ग्याजेट विशेष

एप्पललाई लाग्यो ५० अर्बभन्दा बढीको जरिवाना - कारण के ?

  नागरिक   2020-03-03

प्रयोगकर्ताको अनुमति बिना नै प्रयोगकर्ताहरूको पुरानो मोडलको आइफोनहरूलाई स्लो गरेको आरोपमा एप्पललाई फेरी अर्को चर्को जरिवाना परेको छ । यस पटक एप्पलले ५० करोड अमेरिकी डलर ( नेरु ५० अर्ब भन्दा बढी ) जरिवाना स्वरूप तिर्नु पर्ने भएको छ ।

सन् २०१६ मा आइफोन सिक्स एसका प्रयोगकर्ताहरूले आफ्नो नयाँ आइफोन प्रयोग गर्दा गर्दै बन्द हुने गरेको गुनासो गरेका थिए । यही गुनासोलाई नै मध्यनजर गर्दै एप्पलले नयाँ अपडेट निकालेको थियो जसले आइफोन सिक्स एस लगायतका अन्य मोडलहरूलाई आफैं बन्द हुनबाट रोक्यो ।

तर, उक्त अपडेटले उल्टै आइफोनहरूलाई प्रयोगकर्ताको अनुमति बिना नै स्लो गरेको भेटियो । सन् २०१७ को डिसेम्बरमा एप्पलले पुराना आइफोनहरूलाई स्लो गर्दै आएको कुरालाई स्वीकार गर्दै प्रेश विज्ञप्ति पनि प्रकाशन गरेको थियो ।

नयाँ आइफोन खरिद गर्नलाई प्रोत्साहन गर्नका लागि पुराना आइफोन स्लो गराएको आरोप लगाउँदै थुप्रै प्रयोगकर्ताहरूले एप्पल विरुद्ध उजुरी दायर गरेका थिए । सो उजुरीहरूको टुंगो लगाउँदै एप्पलले न्यूनतम ३१ करोड डलर र अधिकतममा ५० करोड अमेरिकी डलर तिर्नु पर्ने भएको छ ।

रिउटरसका अनुसार आइफोन सिक्स, सिक्स प्लस, सिक्स एस, सिक्स एस प्लस, सेभेन, सेभेन प्लस र एस इ का प्रयोगकर्ताहरूले एप्पलबाट २५ डलर बराबरको रकम फिर्ता पाउने भएका छन् । सो रकम कम वा बढी हुन सक्ने सम्भावना भने रहेको छ ।

यही विषयलाई लिएर नै केही साता अगाडी नै फ्रान्सको सरकारले एप्पललाई भारी जरिवाना लगाएको थियो । फ्रान्सको सरकारले एप्पललाई उपभोक्ता झुकाउने व्यापार गरेको आरोप लगाएको थियो । उक्त जरिवानाको रकम नेरु ३ अर्ब बराबरको रहेको थियो । गत वर्ष इटालीले पनि यही विषयमा एप्पललाई जरिवाना लगाएको थियो ।

हाल एप्पलसँग २ खर्ब अमेरिकी डलरभन्दा बढी नगद रहेको छ । यो जरिवाना एप्पलसँग भएको नगदको केवल ०.२४ प्रतिशत मात्र हो ।

अझै पनि एप्पलले आफ्ना नयाँ मोडलका आइफोनहरूलाई अपडेट मार्फत स्लो गर्दै आएको छ । हालै आएको iOS 13 को अपडेटबाट आइफोन टेन एक्स म्याक्स र टेन एसका मोडलहरू पनि स्लो हुन थालेको छ । प्रयोगकर्ताले अपडेट पछि ब्याट्री लाइफ र परफरमेन्सका बीचमा एउटालाई चयन गर्न सक्नेछन् । ब्याट्री लाइफ बढाउनका लागि विकल्प चयन गर्दा आइफोनको प्रोसेसरको स्पिड घट्छ जसले गर्दा आइफोन स्लो भएको महसुस हुन्छ । तर, परफरमेन्सको विकल्प चयन गर्दा प्रयोग गर्दा गर्दै आइफोनको ब्याट्री सकिएर आइफोन आफैं बन्द हुन सक्छ भन्ने तर्क एप्पलले दिएको छ ।

स्रोत : BBC

यसमा तपाईको मत