ग्याजेट विशेष

एप्पलको नयाँ म्याकबुक

  नागरिक   2019-11-14

एप्पलले हिजो कुनै हो-हल्ला बिना नै आफ्नो नयाँ म्याकबुकलाई सार्वजनिक गरेको छ। उपलब्ध हुँदै आएको १५ इन्चको म्याकबुक प्रोलाई प्रतिस्थापन गर्न रिलिज गरिएको यो म्याकबुकमा १६ इन्चको डिस्प्ले हुनेछ । यसै गरेर पुरानो मोडलको तुलनामा प्रोसेसर, किबोर्ड, ग्राफिक्स र स्पिकर जस्ता कुराहरूमा सुधार आएको छ ।

अलि ठूलो डिस्प्ले, उही पुरानो च्यासिस

पुरानै १५ इन्चको मोडलको च्यासिसमा अलि ठूलो अर्थात् १६ इन्चको डिस्प्ले राखिएको छ । यसले गर्दा डिस्प्ले वरिपरिकामा बेजल सानो भएको छ । नयाँ म्याकबुक प्रो को डिजाइन अन्य विन्डोज ल्यापटप जतिको मोडर्न नदेखिए पनि थोरै बेजलले गरेर अलि बढी आकर्षक देखिएको छ । उक्त डिस्प्लेको रेजोलुसन 3072x1920 रहेको छ जसलाई एप्पलले रेटिना डिस्प्लेको नाम दिएको छ ।

सुधारिएको किबोर्ड

एप्पलले २०१५ का म्याकबुकमा लन्च गरेको र त्यसपछिका हरेक म्याकबुकमा प्रयोग गर्दै आएको निकै कमजोर र चाडैं बिग्रने बटरफ्लाई किबोर्डलाई यो मोडलमा प्रयोग गरेको छैन । एप्पलले पुरानै प्रविधि अर्थात् सिजर किबोर्ड प्रयोग गरेको छ । यो किबोर्डमा पुराना किबोर्डमा जस्तो बिग्रने समस्या नआउने एप्पलले जनाएको छ ।

नयाँ शक्तिशाली ग्राफिक्स कार्ड

एप्पलले एएमडीको रेडियन प्रो ५३००एम र ५५००एम ग्राफिक्सको प्रयोग गरेको छ । यो ग्राफिक कार्डहरू मा ४ जीबी देखि ८ जीबीसम्म उपलब्ध हुने छ । कम मूल्य पर्ने मोडलहरूमा रेडियन प्रो ५३००एम ४ जीबी प्रयोग गरिएको हुनेछ भने माथिल्लो तहका महँगा मोडलहरूमा रेडियन प्रो ५५००एम ८ जीबीको मोडल प्रयोग गरिएको हुनेछ ।

१०० वाट घण्टाको ब्याट्री

एप्पलले यो म्याकबुकमा प्रयोग गर्न मिल्ने सबैभन्दा माथिल्लो साइजको ब्याट्री प्रयोग गरेको छ । हवाईजहाजमा लिएर यात्रा गर्नका लागि ल्यापटप वा अन्य कुनै उपकरणमा १०० वाट घण्टाभन्दा बढी साइजको ब्याट्री हुनु हुदैन । एप्पलले नयाँ म्याकबुकमा १०० वाटको ब्याट्री नै प्रयोग गरेको छ जसले प्रयोगकर्तालाई ११ घण्टासम्मको ब्याट्री लाइफ दिनेछ ।

पुरानो मूल्य, चर्को मूल्य

यो नयाँ म्याकबुक पुरानो १५ इन्च कै मोडलको मूल्यमा उपलब्ध हुनेछ । एप्पलको आधिकारिक स्टोरमा सबैभन्दा सस्तो म्याकबुक १६ को मूल्य नै २४०० अमेरिकी डलर तोकिएको छ । यो मूल्यलाई नेरुमा रुपान्तरण गर्दा लगभग २ लाख ८० हजार पर्न जान्छ । यो मूल्यमा कुनै पनि प्रकारको कर र राजस्व जोडिएको छैन ।

सबैभन्दा तल्लो मोडलमा १६ जीबी र्याम, ६वटा कोर भएको i7 प्रोसेसर र रेडियन प्रो ५३००एम ग्राफिक्स कार्ड हुनेछ । सबैभन्दा माथिल्लो र महँगो मोडललाई ६१०० अमेरिकी डलर तोकिएको छ, यो मूल्य पनि कर र राजस्व बिना नै राखिएको हो ।

 

यसमा तपाईको मत