ग्याजेट विशेष

एन्ड्रोइडको नयाँ संस्करण – यस्ता छन् नयाँ फिचरहरु

  नागरिक   2019-03-24

गुगलले एन्ड्रोइडको दशौँ संस्करण अर्थात् एन्ड्रोइड क्यू को बारेमा केही जानकारीहरू उपलब्ध गराएको छ । एन्ड्रोइड क्यू कोडनेम भएको यस बेटा रिलिजबाट एन्ड्रोइडको १०.० संस्करणमा के कस्ता नयाँ विशेषता छन् भन्ने कुराको प्रारम्भिक झलक देख्न सकिन्छ । हालै बेटा भर्सनमा र केही सीमित स्मार्टफोनहरूमा मात्र उपलब्ध भएको यस अपरेटिंग सिस्टमको रिलीज मिति भने हालै बताईएको छैन । 


के के छन् नयाँ फिचरहरु?

 

१.    प्राइभेसीका लागि नयाँ फिचरहरु 

एन्ड्रोइडको नयाँ संस्करणमा गुगलले व्यक्तिगत प्राइभेसीमा विशेष ध्यान दिएको छ । यस संस्करणदेखि प्रयोगकर्ताले आफ्नो गोपनीयता अर्थात् प्राइभेसी सम्बन्धी सेटिंगहरूलाई उन्नत रुपमा नियन्त्रण गर्न र निगरानी गर्न सक्नेछन् । प्रयोगकर्ताले आफ्नो स्थान सम्बन्धीको जानकारी एपहरुले कसरी प्रयोग गर्न पाउनेछन् भनेर आफैले नियन्त्रण गर्न सक्नेछन् । यस अन्तर्गत एपले प्रयोगको समयमा मात्र स्थान अर्थात् लोकेसनको जानकारी प्रयोगकर्ताबाट उठाउन सक्छ र यहीका लागि भनेर “Allow only while the app is in use.” नामक विकल्प गुगलले उपलब्ध गराउनेछ ।
प्राइभेसीको फिचरहरु लोकेसन अर्थात् स्थानमा मात्र सीमित छैनन् – अबबाट एपहरुले जथाभावी तरिकाले प्रयोगकर्ताको फोटोहरू, सम्पर्क ठेगानाहरू र अन्य डेटाहरूलाई अनुमति बिना प्रयोग गर्न वा हेर्न पाउने छैनन् । यस सुविधाले एन्ड्रोइडमा आजसम्म पनि प्रशस्त उपलब्ध भएका मालवेयर र भाइरसहरू अप्रचलित हुनेछन्  ।


२.    फोल्ड गर्न मिल्ने स्मार्टफोनका लागि बनेको 

मसंग, हुवावे र सायोमीले बजारमा फोल्ड गर्न मिल्ने र दुईवटा डिस्प्ले भएको स्मार्टफोनहरू उपलब्ध गराउन लागेकै बेलामा गुगलले त्यसता फोल्ड गर्न मिल्ने स्मार्टफोनलाई सपोर्ट गर्ने किसिमको अपरेटिंग सिस्टम बनाएको छ ।  दुईवटा डिस्प्लेमा छुट्टाछुट्टै एप चलाउन मिल्ने र उक्त एपहरूलाई ठूला र साना बनाउन मिल्ने सुविधा एन्ड्रोइड क्यूले सहज रूपमा उपलब्ध गराउने भएको छ ।


३.    शेयर गर्ने सर्टकर्टमा सुधार 


एन्ड्रोइड ९ अर्थात् पाईमा शेयर गर्ने सर्टकर्ट निकै स्लो र फिचर विपन्न थियो । र, यो समस्याको समाधान भने नयाँ संस्करणमा आएको छ । नयाँ संस्करणमा उपलब्ध हुने शेयर सर्टकर्ट फिचरपूर्ण हुनुका साथै निकै द्रुत र फास्ट पनि हुनेछ । नयाँ शेयर सर्टकर्टबाट एक एपदेखि अर्को एपमा सजिलै जानकारी शेयर गर्न सकिनेछ । 


४.    नयाँ सेटिंग प्यानल 

एन्ड्रोइड ९ पाईमा रिलिज भएको स्लाईसेस फिचरलाई प्रयोग गर्दै गुगलले सेटिंग एप भित्रका विविध भागहरूका लागि नयाँ सेटिंग प्यानलको रिलिज गरेको छ । यो सेटिंग प्यानल हालै प्रयोगमा भइरहेको एपमा सिधैँ देखाउनेछ – सेटिंग एप खोलिरहनु पर्दैन ।  


५.    अन्य साना फिचरहरु  

क.    ब्लुतुथ, वाईफाई र डेटाको स्थानीय सुरक्षामा गुगलले सुधार ल्याउने भएको छ । यस लगायत वाईफाईको नयाँ स्तरको लागि पनि सपोर्ट आउने भएको छ । 
ख.    उच्च ग्राफिक गेमहरु निर्माण गर्नका लागि गेम डेभलोपरले एन्गलको प्रयोग गर्न सक्नेछन् । 
ग.    एपहरु २० प्रतिशतसम्म चाडै खुल्नेछन् र र्याम पनि पहिलेको तुलनामा कम प्रयोग गर्नेछन् 

 

मिठाई र गुलियो खानेकुराको आधारमा अंग्रेजी वर्णमाला अनुसार एन्ड्रोइड संस्करण नामकरण गर्द आएको गूगलले "क्यू" बाट कुन चाहिँ मिठाईको नाम चयन गर्छ भन्ने कुरा निश्चित छैन । तपाईको बिचारमा एन्ड्रोइड क्यू (Android Q ) मा Q को अर्थ के हुन जान्छ होला?

यसमा तपाईको मत