ग्याजेट विशेष

एप्पलको नयाँ मोनिटर स्ट्याण्डको मूल्य एक हजार डलर “मात्र”

  नागरिक   2019-06-06

एप्पलले हरेक वर्ष जस्तै यस वर्ष पनि वर्ल्डवाइड डेभलोपर कन्फेरेन्स आयोजना गरेको छ । उक्त कन्फेरेन्समा एप्पलले नयाँ सफ्टवेयर, हार्डवेयर र अन्य सुविधाहरूको बारेमा जानकारी दिने गर्दछ । यस वर्ष पनि एप्पलले नयाँ र रोचक ग्याजेट र कम्प्युटर रिलिज गरेको छ । र, यस मध्ये सबैभन्दा रोचक र प्रचलित बनेको छ एप्पलको हजार डलर पर्ने मोनिटर स्ट्याण्ड ।

वर्ल्डवाइड डेभलोपर कन्फेरेन्समा एप्पलले आफ्नो म्याक कम्प्युटर लाइनअपको सबैभन्दा उन्नत र महँगो म्याक प्रो रिलिज गरेको छ । यस नयाँ रिलिज भएको म्याक प्रो को डिजाइन सन् २००९ मा एप्पलमा रिलिज गरेको म्याक प्रोसँग मिल्न जान्छ । नयाँ म्याक प्रोको जानकारी प्रदान गरे लगत्तै एप्पल फ्यानहरूमा खुशियाली छाएको थियो । म्याक प्रो को बारेमा जानकारी प्रदान गरेपछि एप्पलले आफ्नो नयाँ र निकै उच्चस्तरीय मोनिटर डिस्प्ले को बारेमा चर्चा गर्यो । यसलाई पनि कन्फेरेन्समा भएका दर्शकहरूले तालि बजाएर राम्रो प्रतिक्रिया दिए ।

उक्त मोनिटरको मूल्यको कुरा गर्ने बेलामा भने पहिले जस्तो तालि बजेन । कारण थियो उक्त मोनिटर र मोनिटर स्ट्याण्डको मूल्य । उक्त प्रो मोनिटरको मूल्य ५ हजार अमेरिकी डलर तोकिएको छ , जुन नेरुमा परिवर्तन गर्दा लगभग ५ लाख ५० हजार पर्न जान्छ ।

तर त्यति महँगो मोनिटरमा एप्पलले स्ट्याण्ड उपलब्ध नगराउने र उक्त स्ट्याण्डलाई छुट्टै खरिद गर्न पर्ने बनाएको छ । र, स्ट्याण्डको मूल्य १ हजार अमेरिकी डलर तोकिएको छ - जसलाई नेरुमा परिवर्तन गर्दा लगभग १ लाख १० हजार हुन जान्छ । उक्त स्ट्याण्डलाई एप्पलले “प्रो स्ट्याण्ड” नाम दिएको छ ।

यसर्थ, एप्पलले उपलब्ध गराउने सबैभन्दा महँगो मोनिटरमा स्ट्याण्ड नै छैन जसले गर्दा ५ हजार डलर खर्च गरेर ल्याएको मोनिटरलाई सिधै प्रयोग गर्न पनि मिल्दैन । र, उक्त मोनिटरलाई ठाडो बनाएर उभ्याउनको लागि मात्र पनि एक हजार अमेरिकी डलर अर्थात् नेरु १ लाखभन्दा बढी खर्च गर्न पर्ने हुन्छ । र, यही कुरा नै इन्टरनेटको चासो र “जोक” को विषय बनेको छ । फेसबुक देखि रेडिटसम्म यही कुरामा थरीथरीका मिम र ट्रोलहरू बनेका छन् ।

एप्पलले जारि गरेको प्रेस रिलिज नोट अनुसार उक्त मोनिटर स्ट्याण्डले एप्पलको नयाँ प्रो डिस्प्ले एक्स डी आर लाई जसरी मन लाग्यो त्यसरी घुम्न मिल्ने बनाउने छ । तर, यस्तो किसिमको विशेषता भने निकै सस्तो पर्ने मोनिटरमा पनि हुन्छ जसमा स्ट्याण्ड निशुल्क आउछ र मोनिटरको मूल्य नै एप्पलको मोनिटर स्ट्याण्डको भन्दा कम पर्न जान्छ ।

 

 

 

 

यसमा तपाईको मत