ग्याजेट विशेष

उपभोक्ता झुक्काउने व्यापार गरेको आरोपमा एप्पललाई ३ अर्ब जरिवाना !

  नागरिक   2020-02-08

प्रयोगकर्ताहरूको आइफोन अनुमति बिना नै स्लो बनाएर “उपभोक्ता झुक्काउने व्यापार गरेको” आरोपमा एप्पललाई भारी जरिवाना लगाइएको छ  ।

एप्पलले आफ्ना पुराना मोडलका आइफोनहरूलाई अपडेट मार्फत स्लो गर्दै आएको कुरा दुई वर्ष अगाडी नै पुष्टि भएको थियो । सन् २०१७ को अन्त्यमा पुराना आइफोनहरू अपडेटबाट स्लो गर्दै आएको कुरालाई स्वीकार गर्दै एप्पलले प्रेस विज्ञप्ति पनि प्रकाशन गरेको थियो । उक्त विज्ञप्तिमा एप्पलले आइफोनहरू स्लो गर्नुको पछाडी ब्याट्रीको कारण देखाएको थियो ।

सन् २०१८ मा भएको उक्त विषयलाई लिएर फ्रान्सको सरकारले एप्पललाई २ करोड ५० लाख युरो ( नेरु ३ अर्ब १२ करोड ) जरिवाना लगाएको छ । प्रयोगकर्ताहरूको आइफोन स्लो बनाइएको कुरा सार्वजनिक नगरिएको र उपभोक्ता झुक्काउने व्यापार (“misleading commercial practice by omission”) गरेको आरोपमा एप्पललाई जरिवाना लगाइएको हो ।  

पुरानो सफ्टवेयरको संस्करणमा डाउनग्रेड गर्न नमिल्ने भएकाले सफ्टवेयर अपडेट गरेका प्रयोगकर्ताहरूले
कि त स्लो आइफोन प्रयोग गर्नु पर्दथ्यो कि चाहिँ चर्को मूल्य तिरेर नयाँ आइफोन खरिद गर्नु पर्ने हुन्थ्यो । अर्को विकल्प स्वरूप प्रयोगकर्ताहरूले आफ्नो आइफोनको ब्याट्री पनि प्रयोग गर्न सम्भव थियो जसबाट पनि आइफोन खरिदको समयमा जस्तै फास्ट हुने थियो ।  


सन् २०१८ मा आइफोनहरु स्लो गरेको भन्दै लाखौं डलरको जरिवाना इटालीले एप्पललाई तिराएको थियो । नयाँ आइफोनको रिलिजसँगै पुरानो मोडलका आइफोनहरु आफै स्लो हुने कुरा आइफोन प्रयोगकर्ताले महसुस गर्दै आएका थिए । यस विषयमा भएको अनुसन्धानमा एप्पलले पुराना आइफोनहरु स्लो गरेको पाइएको थियो । एप्पलले उक्त स्लो बनाउने फिचर प्रयोगकर्तालाई नयाँ आइफोन किन्न बाध्य बनाउनको लागि नभई आइफोन कै प्रयोग आयु बढाउन र आफै बन्द हुन नदिनका लागि गरेको हो भनेर जानकारी दिएको थियो ।

अझै पनि एप्पलले आफ्ना नयाँ मोडलका आइफोनहरूलाई अपडेट मार्फत स्लो गर्दै आएको छ । हालै आएको iOS 13 को अपडेटबाट आइफोन टेन एक्स म्याक्स र टेन एसका मोडलहरू पनि स्लो हुन थालेको छ । प्रयोगकर्ताले अपडेट पछि ब्याट्री लाइफ र परफरमेन्सका बीचमा एउटालाई चयन गर्न सक्नेछन् । ब्याट्री लाइफ बढाउनका लागि विकल्प चयन गर्दा आइफोनको प्रोसेसरको स्पिड घट्छ जसले गर्दा आइफोन स्लो भएको महसुस हुन्छ । तर, परफरमेन्सको विकल्प चयन गर्दा प्रयोग गर्दा गर्दै आइफोनको ब्याट्री सकिएर आइफोन आफैं बन्द हुन सक्छ भन्ने तर्क एप्पलले दिएको छ ।

स्रोत : BBC

यसमा तपाईको मत