बक्सा खोल्दा उपभोक्ताले पाए बाङ्गो आइप्याड प्रो - एप्पल भन्छ बाङ्गो हुनु सामान्य
2018-12-23
एप्पलले केहि महिना अगाडि रिलिज गरेको अहिलेसम्म कै सबैभन्दा स्लिम आइप्याड प्रो खरिद गरेका थुप्रै प्रयोगकर्ताले आइप्याड प्रो बक्सा भित्र नै बाङ्गो भएको भेटेका छन् । नयाँ किनेर ल्याएको आइप्याड प्रो बक्सा खोलेर हेर्दा बाङ्गो भएको भेटेपछि खरिद गर्नेहरु निराश भएका हुन् । बक्सा भित्र कै नयाँ आइप्याड बाङ्गो भएको धेरै गुनासो एप्पललाई गरिए पछि एप्पलले नयाँ आइप्याड प्रो बाङ्गो हुनु स्वाभाविक र सामान्य भएको कुरा बताएको छ । उक्त आइप्याड प्रो बाङ्गो भएपनि चलाउँदा केहि फरक नपर्ने र आइप्याडको भौतिक बनोटमा केहि खोट नआउने कुरा एप्पलले बताएको छ ।
केहि दिन अगाडी नै यो विषयमा चर्चा चुलिएपछि एप्पलले द भर्जलाई कुनै कुनै आइप्याड प्रो फ्याक्ट्रीबाट नै बाङ्गो आउन सक्ने कुराको जानकारी दिएको थियो । एप्पलको बरिष्ठ इन्जिनियर ड्यान रिचियोले द भर्ज, म्याकर्युमर्स र नाईनटुफाइभम्याकलाई ईमेल मार्फत एप्पलको नयाँ आइप्याड प्रोले डिजाइन र बनोटको उच्च मानकहरु पनि पुरा गर्ने बयान दिएका छन् । उनका अनुसार बाङ्गो भएको आइप्याडले भविष्यमा कुनै पनि किसिमको समस्या ल्याउने छैन र प्रयोग गर्दा पनि केहि असर गर्ने छैन ।
एप्पलले आइप्याड प्रो बक्सा मै बाङ्गो भएको कुरा स्वीकार गरे पनि बाङ्गो भएको आइप्याड प्रो लाई प्रतिस्थापन भने नगर्ने भएको छ । यसर्थ, तपाईंले लगभग नेरु १ लाख अथवा बढी हालेर खरिद गरेको आइप्याड प्रो बक्सा मै बाङ्गो छ भने पनि त्यसमै चित्त बुझाउनु पर्ने हुन्छ - एप्पलले उक्त आइप्याडलाई बाङ्गो नभएको आइप्याडसँग सटही गर्ने छैन । म्याकर्युमारका अनुसार एप्पलले कुनै कुनै स्थानमा बाङ्गो भएका आइप्याडलाई प्रतिस्थापन गर्नका लागि उपभोक्तासँग उल्टै पैसा लिएको पनि पाइएको छ ।
यस्ता छन् नयाँ आइप्याडका विशेषताहरु:
- नयाँ एप्पल A12X प्रोसेसर
- आइप्याड प्रो ११ मा ११ इन्च र आइप्याड प्रो १२.९ मा १२.९ इन्च कै रेटिना डिस्प्ले
- १२० हर्ज डिस्प्ले
- होम बटन छैन - अब जेस्चरबाट चल्ने
- आइफोन Xs को जस्तै फेसआइडी
- युएसबी सी पोर्ट - आइप्याड मै पहिलो पटक
- निकै फास्ट ग्राफिक्स प्रोसेसर - एक्सबक्स वन तहको
- चारवटा स्पिकर - हेडफोन ज्याक छैन
- १ TB सम्मको इन्टरनल स्टोरेज
- ११ इन्च मोडलको मूल्य ८०० अमेरिकी डलर
- १२.९ इन्च मोडलको मूल्य १००० अमेरिकी डलर
- नयाँ स्मार्ट फोलियो केस किबोर्ड - १८० अमेरिकी डलर
- नयाँ म्याग्नेटिक एप्पल पेन्सिल
स्रोत : म्याकर्युमर्स, द भर्ज र नाईनटुफाइभम्याक
यसमा तपाईको मत