ग्याजेट विशेष

११ वर्ष अगाडी देखि एन्ड्रोइडमा भएको यो फिचर अब आइफोनमा पनि आउँदै !

  नागरिक   2020-06-23

एप्पलले हालै गरेको WWDC अनलाइन कन्फेरेन्समा आइफोनका लागि नयाँ अपरेटिंग सिस्टम अर्थात् iOS १४ को जानकारीहरू सार्वजनिक गरेको छ । उक्त अपरेटिंग सिस्टम आइफोन सिक्स एस र सोभन्दा नयाँ स्मार्टफोनहरूका लागि उपलब्ध गराइने छ । यस iOS को संस्करणमा एप्पलले विभिन्न नयाँ फिचरका साथै एन्ड्रोइड र अन्य अपरेटिंग सिस्टममा पहिलेबाट नै उपलब्ध गराइएको केही फिचरहरू ल्याउने भएको छ ।

नयाँ iOS १४ अपरेटिंग सिस्टममा सबैभन्दा नयाँ र महत्वपूर्ण फिचरको रूपमा एप्पलले होमस्क्रिनमा हुने विजेटहरूलाई देखाएको छ । प्रयोगकर्ताहरूले अब आइकनहरूको सट्टा विभिन्न लाइभ विजेटहरू राख्न सक्नेछन् । विन्डोज फोनको लाइभ टाइल्स र एन्ड्रोइडको विजेटहरूको हाइब्रिड रहेको यस फिचर आइफोन र आइप्याडमा बल्ल आउन लागेको हो । सन् २०१० मा रिलिज विन्डोज फोन ७ र सन् २००९ को एन्ड्रोइडको संस्करणमा नै यो फिचर समावेश गरिएको थियो । एप्पलले ढिलो भएपनि एप्सको आइकनको सट्टा लाइभ विजेट प्रयोग गर्न मिल्ने बनाउने भएको छ ।

नयाँ विजेटको फिचर लगायत नयाँ iOS मा पिक्चर इन पिक्चर मोड र सुधारिएको सिरीको डिजाइन पनि आउँदै छ । यस बाहेक अब प्रयोगकर्ताहरूले आफ्नो आइफोनको पूर्वनिर्धारित ब्राउजर र इमेल एपलाई पनि परिवर्तन गर्न पाउने भएका छन् । होम स्क्रिनमा अब एप लाइब्रेरी आउने भएको छ जसबाट प्रयोगकर्ताले आवश्यक नपर्ने एप्सको पेजलाई पूर्ण रूपमा लुकाउन सक्नेछन् ।

स्रोत : एप्पल

 

यसमा तपाईको मत