । उक्त अंक जति बढी, त्यति नै राम्रो क्यामरा । भिन्न स्मार्टफोनका क्यामरालाई विश्लेषण गरेर अंक प्रदान गर्दै आएको DxoMark ले यी दुई स्मार्टफोनको क्यामरालाई पनि विश्लेषण गरेको छ ।  DxOMark को वेबसाइटमा हालै सबैभन्दा धेरै अंकका साथ उत्कृष्ट क्यामरा भएको स्मार्टफोन हो हुवावेको नयाँ फ्ल्याग्शिप स्मार्टफोन - हुवावे मेट ३० प्रो । DxOMark का अनुसार हुवावेको नयाँ स्मार्टफोनको क्यामरा सबैभन्दा उत्कृष्ट स्मार्टफोन क्यामरा रहेको छ ।

यो नयाँ हुवावेको स्मार्टफोनको मुख्य क्यामराको सेटअपले अहिलेसम्म कै सबैभन्दा बढी अंक प्राप्त गर्न सफल भएको छ - १२१ को । केही समय अगाडी रिलिज भएको सामसंगको ग्यालेक्सी नोट १० प्लस फाइभ जीले ११७ अंक साहिला DxOMark को अंक तालिकाको पहलो स्थानमा रहेको थियो । हुवावेको यो नयाँ स्मार्टफोनसँगै सामसंग ग्यालेक्सी नोट १० प्लस फाइभ जी दोस्रो स्थानमा झरेको छ ।

यसै गरेर सेल्फी क्यामरामा भने हुवावेको नयाँ फ्ल्याग्शिप स्मार्टफोनले सामसंग ग्यालेक्सी नोट १० प्लस फाइभ जीको सेल्फी क्यामरालाई जित्न सकेन । DxOMark का अनुसार अझै पनि सामसंग ग्यालेक्सी नोट १० प्लस कै सेल्फी क्यामरा सबैभन्दा उत्कृष्ट रहेको छ । हुवावे मेट ३० प्रोको सेल्फी क्यामराले ९३ अंक पाएको छ भने ग्यालेक्सी नोट १० प्लस मोडलहरूले ९९ अंक पाएको छ ।

DxOMark का अनुसार हुवावेको नयाँ क्यामराले उच्च गुणस्तरको तस्विर खिच्न सक्ने र उक्त तस्विरमा एक्सपोजर, डेप्थ अफ फिल्ड र जानकारीहरू निकै उच्चस्तरीय छ । DxOMark ले गरेको विस्तृत समिक्षाका DxOMark कै आधिकारिक वेबसाइटमा राखिएको छ ।

मेट ३० प्रो दुई मोडल मध्येमा ठूलो र महँगो मोडल हो । यसमा ६.६२ इन्चको ओलेड डिस्प्ले राखिएको छ । यसै गरेर सानो मेट ३० मा ६.५३ इन्चको उस्तै गुणस्तरको ओलेड डिस्प्ले राखिएको छ । दुवै मोडलहरू हुवावे कै नयाँ र फ्ल्याग्शिप प्रोसेसर हाइसिलिकन किरिन ९९० मा चल्छन् । मेट ३० प्रो ८ जीबी र्यामको मोडलमा उपलब्ध हुने छ भने मेट ३० ६ वा ८ जीबी र्यामको मोडलमा उपलब्ध हुने छ । दुवै मोडलमा हेडफोन ज्याक छैनन् र साधारण प्रकारको मेमोरी कार्ड लाग्दैनन् । १२८ जीबी वा २५६ जीबी आन्तरिक स्टोरेजलाई हुवावे कै आफ्नै मेमोरी कार्ड, न्यानो मेमोरीको सहयताबाट बढाउन सकिन्छ । मेट ३० प्रो मा ४५०० mAh को ब्याट्री राखिएको छ भने मेट ३० मा ४२०० mAh को ब्याट्री राखिएको छ । दुवै मोडलमा ४० वाटको फास्ट चार्जर उपलब्ध गराइने छ ।

स्रोत: DxOMark

यसमा तपाईको मत