ग्याजेट विशेष

महँगा स्मार्टफोन किन्नु कति उचित ?

  नागरिक   2020-07-10

आजभोलि बजेट स्मार्टफोनहरु पनि राम्रा हुँदै गएका छन् र राम्रा स्मार्टफोन पनि सस्ता हुँदै गएका छन् । अहिले कुनै पनि ब्रान्डको फ्ल्यागसिप (सबैभन्दा अब्बल) स्मार्टफोनलाई लाख रुपैयाँसम्म पर्न सक्छ । सबैका लागि यति धेरै पैसा स्मार्टफोनमा खर्च गर्नु उचित हुँदैन । हाम्रो देशको सन्दर्भमा मोबाइलमा यसरी खर्च गर्न नसक्ने नै धेरै छन् । फ्ल्यागसिप स्मार्टफोनमा भएका सबै फिचर प्रयोग गरिन्छ र सबैलाई काम लाग्छ भन्ने पनि छैन । सामान्य स्मार्टफोनसँग सम्बन्धित कामहरु (जस्तै फोन कल, इन्टरनेट, फोटो खिच्ने आदि) मात्र गर्न रुचाउने र नयाँ तडकभडकमा खासै चासो नदिनेले फ्ल्यागसिपको सट्टा मिडरेन्ज स्मार्टफोनबाटै पूर्ण सन्तुष्टि पाउन सक्छन् ।

केही वर्ष अगाडिसम्म महँगा स्मार्टफोनमा मात्र सीमित फिचरहरु यस वर्षबाट सस्ता, बजेट र मिडरेन्ज (मध्यम वर्गीय) स्मार्टफोनमा पनि देखिन थालेका छन् । नयाँ मिडरेन्ज स्मार्टफोन त फ्ल्यागसिप स्मार्टफोन कै डिजाइनमा आधारित भएर बनाइने गरिन्छ । यसले गर्दा पनि मिडरेन्ज र फ्ल्यागसिप स्मार्टफोनबीचको विभाजन घट्दै गएको छ ।

फ्ल्यासिपप र मिडरेन्ज स्मार्टफोनबीच यी कुरामा खासै भिन्नता हुन छाडिसकेको छ :

१. मेमोरी

स्मार्टफोनको मेमोरी अर्थात र्यामले उक्त स्मार्टफोनले एकैपटकमा कतिवटा एप मोबाइल स्लो नबनाई चल्न सक्छ भन्ने कुरा निर्धारण गर्छ । आजभोलिका स्मार्टफोनमा ८ जिबीसम्म र्याम प्रयोग गरेको भेटिन्छ । सामसङ, पिक्सल आदि कम्पनीका फ्ल्यासिप स्मार्टफोनमा ४ वा ६ जिबी र्याम प्रयोग भएको हुन्छ । अधिकांश मिडरेन्ज स्मार्टफोनमा ३–४ जिबी र्याम प्रयोग भएको हुन्छ । तर ४ र ६ जिबी र्यामले दैनिक प्रयोगमा खासै फरक पार्दैन ।

२. स्टोरेज र भण्डारण

आजभोलिका मिडरेन्ज स्मार्टफोनमा न्यूनतम १६ जिबी स्टोरेज क्षमता भएको पाइन्छ । स्टोरेजलाई मेमोरी कार्डबाट पनि बढाउन मिल्छ । कुनै कुनै फ्ल्यागसिप स्मार्टफोनमा चाहिँ मेमोरी कार्ड लाग्दैन । यसर्थ धेरै स्टोरेज खोज्ने प्रयोगकर्ता मिडरेन्ज स्मार्टफोनबाट पनि सन्तुष्ट हुन सक्छन् ।

३. डिजाइन

पहिले पहिले बजेट र मिडरेन्ज स्मार्टफोनमा प्लास्टिक प्रयोग गरिन्थ्यो । अचेलका मिडरेन्ज स्मार्टफोनमा एल्मुनियम जस्ता उच्चस्तरीय सामग्री प्रयोग गरिएको हुन्छ, जसबाट यिनीहरु आकर्षकका साथै निकै टिकाउ पनि हुन्छन् । फ्ल्यागसिप स्मार्टफोनबाट सुरु भएको १८ः९ अनुपातको फुलबडी डिस्प्ले अचेल मिडरेन्ज स्मार्टफोनमा पनि उपलब्ध छ । स्मार्टफोन डिजाइन हेर्दा आजभोलिका मिडरेन्ज स्मार्टफोन पनि महँगा फ्ल्यागसिप सरहै डिजाइन गरिएका हुन्छन् र आकर्षक पनि ।


४. ब्याट्री लाइफ

मिडरेन्ज स्मार्टफोनमा अलिक कम शक्तिशाली प्रोसेसर र अलिक कम रेजोलुसनको डिस्प्ले प्रयोग गरिने भएकाले यिनीहरुको ब्याट्री लाइफ फ्ल्यागसिपको भन्दा बढी हुन्छ । धेरै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन चाहनेले फ्ल्यागसिपको सट्टा मिडरेन्ज किन्नु उचित हुनसक्छ ।


