ग्याजेट विशेष

बालबालिकालाई जुवा खेल्न प्रोत्साहन गरेको आरोपमा एप्पल माथि मुद्दा

  नागरिक   2020-06-14

एप्पलको एप स्टोरमा उपलब्ध हुने अधिकांस गेमहरूमा लुटबक्स र माइक्रो कारोबारहरू धेरै पहिले देखि नै उपलब्ध हुँदै आएको छ । एप्पलका एपहरूमा मात्र नभएर गुगलको प्ले स्टोरको हालत पनि यस्तै रहेको छ ।

गेमहरूलाई नि:शुल्कमा डाउनलोड गर्न दिने र गेम भित्र भारी रकम पर्ने विभिन्न वस्तुहरू खरिद गर्न उपलब्ध गराउने नीतिलाई अधिकाँस गेम निर्माताहरूले अंगालो हालेका छन् । यसले गर्दा साना बालकहरूले जानी नजानी थुप्रै पैसा खर्च गर्दै आएका छन् ।

यस्तैमा रिबेक्का टेलर नाम गरेकी एक महिलाले एप्पल विरुद्ध मुद्दा दर्ता गरेकी छिन् । एप्पलको एप स्टोरमा उपलब्ध भएका गेमहरू, जस्तै मारियो कार्ट टुर, फिफा सक्कर, रोब्लक्स, ब्रल स्टारस् आदि गेमहरूले बच्चाहरूलाई जुवा खेल्न प्रोत्साहन गराउने गरेको भन्दै एप्पल माथि यो मुद्दा दर्ता भएको हो ।

यस्ता भिडियो गेमहरूले बच्चालाई जुवाडे बनाउन र पैसा खर्च गर्न पैसा खर्च गर्न प्रोत्साहन गर्ने गरेको भन्दै उक्त महिलाले मुद्दा दर्ता गरेकी हुन् ।

उक्त महिलाले एप्पल माथि मुद्दा दर्ता गरेपनि सो गेमहरू एप्पलद्वारा निर्मित गेमहरू होइनन् । सो गेमहरु एप्पलका आइफोन र आइप्याड लगायत एन्ड्रोइड स्मार्टफोनहरूमा पनि उपलब्ध गराइएको छ ।

यो मुद्दाले एप्पल र गुगल लगायत गेम निर्माताहरूलाई पनि आफ्नो गेमहरूमा जुवा खेल्नका लागि प्रोत्साहन गर्ने कुराहरू नराख्नका लागि दबाब दिने छ ।

स्रोत: Engadget

 

यसमा तपाईको मत