ग्याजेट विशेष

“सुरक्षित छ फाइभ जी”

  नागरिक   2019-08-11

अमेरिकी संघीय संचार आयोगले ( एफसीसी  ) फाइभ जी सुरक्षित भएको कुराको जानकारी प्रदान गरेको छ । संघीय संचार आयोगका अनुसार हालै तोकिएको फाइभ जीको स्ट्यान्डर्डहरू सुरक्षित भएको र सो स्ट्यान्डर्डमा कुनै पनि परिवर्तन गर्नु नपर्ने भएको छ ।

एफसीसीका अनुसार नयाँ सुपर फास्ट फाइभ जी र पुरानो थ्री जी र फोर जी प्रविधिमा खासै केही फरक छैन । फाइभ जी संचालन हुने रेडियो वेभहरू फोर जी को तुलनामा धेरै भए पनि उक्त रेडियो वेभहरूले मानिसहरूलाई कुनै पनि असर गर्ने छैन । त्यस्ता रेडियो वेभहरूले मानवको डीएनएमा कुनै पनि प्रकारको असर गर्ने छैन - जसलाई नन् - आयोनाइजिंग रेडियसन पनि भनिन्छ । फाइभ जीको रेडियसन पनि नन् आयोनाइजिंग रेडियसनमा पर्छ जसले मानव शरीरलाई कुनै पनि प्रकारको गम्भीर असर गर्न सक्दैन । फाइभ जीमा प्रयोग हुने सिग्नलमा हामीले देख्ने प्रकाशभन्दा पनि कम उर्जा कैद हुन्छ ।

फाइभ जी सार्वजनिक भएसँगै धेरैले फाइभ जीलाई असुरक्षित भएको शंका गरेका छन् । तर फाइभ जी साचिकै असुरक्षित छ भन्ने कुराको ठोस प्रमाण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यही वर्षको जुलाईमा न्यू योर्क टाइम्समा प्रकाशित एक रिपोर्टमा फाइभ जी माथि उठाइएका शंकाहरू साँचो नभएको र यसले मानव शरीरमा कुनै पनि प्रकारको असर नगर्ने कुरा उल्लेख गरिएको छ । विभिन्न अनुसन्धानहरूले फाइभ जीले मानव शरीर र स्वास्थ्यलाई कुनै पनि प्रकारको असर नगर्ने भानिए पनि उक्त अनुसन्धानलाई नकार्दै फाइभ जीलाई खतरनाक मान्नेको संख्या पनि केही मात्रामा कायम नै रहेको छ । यही फाइभ जी र मानव स्वास्थ्य बीचको सम्बन्धको विषयमा साधारण प्रयोगकर्ता माझमा भ्रम फैलिएको कारणले गर्दा नै एफसीसीले यस्तो जानकारी प्रदान गरेको हो ।

के हो फाइभ जी ?

5G को अर्थ हो टेलिकम जगतको पाँचौं पिढी जसमा अघिल्लो संस्करण अर्थात् फोरजीको तुलनामा इन्टरनेट स्पिड र अन्य थुप्रै कुराहरुमा सुधार हुनेछ । फाइभ जीको फाइदाहरु यस्ता रहेका छन् :

क. उच्च इन्टरनेट स्पिड

फाइभजीले राम्रो नेटवर्क कभरेज भएको क्षेत्रमा १ जीबीपीएससम्मको इन्टरनेट स्पिड प्रदान गर्न सक्नेछ । तुलनाका लागि हालै नेपाल टेलिकमले प्रदान गर्ने फोरजीको स्पिड हो ३० एमबीपीएस  - फाइभजीभन्दा ३० गुणा कम ।

ख. कम लेटेंसी

सर्भर र प्रयोगकर्ता बीचको संचारमा हुने ढिलाईलाई लेटेंसी मार्फत मापन गरिन्छ । जति कम लेटेंसी - त्यति नै राम्रो नेटवर्क । फाइभजीको लेटेंसी १ मिलीसेकेन्डसम्म कम गर्न सकिने  विश्वास गरिएको छ । तुलनाका लागि फोरजीको लेटेंसी हो ५० मिलीसेकेन्डको - फाइभजीभन्दा ५० गुणा धेरै ।

ग. उच्च सिस्टम क्षमता

फाइभजीको सहयोगबाट टेलिकमले कुनै पनि क्षेत्रमा धेरै मात्रामा उपकरणहरुसँग संचार गर्न पाउने छ । एक किलोमिटर स्क्वायर क्षेत्रफलमा मात्रै पनि १० लाख वटा उपकरणहरु चल्न सक्नेछन् । यहि कारणले नै गर्दा फाइभजीले  इन्टरनेट वफ थिन्ग्स अर्थात् उपकरणहरुको इन्टरनेटमा विकास गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।

 

 

 

 

यसमा तपाईको मत