५. सफ्टवेयर अपडेट  

दुई वर्षअघिसम्म पनि मिडरेन्ज स्मार्टफोनलाई सफ्टवेयर अपडेट दिइँदैन थियो । यस वर्षदेखि सुचारु भएको गुगलको एन्ड्रोइड वान प्रोग्रामले गर्दा मिडरेन्जदेखि बजेट स्मार्टफोनले पनि नियमित सफ्टवेयर अपडेट पाउने भएका छन् ।


मिडरेन्ज स्मार्टफोनमा गरिने मुख्य कटौतीहरु

१. क्यामरा

फ्ल्यागसिप स्मार्टफोनमा सामान्यतया मिडरेन्जको भन्दा निकै अब्बल क्यामरा राखिएका हुन्छन् । फ्ल्यागसिप स्मार्टफोनमा राम्रो क्यामरा मात्र नभएर दुई वा तीनवटा क्यामरा पनि राखिएका हुन्छन् । र, हरेक क्यामराको आ–आफ्नै काम हुन्छ । मिडरेन्ज दुईवटा क्यामरा भएका स्मार्टफोन भेटिए पनि ती क्यामराको गुणस्तर फ्ल्यागसिपको जस्तै हुँदैन । २०२० को सर्वोत्कृष्ट स्मार्टफोन क्यामरामा पनि सबै फ्ल्यागसिप मात्र छन् ।

यति भन्दैमा मिडरेन्ज स्मार्टफोनका क्यामरा नराम्रा भने हुँदैनन् । आजभन्दा २–३ वर्षअगाडिको फ्ल्यागसिप स्मार्टफोनमा हुने भन्दा पनि राम्रो क्यामरा अहिलेको मिडरेन्ज स्मार्टफोनमा राखिएको भेट्न सकिन्छ । आजभोलिको कुनै पनि मिडरेन्ज स्मार्टफोनले इन्स्टाग्राम र फेसबुक जस्तो समाजिक सञ्जालमा अप्लोड गर्नलाई पर्याप्त गुणस्तर भएको फोटो खिच्न सक्छ । आजकल मिडरेन्ज स्मार्टफोनले पनि फोरके रेजोलुसनको भिडियो खिच्न सक्छ ।  

२. प्रोसेसर

स्मार्टफोन वा कुनै पनि कम्प्युटिङ उपकरणको सम्पूर्ण काम गर्ने चिज प्रोसेसर हो । स्मार्टफोनमा प्रयोग हने विभिन्न पुर्जामध्ये प्रोसेसर नै सबैभन्दा महँगो हुन्छ । स्मार्टफोन निर्माताले स्मार्टफोन सस्तो बनाउन सबैभन्दा पहिलो कटौती प्रोसेसर मै गर्छन् । चर्को मूल्यमा बेचिने स्मार्टफोनमा उपलब्धमध्ये सबैभन्दा अब्बल प्रोसेसर समावेश गरिएको भेटिन्छ भने मिडरेज स्मार्टफोनमा मध्यम स्तरको प्रोसेसर प्रयोग भएको हुन्छ ।

फ्ल्यागसिप स्मार्टफोनमा प्रयोग हुने प्रोसेसर निकै शक्तिशाली हुन्छ, नयाँ एआई  सम्बन्धी फिचरहरु सपोर्ट गर्छन् र गेम पनि निकै राम्रोसँग चलाउन सक्छन । तर इन्टरनेट चलाउन, सानातिना गेम खेल्न, फोन कल गर्न र विविध एप चलाउ भने अहिले मिडरेन्ज स्मार्टफोनमा उपलब्ध भएका मध्यम स्तरका प्रोसेसर नै काफी छ ।

एप्पलको नयाँ आइफोन एसइ २०२० मा भने फ्ल्याग्शिप स्तर कै प्रोसेसर समावेश गरिएको छ तर अधिकतम् एन्ड्रोइड स्मार्टफोनहरूमा यस्तो हुँदैन |


३. डिस्प्ले

स्मार्टफोन निर्माण गर्दा निर्मातालाई प्रोसेसरपछि महँगो पर्ने उपकरण डिस्प्ले हो । फ्ल्यागसिप स्मार्टफोनमा धेरै रेजोलुसनको र गुणस्तर राम्रो भएको एमोलेड (ब्ःइीभ्म्) डिस्प्ले प्रयोग गरेको भेटिन्छ । उच्च रेजोलुसन लगायत एचडिआर  ९ज्म्च्०, १२० हर्ज रिफ्रेस रेट, उच्च चमक आदि जस्ता फिचर पनि फ्ल्यागसि स्मार्टफोनमा उपलब्ध हुन्छ ।
अधिकांश मिडरेज स्मार्टफोनको डिस्प्लेमा माथि उल्लेखित फिचर पाइँदैन । यो वर्गको स्मार्टफोन डिस्प्लेमा सबैभन्दा प्रचलित रेजोलुसनको १०८०पी र रिफ्रस रेट पनि ६० हर्जमै सीमित हुन्छ र डिस्प्लेमा टिएफटी  कि त कम गुणस्तरको एमोलेड  प्रविधि प्रयोग गरिएको हुन्छ । तापनि दैनिक कार्यका लागि मिडरेन्ज स्मार्टफोनमा हुने डिस्प्ले सेवायोग्य हुन्छ ।

 

सन् २०२० मा नेरु ३० हजार भन्दा कम मूल्य मै किन्न सकिने स्मार्टफोनहरूको सूचीको लागि यहाँ जानुहोस् :

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

 

यसमा तपाईको मत