ग्याजेट विशेष

एप्पल आइफोनको बिक्री घट्ने क्रममा - सायोमीले पनि जित्न सक्ने सम्भावना

  नागरिक   2019-08-01

हालै एप्पलले यस वर्षको तेस्रो त्रैमासिक आर्थिक विवरण सार्वजनिक गरेको छ । उक्त विवरणका अनुसार एप्पलले यस तीन महिनाको समयमा ५३.८ अर्ब अमेरिकी डलर बराबरको कमाइ गर्न सफल भएको छ जुन गत वर्षको तुलनामा केवल १ प्रतिशतले मात्र बढी हो । आइफोन बिक्रीले मात्र यस तीन महिनामा एप्पलले २६ अर्ब अमेरिकी डलर जम्मा गर्न सफल रह्यो तर यो संख्या गत वर्षको तुलनामा लगभग ३.५ अर्ब अमेरिकी डलरले कम हो । गत वर्ष यही समयमा एप्पलले आइफोनको बिक्रीबाट २९.५ अर्ब अमेरिकी डलर जम्मा गर्न सफल भएको थियो । यस तीन महिनाको आइफोनको बिक्रीबाट उठेको रकम एप्पलको कुल कमाइको ५० प्रतिशत पनि होइन । यस्तो सन् २०१२ यता अहिलेसम्म भएको थिएन ।

आइफोनको बिक्री निकै घटे पनि एप्पलको विभिन्न सेवाहरूबाटको कमाइमा भने वृद्धि भएको छ - सेवाहरूबाट एप्पलले यस तीन महिनामा ११.४६ अर्ब अमेरिकी डलर जम्मा गर्न सफल भयो । एप्पलको एप्पल वाच र नयाँ दोस्रो संस्करणको इअरपडले पनि निकै राम्रो व्यापार गर्न सफल भएको छ । एप्पल म्याकले यही तीन महिनामा ५.८२ अर्ब अमेरिकी डलरको कमाइ गर्न सफल भयो भने आइप्याडको बिक्रीबाट मात्र एप्पलले ५.०२ अर्ब अमेरिकी डलर हात पार्यो ।

यस वर्षको तेस्रो त्रैमासिकमा आउँदा एप्पलको आइफोनले स्मार्टफोन बजारको १०.१% प्रतिशत बजार कब्जा गर्न सफल भएको छ । गत वर्ष यही समयमा एप्पलको बजार हिस्सा १२.१% प्रतिशत रहेको थियो - यसर्थ एप्पलको बजार हिस्सा २ प्रतिशतले घट्न पुगेको छ । गत वर्ष यही समयमा ४ करोड १३ लाखवटा आइफोन बेच्न सफल भएको एप्पलले यस वर्ष केवल ३ करोड ३८ लाखवटा आईफोनहरू बेच्न सफल भएको छ ।

अहिलेको अवस्थामा सामसँग अझै पनि नम्बर वानमा रहेको छ भने हुवावे दोस्रो स्थानमा रहन सफल भएको छ । दुवै कम्पनीले गत वर्षको तुलनामा भन्दा केही हदसम्म राम्रो व्यापार गर्न सफल भएका छन् । गत वर्ष दोस्रो स्थानमा रहेको एप्पल अहिले तेस्रो स्थानमा झरेको छ । चौंथो स्थानमा अहिले चाइनिज कम्पनी सायोमी रहेको छ जसले यो तीन महिनामा ३ करोड २३ लाखवटा स्मार्टफोनहरू बेच्न सफल भएको छ - जुन एप्पल आइफोनभन्दा १५ लाखले मात्र कम हो ।

आइफोन बिक्रीको घट्दो क्रमले गर्दा र सायोमीको बढ्दो बजार पकडले गर्दा सायोमीले पनि एप्पललाई स्मार्टफोन बिक्रीमा जित्न सक्ने सम्भावना देखिएको छ । सायोमीले यही वर्ष नै १० हजारवटा सायोमीका पसलहरू संचालनमा ल्याउने प्रतिवद्धता राखेको छ । यसले पनि सायोमीको स्मार्टफोन बिक्री बढाउन सहयोग गर्नेछ । नयाँ आइफोनहरूमा लन्चको समयमा आएको विभिन्न समस्याहरू र एप्पलले नयाँ आइफोनमा लगाएको चर्को मूल्य नै आइफोन बिक्री घट्नुको मुख्य कारण मान्न सकिन्छ ।

स्रोत: IDC

 

यसमा तपाईको मत