ग्याजेट विशेष

एप्पलले एप स्टोर माथि लगाएको अनुचित एकाधिकार प्रति विभिन्न कम्पनीहरूको चर्को आलोचना

  नागरिक   2020-06-19

एप्पलले यहि साता विभिन्न कम्पनीका साथै युरोपियन युनियनबाट आफ्नो एप स्टोरको नीति र एकाधिकार प्रति चर्को आलोचना सुन्नु परेको छ । एप्पलको आलोचना गर्ने कम्पनीहरूमा टिन्डर, फोर्टनाइट गेमका निर्माता एपिक गेम्स र माइक्रोसफ्ट रहेका छन् । यसभन्दा अगाडी बाट नै विभिन्न अन्य कम्पनीहरूले पनि एप्पलको एप स्टोरको अनुचित एकाधिकारको आलोचना गर्दै आएका छन् । जसमध्ये सबैभन्दा महत्वपूर्ण भने स्पटिफाई रहेको थियो ।

टिन्डर र एपिक गेम्सले एप्पलको पहिलेबाट चल्दै आएको एप स्टोरको एकाधिकारले गर्दा अन्य कम्पनीहरूले एप्पलसँग निष्पक्ष प्रतिस्पर्धा गर्न नपाएको र एप्पलले आफ्नो एप र सेवाहरूको मात्र फाइदा हेर्दै प्रतिस्पर्धीहरूको पनि फाइदा हडप्न खोजेको आरोप लगाएका छन् ।

एप्पलले एप स्टोर मार्फत खरिद गरिने हरेक गेम र एपको ३०% मूल्य आफ्नो लागि राख्छ । यसर्थ १० डलरमा बेच्न राखिएको एपबाट उक्त एप निर्माताले केवल ७ डलर मात्र पाउछ भने एप्पलले ३ डलर पाउछ । यति मात्र नभएर हरेक मासिक सदस्यताको मूल्यबाट पनि एप्पलले ३० प्रतिशत आफैले राख्छ । एप निर्माताहरूले आफ्नो एपमा एप स्टोरबाट मात्र मूल्य तिर्न सम्भव हुने बनाउनु पर्ने हुन्छ, अन्यथा उक्त एपलाई एप्पलले आफ्नो एप स्टोरमा राख्न दिदैन ।

स्पटिफाई एपलाई टक्कर दिनका लागि एप्पलले एप्पल म्युजिक लन्च गरेको थियो । एप्पल म्युजिक प्रयोगकर्ताहरूबाट एप्पलले पूरा पैसा लिन पाएको छ । तर एप्पलले नै स्पटिफाईको प्रयोगकर्ताहरूको सदस्यता दस्तुरबाट मासिक  १५ देखि ३० % शुल्क लिंदै आएको छ । यसले गर्दा स्पटिफाई जस्ता सेवा प्रदायकहरू एप्पलले दिएभन्दा राम्रो सेवा दिएर पनि एप्पल जतिकै पैसा कमाउन सकिरहेका छैनन् । यहि नै युरोपियन युनियनले गर्ने अनुसन्धानको मुख्य विषय हुने भएको छ ।

एप्पलले आफ्नो सेवासँग प्रतिस्पर्धा गर्ने कुनै पनि एपलाई एप स्टोरमा समावेश गर्न खोज्दैन । उदाहरणका लागि एप्पलले आफ्नो एप्पल आर्केडसँग प्रतिस्पर्धा नगरोस् भनेर माइक्रोसफ्टको एक्सक्लाउड गेमिंग सेवालाई एप स्टोरमा राख्न दिएन । यसै गरेर गुगलको स्टाडीयालाई पनि एप्पलले आफ्नो एप स्टोरमा समावेश गर्न दिएन । यहि विषयमा पनि माइक्रोसफ्टले पनि एप्पलको अनुचित एकाधिकारको चर्को आलोचना गरेको छ ।

विभिन्न साना कम्पनीहरूको विभिन्न प्रकारको एप र सेवाहरूलाई एप्पलले एप स्टोरबाट बहिष्कार गर्दै आएको छ । यसरी नै एप्पलले आफ्नो एप स्टोरमाथि निकै नै अनुचित एकाधिकार जमाउदै आएको छ ।

स्रोत: The Washington Post

 

यसमा तपाईको मत